देशभर मनाइयो नेपाल संवत् ११३८

देशभर मनाइयो नेपाल संवत् ११३८


नयाँ वर्ष नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइएको छ । बाजागाजा र सांस्कृतिक झाँकीसहितको ‘न्हुँदया भिन्तुना’ पदयात्रा निकाली विशेष रुपमा नयाँ वर्ष मनाइएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८०२) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए ।

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा त्रिरत्न मानन्धरले जानकारी दिनुभएको राससले जनाएको छ । ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उहाँले भन्नुभयो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।

नेपाल संवत् प्रचलन सम्बन्धमा एउटा किंबदन्ती पनि प्रसिद्ध छ- भक्तपुरका राजालाई ज्योतिषीले काठमाडौँको लखुतीर्थ टेकुदोभानबाट साइत हेरेर बालुवा ल्याए सुन बन्छ भनी सुनाएपछि भक्तपुरका राजाले बालुवा लिन टेकुदोभानस्थित लखतीर्थमा कामदार पठाएका थिए । कामदारले बालुवा लैजान लागेको देखी साख्वाले बालुवाको दोब्बर पैसा दिन्छु, भक्तपुरकै खोलाको अर्को बालुवा राजाकहाँ लगिदेऊ भनेपछि बालुवा साख्वाकै घरमा छाडेर गए । बालुवा सबै सुन भएकाले सुन बेचेर गरीब जति सबैको ऋण तिरिदिई राजालाई अनुरोध गरेर नेपाल संवत सुरु गरे ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको मूल्याङ्कन गर्दै २०५६ साल मङ्सिर २ गते तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएकोे थियो ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको शुरुआत गर्ने परम्परासमेत राजधानीमा छ ।


तस्बिर : रासस