उदीतकै पथमा आदित्य

उदीतकै पथमा आदित्य


नेपाली र भारतीय गीत–सङ्गीतको क्षेत्रमा उत्कृष्ट ठहरिएका गायक उदीतनारयण झाका छोरा आदित्यनारायण झाको पहिलो नेपाली आधुनिक गीत ‘फूलजस्तै’ सार्वजनिक भएको छ । यसअघि थुप्रै चलचित्रका गीत गाइसकेका आदित्यको यही पहिलो आधुनिक गीत रहेको गीतकार एवम् निर्देशक सञ्जय बरालले जानकारी दिए । यतिबेलाका चर्चित अनि व्यस्त संगीतकार शिखर सन्तोषको सङ्गीत रहेको उक्त गीत ‘फूलजस्तै’ मणि शर्मा रिजालले लेखेका हुन् । रिजालले पछिल्लो समयमा निकै राम्रा सिर्जना पस्किन थालेपछिको यो अर्को उत्कृष्ट गीत बनेको सङ्गीतकार सन्तोषको दाबी छ ।

फूलको जस्तो बास्ना लिएर प्रेमिका एक प्रेमीलाई भेट्न आउँदा कस्तो हुन्छ होला भन्ने भाव मिसिएको उक्त गीतमा बुद्ध थापाको टिमले क्यामेरामा काम गरेको छ भने राजीव समरले कोरियोग्राफी गरेका छन् । म्युजिक भिडियो निर्देशनमा निकै व्यस्त रहेका गीतकार एवम् निर्देशक बरालले गीतलाई सुन्दर ढङ्गले भिडियो निर्देशन गरेका छन् । त्यस्तै, गीतको म्युजिक भिडियोमा सुन्दर नायिका एवम् मोडल केकी अधिकारी र उम्दा मोडल पुष्पल खड्काको सशक्त अभिनय रहेको छ । जेन मिडियाले सार्वजनिक गरेको उक्त गीत दर्शक–स्रोताको रोजाइमा पर्ने र रुचाइने सिङ्गो युनिटको विश्वास रहेको छ ।