दुई कदम सँगै हिँडौँ, छुट्टिनु त छँदै छ…साथी !

दुई कदम सँगै हिँडौँ, छुट्टिनु त छँदै छ…साथी !


आखिर मृत्यु कसैलाई पनि छोड्दैन । चाहे त्यो धनी होस् या गरीब, माथिल्लो ओहदामा पुगेको व्यक्ति होस्, अभियन्ता होस्, नेता होस्, अपाङ्ग, रोगी र सीमान्तकृत वर्गको किसान होस्, जोसुकै किन नहोस् ? तर बाँचुन्ज्याल सबैसँग मिलिजुली गरेर भावना र वेदना समेत एकआपसमा बाँडेर बस्दा अवश्य आनन्द र सन्तोष मिल्दछ । स्वरसम्राट नारायण गोपालले गाएको गीतको मूल भावमा रहेर राखिएको शीर्षकबारे यो बाहेक अर्को अर्थ निकाल्न सकिँदैन ।

हामी अहिले मातृभूमिबाट दुर या परदेशमा बसेका छौँ । सकीनसकी हामीले आफूलाई यहाँको सामाजिक प्रवाहमा मौलिक संस्कृति, विचार र माटोप्रतिको कर्तव्यलाई बचाएर समाहित गराउँदै लगेका छौं । आन्तरिक रुपमा नेपाली समाजलाई संगठित गर्दै पनि लागेका छौं । अव्यस्थित नै भएपनि सामाजिक गतिविधिहरुलाई आफ्नो नेपाली मौलिकता दिने प्रयत्न समेत गरेका छौं ।

यहाँको दोश्रो तेश्रो पिँढीका सन्ततिहरुलाई ब्याक्तिगत रुपमा भएपनि नेपाली भाषा र संस्कृतिसंग परिचित गराउने जमर्को गरेका छौं । यो अत्यन्त प्रसंसनिय तर अनिवार्य कार्य हो । त्यसलाई अहिलेसम्म साझा संगठनको अवधारणासहित सन् २००३ बाट स्थापित एनआरएनएले कुन रुपमा सम्बोधन गर्नुपर्थ्यो र गरिरहेको छ त्यो छलफलको विषय बनाउनु जरुरी देखिन्छ ।

अर्कोतर्फ एनआरएनएले अहिलेसम्म आठौँ महाधिवेशन सम्पन्न गरिसकेको छ । यो अधिवेसनको बन्दसत्रभित्र नेपाली समाजको आन्तरिक र बाह्य सम्बन्ध तथा समाजभित्रका प्रमुख समानता र अन्तरविरोधहरूबारे समीक्षात्मक बहस केन्द्रित हुनु जरुरी थियो । गैरआवासीय नेपाली संघको आठौ महाधिवेशनको बन्दसत्रमा डायस्पोराको नेपाली समाजलाई ब्यबस्थित गर्नको लागि यी महत्वपुर्ण सवालबारे त्यति बहस नपुगेको गुनासाहरु सुन्नमा आएका छन् । तर त्यसलाई प्रत्यक देशका क्षेत्रीय र राष्ट्रिय परिषदहरुले क्रमशः सम्बोधन र हाल खोज्दै जान जरुरी छ ।

ति सबै समस्याहरु हाम्रो परिवारसंग र उनीहरुको सांस्कृतिक वृत्तिविकाससँग जोडिएर आउँछन् । त्यसैले अब सबै संगै हिँड्नुको विकल्प हामीसंग छैन । कुनैबेला संस्थालाई गालि पनि गर्छौं, चित्त पनि दुखाउछौँ, किनकि हामी कुनै न कुनै रुपमा त्योसँग जोडिएका छौँ । आशा गर्छौं र त यो गरेन, त्यो गरेन भनेर आरोप लगाउछौं । मान्छे आशा नगरिएको संस्था वा ब्याक्तिप्रति निरपेक्ष बस्दछ । त्यो संस्थाको लाभहानीले उसलाई डस्दैन भने त्यो संस्थाप्रतिको उसको प्रतिक्रिया पनि सुन्य हुन्छ ।

अर्को कुरा अहिले अधिवेशनले अन्तर्राष्ट्रिय समिति निर्वाचित गरिसकेको छ । मत परिणाम हेरेर क्रिया प्रतिक्रियाहरु सार्वजनिक संजाल र अन लाइनमा देख्न सकिन्छ । त्यो कुन हदसम्म स्वाभाविक हो वा हैन आफ्नो ठाउँमा होला । हार्नेले किन हारे जित्नेले कसरी जिते वा मतदाताको मनोविज्ञान कस्तो रह्यो ? सबै प्रतिक्रियाहरुको आफ्नो ठाउँमा महत्व पनि रहला । तर चुनाबको परिणामलाई हेरेर संगतको निर्धारण गर्ने, जित्नेले हार्नेको सवल पक्षलाई अभियानमा समाहित नगर्ने र हार्नेले असहयोगको मनोरोगलाई पालियो भने हामी कहिँ पनि पुग्न सक्ने छैनौं । आफ्ना हारहरुलाई प्रतिनिधिहरुको जिम्मा लगाइदिँदा आफ्ना सन्तप्त पीडा केहि क्षणका लागि धिमा होलान् तर त्यस खालको प्रवृत्तिले हाम्रो संस्थागत विकास र समाज विकासको चक्रिय सन्तुलनलाई अकल्पनीय क्षति पुर्याइरहेको हुन्छ । त्यसैले हामी त्यो हारजितको प्रतिसोधपूर्ण मनोदशाबाट उत्रनु श्रेयष्कर हुन्छ । विज्ञजनहरुले अक्सर भनेको सुनिन्छ, ‘आफ्ना गल्ती औंल्याइदिने ब्याक्ति र त्योअनुरुप सजाय दिने समाजलाई आफ्नो सहृदयी बनायौँ भने कुनै पनि पहाडको चुचुरोमा पुग्नलाई भाग्यले पनि रोक्न सक्दैन ।’

तर नेपाली डायस्पोरामा हामीहरुको सोच त्योभन्दा भिन्न छ । जसले आफ्नो जुनसुकै कार्यको अन्ध समर्थन गर्छ त्यसलाई नै आफ्नो हितैषी मानिन्छ । आफ्ना साना ठुला कमीकमजोरीहरुलाई प्रष्ट्याई दिने ब्याक्ति, समूह वा टिप्पणिकार सधैका लागि शत्रु मानिन्छ । त्यो गलत मनोविज्ञानलाई नचिरेसम्म हरेक सफलताहरु आफ्नो पक्षमा आउन असमर्थ हुन्छन ।

चुनावको वरपरका सबै दृश्यहरुको विश्लेषण गरियो र सबैतिरबाट धेरै कुराहरु आए । गैरआवासीय नेपाली संघको आठौ महाधिवेशनले गरेको चुनावसहित सबै चुनावहरु, नेतृत्व चयनका अन्य प्रक्रियाहरूमा चेतनशील मतदाताहरुले पहिल्यै एउटा दृष्टिकोण बनाइसकेका हुन्छन् । त्यसमा उमेद्वारको सर्वाङ्ग समीक्षा मात्र हैन,उसका पुराना सोच, कार्यशैली र विगतमा गरेका राम्रा नराम्रा कामहरुको समीक्षा पनि समेटिएको हुन्छ ।

परिणाम नचिताएको आयो भन्ने केहीलाई लागेको हुनसक्छ, त्यो खालको प्रतिक्रिया पनि सुनियो तर त्यो कदापि हैन । स्वाभाविक विकासक्रमको क्रमबद्धतालाई पछ्याएर जाँदा, पुरानो योग्यता र विरासतहरुलाई सम्मान गरेर जाँदा, समयको आवाजलाई बुझेर जाँदा र विषमताका साँघुरा दायरालाई नाघेर जाँदा प्राय परिणाम सकारात्मक उन्मुख हुन्छ । विशेष परिस्थितिमा गरिने क्रमभंग भनेका क्रमिक गतिको योगले गुणात्मक रुपमा परिवर्तन चाहेको बेला बाहेक अनुत्पादक हुन सक्छ । आखिरी गैरआवासीय नेपाली संघको आठौ महाधिवेशनमा क्रमभंगको प्रयासलाई मतदाताले साथ् दिएनन् । जसले निवर्तमान अध्यक्षको अतुलनीय समर्पणमा थोरै दाग लगाइदियो भने हार्नेको सम्भावित विजयको पर्खाइलाई वर्षौं पर धकेलिदियो । अब समय चक्रले अर्को कार्यकालको रुपलाई अनेत्रै मोडीदिन सक्छ । नेतृत्वको लागि अदम्य अभ्यास र क्षमतासहित नयाँ उम्मेदवार प्रवेश गर्ने द्वारलाई चाहेर पनि कसैले रोक्न सक्दैन ।

त्यसैले भनिन्छ, समय ब्याक्तिको चाहनाभन्दा बलवान हुन्छ । जसले समय र युगको आवाज सुन्न र बुझ्न सक्दछ त्यो योग्यतामा अब्बल र अभ्यस्त बन्दै जान्छ भने आवेग र मनोगत निर्देशनमा बिश्वास गर्नेको अनिष्ट प्रति सहानुभूति मात्र राख्न सकिन्छ ।

यी सबै प्रसङ्ग गैर आवासीय नेपाली संघको आठौ महाधिवेशनमा भए गरेका अनेकन प्रयाससंग जोड्न खोजिएको हो । त्यसले धेरैलाई अनुभूतिजन्य अनुभव र भविष्यको लागि शिक्षा दिएको छ । त्यस्ता धेरै तथा बहुआयामिक समीक्षाहरु छन् । खर्चिला अभ्यासको विरुद्ध त अब अभियान नै चलाउनु पर्ने जरुरी छ । आर्थिक क्षमता मात्रले अन्य क्षमतालाई अभियानमा मौन निषेध नै गरेको छ । त्यो सम्मेलनको किनबेच हुने संस्कार अदृश्य नियमको रुपमा विकसित हुने खतरा झन् जब्बर बन्ने लक्षण देखिएको छ ।

यो चुनावबाट धेरै सिक्नुपर्ने आगामी गृहकार्य युरोपका अभियन्ताहरुले दिए । यहाँ पनि मनोगत आवेगमा चल्ने अती महत्वाकांक्षी उमेद्वारहरुको अवस्था उदेकपूर्ण रह्यो । समयको गती र मतदाताहरुको ढुकढुकीलाई स्पर्स गरेर खेलीएका कुटनैतिक दाउपेच मात्र सफल हुन्छन दुनियामा । नत्र कामना नगरिएको परिणाम मात्र हात लाग्छ । त्यहि कारण जन सम्पर्क समिती सम्बद्ध युरोपका उमेद्वारहरु अहिले सडकमा डाँको छोडेर रुने अवस्था आएको छ । त्यो अवस्था आउनुको मुख्य कारण आपसी तालमेल र सहयोजनाको अभावको साथै आफ्नै साथीहरु बिचको अविस्वासपूर्ण वातावरण हो भनिन्छ ।

केहि समय अघिको कुरा हो , कान्तिपुर टेलिभिजनका पत्रकार दिलभुषणले गैआवासीय नेपाली संघको आठौ महाधिबेशनबाट नवनिर्वाचित अध्यक्ष भवन भट्टलाई अन्तर्वार्ताको क्रममा एनआरएनको नेपालमा लगानीबारे एउटा प्रश्न सोधेका थिए । उत्तर दिने क्रममा अध्यक्षलाई अलिक बढी बल गर्नु पर्यो । उनले केही डायस्पोराका ब्याबशायीहरुले गरेका ब्याक्तिगत लगानी बाहेक उल्यख्य उदाहरण दिन सकेनन् । अवस्था उनले बताए जस्तै हो । लगानी नभएको हैन भएको छ तर सामुहिक रुपमा डायस्पोराका साना ठुला सबै समेट्ने गरि लगानी गर्ने प्रयास गरिएको छैन । पन्ध्र बर्षे संस्थाको उमेरमा लगानीको क्षेत्रमा त्यो न्युन नै हो ।

एनसीसीहरुले पनि डायस्पोराको नेपाली समाजलाई दिएको योगदानमा समाजको आन्तरिक ब्यबस्थापन, राहतको लागि गरिएका आन्तरिक तथा बाह्य संस्कारगत र परोपकारी अल्पकालिक उद्दार बाहेक उल्यख्य योजना देखिएनन् ।

अब सबै एनआरएनहरुका हातहरु एउटै हात माथि राखेर आन्तरिक समाजको उन्नत ब्यबस्थापनमा सहयोग पुर्याउने, समाजभित्रका अबयबहरुबीच सन्तुलन कायम राख्दै आन्तरिक एकता मजबुद बनाउने, दोश्रो वा तेश्रो पिंढी सम्मिलित सामुहिक सांस्कृतिक पाठशालाको बिकास, सामुहिक टेक्नोलोजी पैठारी, सामुहिक प्रयटन प्रबर्धनको लागि अनुभव आदानप्रदान गर्ने बेला आइसकेको छ ।

अन्त्यमा पवित्र राष्ट्रप्रेमी मनोविज्ञान निर्माणको साथै आपसी मैत्रीपुर्ण एकतासहित मुर्त योजनाहरु कार्यान्वयन गर्दै सामुहिक लगानीको वातावरणको लागि सबै लाग्नु आवश्यक छ । सबै एनआरएनहरुले एक संकल्पसहित आफ्ना सन्तति र आफ्नो भविष्यको लागि अब नयाँ शिराबाटु नयाँ अभ्यास शुरु गरौँ । स्वर सम्राटले भनेझै ‘रात त्यसै ढल्कँदै छ, एनआरएनको कुरा गर, योजनाको कुरा गर ।’