हिरोइन चाहियो रे एनआरएनएलाई !

हिरोइन चाहियो रे एनआरएनएलाई !


– राजन घिमिरे

हेलो… राजनजी नमस्कार !

नमस्कार… भन्नुस न !

सुन्नुस न ! एनआरएनएको अक्टुबर १४ देखि १७ तारिखसम्म काठमाडौँमा वृहत कार्यक्रम हुँदैछ । त्यो कार्यक्रममा केही हिरोइनहरुलाई बोलाउनु पर्यो ।

उताबाट यस्तो आग्रह आएपछि यताबाट मैले भनेँ, हिरोइनहरुलाई अतिथि बनाउने हो ? जवाफमा उताबाट आयो, ‘यसो कार्यक्रमको आकर्षणको लागि मात्र हो । कार्यक्रममा धेरै भाषण हुने भएकाले विदेशबाट आएका नेपालीले राम्रो अनुहार देख्दा उनीहरुको पनि मूड फ्रेस हुन्छ कि भनेर… ।’

उताबाट यस्तो जवाफ आएपछि मैले थपेँ– ‘ए… नेपाली सिनेमाका हिरोइनहरुको उपस्थिति तपाईहरुलाई मूड फ्रेस गर्न र आकर्षणको लागि मात्र ? तपाईहरुको एनआरएनएले नेपाली कलाकार र नेपाली चलचित्र विधालाई अहिलेसम्म के गर्यो र हिरोइनहरु तपाईंको कार्यक्रममा शोभा बढाउन उभिनु पर्ने ? तपाईहरु करोडौँ, अर्बौंको कुरा गर्नुहुन्छ तर नेपाली चलचित्र विधालाई कति लगानी गर्यो तपाईको एनआरएनएले ? मेरो यो प्रश्नले ती महानुभाव जवाफविहीन हुन् पुगे । र, अन्त्यमा यसो भन्दै पन्छिए– ‘भेटेर कुरा गरौँला नि ।‘

अहिले काठमाडौँ एनआरएनएमय भएको छ । हरेक २ वर्षमा नयाँ नेतृत्व छान्ने भेलाअन्तर्गत काठमाडौँमा अक्टुबर १४ देखि १७ सम्म आयोजना भइरहेको कार्यक्रममा सहभागी हुन विदेशमा रहेका नेपालीहरुको ठुलै जमघट छ काठमाडौँमा । सडक बढार्नेदेखि सगरमाथाको फोहोर उठाउने कार्यसम्ममा एनआरएनएले आफ्नो सहभागिता जनाउँदै आएको छ । तर, नेपाली चलचित्र र कलाकारिताको पक्ष वा हितमा यो सँस्थाले अहिलेसम्म एउटा सिन्को पनि भाँचेको रेकर्ड कतै छैन ।

आफ्नो मुलुकप्रति माया गर्ने भनेर चिनिनुहुन्छ उहाँहरु । तर, चलचित्र क्षेत्रमा एनआरएनए सँस्थाको उपस्थिति प्रायः शुन्य छ । बरु विदेशमा दुःख गरेर कमाएको रकम एनआरएन अर्थात् गैरआवासीय नेपालीहरुले व्यक्तिगत रुपमै लगानी गर्नुभएको छ । तर, संघ आफै भने यो मामिला पछाडि छ । खेलकुद वा स्वास्थ्य क्षेत्रमा संघले आफ्नो उपस्थिति जनाउने गरेको छ । तर, चलचित्र क्षेत्रलाई संघले बिर्सेर पनि हेरेको छैन । अनि उहाँहरुको कार्यक्रममा भने आकर्षणको लागी सिनेमाकै हिरोइनहरु चाहिने रहेछ ।

उहाँहरुले लगानी गरेको अन्य क्षेत्रका महानुभावहरुलाई निमत्रणा गरे हुन्न ? किन हिरोइन नै चाहियो ? चलचित्र क्षेत्र चाँडै प्रभावपार्ने क्षेत्र भएको कुरा यो संघलाई थाहा नभएको पनि होइन । तर, यो क्षेत्रलाई माया गरेर वा आफ्नो क्षेत्र ठानेर चलचित्र विधालाई केही गर्ने सोच भएको भए आज चलचित्र विधाले पनि एनआरएनएसँग अंकमाल गर्दै सहकार्य गर्दै हिँड्थ्यो होला । आज अमेरिकालाई हलिउड र भारतलाई बलिउडको नामले विश्वभर चिनिन्छ । तर, एनआरएनए विश्वको ७८ ओटा देशमा छरिएर बसेको छ भन्ने डाटा मात्र लिएर के गर्ने ? यो संघले वर्षका उत्कृष्ट केही नेपाली चलचित्रहरुलाई अनिवार्य आफ्नो संघ मार्फत विश्वभरि पुर्याउन सक्दथ्यो, तर यस्तो सोच भएको कोही पनि व्यक्ति संघ भित्र देखिएन ।

जब उहाँहरुको कार्यक्रम हुन्छ तब मात्र आकर्षण र तस्विर खिचाउनको लागि नेपाली कलाकारहरुको याद आउँछ संघलाई । आफु फैलिएका मुलुकहरुमा नेपाली सिनेमा पुर्याउन सकेको भए संघ मार्फत नै विश्वभर नेपाली सिनेमाको व्यापार बढ्ने थियो । यसतर्फ पनि संघले सोचेको भए कति उत्तम हुन्थ्यो होला ? बस्ति, बिल्डिङ, सडक, पुल र होटलहरुमा लगानी गरेर व्यापारिक सोचलाई अगाडी बढाए जस्तै विश्व माँझ नेपाली सिनेमाको पहुँच पुर्याउन अबको नयाँ नेतृत्वको सोच जानु आजको आवश्यकता हो ।

जति बेला चाह्यो वा आकर्षणको लागि मात्र लुरुक्क परेर आउने स्तर नेपाली कलाकारको रहेन अब। त्यसैले एनआरएन महानुभावहरु, उनिहरुको सम्मान, प्रतिष्ठा र स्तरको पनि ख्याल राख्ने गरौँ ।