अब के गर्ने ?

अब के गर्ने ?


– बबिता बस्नेत

संसद्को अन्त्य भएपछि गत आइतबार एक पूर्वसांसदले फोनमा भनिन्, ‘बहिनी, अब म के गर्ने ?’ झट्ट केही भन्न सक्ने अवस्था थिएन, भनेँ, ‘पख्नुस् न दिदी, भर्खरै त छ, प्लान गरुँला नि ।’ प्रतिक्रियामा भनिन्, ‘होइन, पार्टीले टिकट दिए त म चुनाव लड्थेँ । मेरोबारेमा बोलिदिने को छ र ? तपाईंहरू नै त हो ।’ धेरै वर्षअघिदेखि परिचित उनी जिल्लामा कपडा सिलाउने व्यवसाय गर्थिन् । आफ्नै टेलर्स थियो, दुःखसुख जीवन धानिरहेकी थिइन् । पार्टीले समानुपातिकमा सांसद बनाइदियो । सुरुमा के हो के हो जस्तो लागे पनि समयक्रममा धेरै कुरा सिक्दै गइन् । संविधान निर्माणको क्रममा धेरैले कार्यक्रमहरूमा बोलाए, मुलुकका बारेमा, नीति–कानुनका बारेमा धेरै कुरा थाहा भयो । संसद् सकियो, एकैपल्ट आपत्झैँ आइलाग्यो, अब के गर्ने ? उनलाई जस्तै आपत् आइलाग्नेको सङ्ख्या ठूलो छ । जो विगतमा सांसद भए अब के गर्ने कुनै टुङ्गो छैन । जिन्दगी धान्नुपर्ने समस्या एकातिर छ, इज्जत धान्नुपर्ने अर्कोतिर छ । त्यही पेसामा फर्कियौँ माननीय भइसकियो मानिसले के भन्लान् भन्ने छ, नफर्कियौँ गुजाराको अर्को उपाय छैन । पार्टीले फेरि सांसद बनाउने सम्भावना पनि कम छ ।

कामप्रतिको हाम्रो मूल्य, मान्यता र जनप्रतिनिधि हुनुको अर्थ दुवैप्रतिको बुझाइ यो परिस्थितिका कारक हुन् । ठूलो मान्छे भइसकेँ, अब कहाँ सानो काम गर्नु ? या राजनीतिमा आइसकेँ अब कहाँ अरू पेसा व्यवसायमा जानु ? भन्ने सोच एकातिर छ भने के–कस्तो ‘भिजन’ भएका मानिस त्यो स्थानमा पुग्नुपथ्र्यो या राजनीति किन गर्ने ? सांसद किन बन्ने ? भन्ने कुराको स्पष्टता कति जरुरी थियो भन्ने विषय अर्कोतिर । राजनीति पेसा या व्यवसाय होइन भन्ने कुराको सन्देश नै हामीकहाँ जान सकेको छैन । ती दिदीले जिल्ला फर्किएर आफ्नो व्यवसाय पुनः सुरु गरिन् भने नराम्रो कसैले गर्दैन, राम्रै सन्देश जाला, तर समानुपातिकमा नपरेपछि अब उनलाई लागेको छ, बरु म चुनाव नै लड्छु, तर राजनीति नै गर्ने हो । यद्यपि उनले सम्बन्धित जिल्लाबाट टिकट पाउने सम्भावना नै कम छ, पाए पनि जित्ने त झनै न्यून । उनको क्षेत्रमा उनीसम्बद्ध भन्दा अरू नै दलको ठूलो प्रतिस्पर्धा हुने अवस्था छ ।

विकसित मुलुकका लागि राजनीति ‘फुलटाइम जब’ होइन, हुनै सक्दैन । आफू कुनै न कुनै काम गर्दै या गरेर राजनीतिमा आउने र आफ्नो दायित्व सकिएपछि पुनः व्यवसायमा फर्कने प्रचलनले राजनीतिलाई सङ्लो बनाएको छ । त्यसो त, त्यस्ता मुलुकमा विभिन्न पेसा–व्यवसायमा सफल मानिस नै राजनीतिमा आउने गर्छन् । म यो पेसा या व्यवसायमा सफल छु, त्यसैले मुलुकको सवालमा पनि मैले सही काम गर्न सक्छु भन्ने सोच राखेर राजनीतिमा जाने हुनाले हामीकहाँजस्तो ‘त्यसपछि के गर्ने ?’ भन्ने हुँदैन । कुनै पद लिँदा म केका लागि त्यहाँ जाँदै छु ? जनताले मेरो नाममा किन ट्याक्स तिर्ने ? भनेर एक–दुईपल्ट आफूले आफैँलाई प्रश्न गरेर आफैँलाई उत्तर दिन सक्नेहरू ओहोदामा जाने हुँदा धेरै समस्या नै आउँदैन । तर, हामीकहाँ पदमा जानेहरूले आफ्नो नाममा जनताले ट्याक्स तिर्नुको अर्थ खोज्ने गरेका छैनन् । ओहोदामा हुँदा जीवनभर सोही स्थानमा रहनका लागि गएकोझैँ गरी व्यवहार गर्नेहरूको सङ्ख्या ठूलो छ ।

समाबेसी अवधारणा कार्यान्वयन गर्नका लागि समानुपातिक निर्वाचन प्रणाली राम्रो कुरा हो । तर, हाम्रोजस्तो मुलुकमा यसले मानिसका सपनालाई आकाशमा पु¥याएर भुइँमा पछार्ने काममा मात्रै सफल हुने हो कि जस्तो देखिएको छ । समानुपातिकले राजनीतिमा पद लिने सपना मात्रै देखाएन त्यसलाई एक हदसम्म पूरा पनि ग¥यो, गर्नेछ । कतिपय नेताका श्रीमतीहरूको जीवनमा कहिल्यै नदेखेको सपना पूरा भयो । राजेन्द्र महतोलगायत केही नेताले राजनीतिमा कहिल्यै पाइला नटेकेका गृह व्यवस्थापक महिलालाई समानुपातिकमा सांसद बनाए । वर्षौंदेखि राजनीतिमा रहेका महिला नेपालको राजनीति यस्तै हो भनेर चुपचाप बस्न बाध्य भए । अहिले पनि समानुपातिक प्रणालीका कारण महिला संसद्मा पुग्ने निश्चित छ । अबको संसद्मा ३३ प्रतिशत महिलाको सहभागिता हुनेछ । तर, समानुपातिकमा दलहरूले बुझाएको सूची हेर्दा राजनीति बुझेका या राजनीतिमा सङ्घर्ष गरेका वा कुनै पेसा व्यवसायमा सफलता हासिल गरेका महिलाभन्दा पैसावाला व्यवयासीका पत्नीहरूको सङ्ख्या धेरै हुनेजस्तो देखिएको छ । विशेषगरी तराई–मधेसकेन्द्रित पार्टीहरूमा यस्तो हुने सम्भावना देखिन्छ । यही कुरा पुरुषहरूमा पनि लागू हुन्छ, पैसावाला पुरुषहरूको सहभागिता समानुपातिकमा हुनेछ । राम्रै हो धनीहरू संसद्मा पुग्नेछन्, तर तिनको ‘इन्ट्रेस्ट’को मूल्य राज्यले नचुकाओस् भन्ने चाहना हो । जे गरेर भए पनि सम्पत्ति आर्जन गरेका होइन, असल नियतले राष्ट्र बनाउन चाहने प्रतिनिधि मुलुक र जनतालाई चाहिएको छ । दलका नेताहरूमा पैसा कमाउने चाहनाका कारण समानुपातिकले प्रतिनिधि होइन जो पायो त्यही संसद्मा पुऱ्याइरहेको छ ।

समानुपातिक प्रणालीले राजनीतिकर्मीलाई प्रतिस्पर्धाबाट भाग्ने बनाइदियो । विगतमा प्रतिस्पर्धा गरिरहेकाहरू सकेसम्म समानुपातिकमै बस्न चाहेको देखिन्छ । महिला, दलित, जनजाति, मधेसी या पछाडि पारिएका समुदाय या क्षेत्र जे नाममा भए पनि असल नियतले गरिएको यो प्रावधानको फाइदा लिन चाहनेहरूले भरपूर लिनेछन् । विगतमा भन्दा यसपटक पदका लागि मोलमोलाई हुने सम्भावना बढी देखिन्छ । टेलर्सवाली दिदीले झैँ समानुपातिकको मर्मअनुरूप अरूले अवसर पाउने सम्भावना कम हुँदै गएको छ । राजनीतिलाई नै व्यवसाय ठान्ने प्रवृत्तिले यसलाई झन्झन् अस्तव्यस्त बनाउँदै लगेको छ । विकसित मुलुकमा राजनीतिक पदबाट बाहिरिएपछि मानिसलाई अब के गर्ने ? भन्ने चिन्ता हुँदैन । कारण, उनीहरू कुनै न कुनै व्यवसायबाट आएका हुन्छन् र सोही व्यवसायमा फर्कन अप्ठ्यारो मान्दैनन् । प्राध्यापन गर्दै गरेकी कन्डोलिजा राइस अमेरिकाको विदेशमन्त्री थिइन् । आफ्नो कार्यकाल सकियो, फेरि कलेज फर्किएर पढाउन थालिन् । बाराक ओबामा पनि अहिले काम गरिरहेका छन् । हाम्रो पनि राष्ट्रपतिको कार्यकाल सकिएपछि रामवरण यादवले चिकित्सा अभ्यासमा परामर्शकै भए पनि भूमिका निर्वाह गर्नुभएको भए उदाहरणीय हुने थियो जस्तो लाग्छ । टेलर्सवाली दिदीको मात्र कुरा होइन, अन्य धेरै पूर्वसांसदहरू ‘अब के गर्ने ?’ भन्ने अवस्थामा पुग्नुभएको छ । पहिला आफूहरू जे काममा हुनुहुन्थ्यो त्यही फर्किंदा कसैले किन फर्कियौ ? भन्दैन, उदाहरणीय नै मान्नेछ । त्यसैले आफ्नो काम, पेसा र व्यवसायको सम्मान गर्दै जे गर्न सकिन्छ, त्यही गरौँ ।