विकट ‘नारफू’को विकास गरी स्थानीयको आर्थिक हैसियत उकास्ने छु

विकट ‘नारफू’को विकास गरी स्थानीयको आर्थिक हैसियत उकास्ने छु


हिमालपारीको जिल्ला मनाङको विकट गाउँपालिका नारफू-१ मा २०२९ साल जेठ ३ गते जन्मिएका मिङमा छिरिङ लामा गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा निर्विरोध घोषित भएका हुन् । ८ वर्षको उमेरदेखि फू गाउँमा रहेको टासी लाकाङ गुम्बाबाट लामा शिक्षा लिएका उनी १४ वर्षको उमेरसम्म त्यही गुम्वाका शिष्य भएर शिक्षा आर्जन गरेर थप ४ वर्ष सेछेन बौद्ध गुम्बामा सेवा गर्दै आफ्नो किशोर अवस्थाबाट युवा अवस्थामा जोडिन पुगे । लामा शिक्षा अध्ययन गर्ने क्रममा भुटानको एक महिना अवधिको वैदेशिक भ्रमण गर्ने अवसर पाएका लामाले दुई वर्ष ताइवानमा वैदेशिक रोजगार गर्न समेत सफल रहे । ताईवानमा श्रम गरेर नेपाल फर्किएका उनले कुनै शहरी सुगम जीवनशैलीलाई नअपनाई आफ्नै विकट नार गाउँमा गएर पशुपालन, खेतीपाती तथा व्यापार व्यवसाय गर्दै गाउँको उदाहरणीय काम गर्न लागि परे । एक्याप अन्तर्गतको अन्नपूर्ण संरक्षणमा नारका सिएएमसीको एकवर्ष सचिवको जिम्मेवारी सम्हालेपछि लगातार ६ वर्ष अध्यक्ष रहेर सामाजिक काम गरेका अध्यक्ष लामाले गाउँमा स्थानीय निर्वाचन हुन नसकेर जनप्रतिनिधिको सेवा नपाएका गाउँका बासिन्दाहरुको काममा टेवा पुर्याउन पनि बाँकी राखेनन् । गाउँमै महिला स्वयंसेविकाको रुपमा काम गर्दै घर व्यवहार धानेकी आफ्नी श्रीमतीले समेत सामाजिक गतिविधिहरु सहयोग पुऱ्याएकै कारण गाउँमा सफल समाजेसवीको भूमिका निभाउन अग्रसर उनलाई दुई दशकको अन्तरमा सम्पन्न नेपालको स्थानीय तहको निर्वाचनमा नारफू गाउँपालिकाको निर्विरोध अध्यक्षता लिने सौभाग्य प्राप्त भएको हो ।

गाउँमा व्यावसायिक पशुपालन, खेतीपाती र पर्यटन व्यवसाय समेत सञ्चालन गर्दै आएका लामाको नारमा नोर्लिङ गेष्ट हाउस एण्ड रेष्टुरेन्ट नामक पर्यटक स्तरको होटल सञ्चालनरत रहेको छ । प्रस्तुत छ, नारफू गाउँपालिकाका अध्यक्ष मिङमा छिरिङ लामासँग गरिएको संक्षिप्त कुराकानी :

हिमाली जिल्लाको पनि विकट गाउँपालिकाको अध्यक्षता गर्ने अवसर पाउनुभएको छ, यो अवसरलाई कसरी लिनु भएको छ ?

– गाउँमा जनप्रतिनिधिमूलक कुनै पनि निकाय नभएको अवस्थामा पनि हामीले सामजिक सेवा संस्थाहरुको माध्यमबाट जनताको समस्यालाई बुझेर सम्बोधन गर्ने प्रयास गर्दै आएका थियौं । लामो अन्तरालपछि देशमा स्थानीय तहको निर्वाचन आयो, त्यसमा नेपाली कांग्रेसको तर्फबाट मैले गाउँपालिकाको प्रमूख पदका लागि उमेदवारी दिने अवसर पाएँ । त्यसमा मतदान गर्न नपर्ने गरी उक्त पद हाँसिल गर्न पाउँदा मैले आफूलाई एउटा भाग्यमानी जनप्रतिनिधि ठानेको छु । म पनि हिमाली जिल्लाको विकटको बासिन्दा हुँ । मैले त्यहाँ याक, चौंरी, गाई, घोडा, भेडा, बाख्रा जस्ता पशु व्यावसायिक रुपमा नै पालन गर्दै आयआर्जन गर्ने काम गर्दै आएको छु । त्यहाँका बासिन्दाहरुको जस्तै जीवनशैली मेरो पनि छ । अरुलाई जस्तो जीवन भोगीरहेका छन् मैले पनि त्यहि जीवन भोगेको छु । त्यहाँका बासिन्दाहरुको दुःख पीडामा म सहभागि हुँदै आएको छु, मलाई पर्दा पनि त्यहाँका बासिन्दाहरुले आफ्नै परिवारको दुःख सुखमा साथै दिदै आएका छन् । यो सबै कुराहरुलाई हेरेर मैले नारफू गाउँपालिका प्रमूखको भूमिका निर्वाह गर्नेछु । त्यहाँको विकास निर्माण र जनचेतनाको स्तरमा सुधार गर्दै नमूना ठाउँ बनाउने मेरो अभियान नै रहेको छ ।

हालै मात्रै संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले स्थानीयको निर्वाचन सम्पन भएको प्रदेशका गाउँपालिका र नगरापालिका, उपमहानगरपालिका र महानगरपालिका प्रमूख र उपप्रमूखहरुलाई लागि स्थानीय सरकार सञ्चालन गर्ने अभिमूखिकरण कार्यक्रम सञ्चालन गरेकोमा यहाँले पनि सहभागिता जनाएर फर्कनु भएको छ, यो विषयमा केही बताईदिनुहुन्छ की ?

– स्थानीय तह सञ्चालन तथा व्यवस्थापनसम्मन्त्री संघीय मामला तथा स्थानीय विकास मन्त्रालयको सम्बन्धित निकायले वैशाख ३१ गते सम्पन्न स्थानीय तहको गाउँपालिका, महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका प्रमूख र उपप्रमूखहरुलाई अभिमूखिकरण तालिमको आयोजना गर्यो। नेपालमा गणतन्त्र स्थापना भएर जनप्रतिनिधिमूलक सरकारी सेवाका लागि धेरै नै प्रभावकारी भएको मलाई महशुस भयो । स्थानीय शासन ऐनले प्रत्यायोजन गरेको अधिकार प्रयोग गरेर जनताको सेवा गर्ने विषयमा केन्द्रित रहेको उक्त प्रशिक्षणबाट हामीले धेरै कुराहरु सिक्ने अवसर पाएका छौं । देश संघीयता गएर नयाँ शासकीय ढाँचामा हामी पहिलोपटक जनताको स्थानीय स्तरको निर्णायक अधिकारी हुन पाएका छौं । यसमा हामीलाई हौसला समेत बढेको छ ।

यहाँले अब गाउँपालिकाको कामलाई कहाँबाट थालनी गर्नुभएको छ ?
– हाम्रो यो गाउँपालिका घोषणा मात्रै भएको छ । त्यसको कार्यालय भवन तयार भएको छैन । गाउँपालिकाको भनवका लागि जग्गा छनौट गर्ने काम भएको छ । सबैभन्दा पहिला हामी त्यो गाउँपालिकाको आफ्नै भवन निर्माण गर्न आवश्यक पूर्वाधार तयार पारेर त्यसका लागि सञ्चार, विद्युत र अन्य आवश्यक वस्तुस्थितिलाई हेरेर जनताको आवश्यकताको अध्ययन गर्न शुरु गर्छौं । त्यहाँका जनताका लागि के कुराको तत्काल आवश्यकता छ त्यो शीर्षक पहिचान गरेर हामी गाउँपालिकाको कार्यक्रम तयार पारी त्यसलाई प्राथमिकताका आधारमा सम्पन्न गर्दै लैजान्छौं । ऐनले दिएको अधिकार र निर्देशन बमोजिम हामी हाम्रो गतिविधिहरुलाई निरन्तरता दिदै जान्छौं ।

नारफू गाउँपालिकालाई शिक्षा, स्वास्थ्य, सुरक्षालगायत गाउँको अन्य विकास निर्माणलाई यहाँले कुन रुपमा अगाडि बढाउने सोच बनाउनु भएको छ ?
– मनाङ जिल्लाको विकट गाउँपालिका नारफू गाउँपालिका हो । यहाँ सबभन्दा पहिलो आवश्यकता बाटोको रहेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चारआदिको आधारभूत आवश्यकता पूर्ति गर्न राज्यले उपलब्ध गराएको श्रोतलाई समुचित प्रयोग गरेर काम गर्न गाउँपालिकामा निवार्चित सबै प्रतिनिधिहरु आपसी छलफल गरेर काम गर्ने तयारी गरिरहेका छौं । नारफू गाउँपालिकाका अधिकांश बासिन्दाहरुलाई गाउँमा नै बसेर आर्थिक विकास गर्न सक्ने सम्भावनालाई मध्येजर गरेर हामी नयाँ आय आर्जनका कार्यक्रमहरु सञ्चालन गर्दै जानेछौं । यहाँका जनशक्तिलाई दक्ष बनाउन विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्ने पनि हाम्रो सोचाईमा आएको छ । जसरी हुन्छ हामी गाउँको सबै सबैलाई निराकरण गर्न दिलोज्यान दिएर लागी पर्ने छौं ।

मनाङलाई जडिबुटी र पर्यटनको ठूलै श्रोत भएको जिल्लाको रुपमा हेरिन्छ, यो विषयमा यहाँको ध्यान केमा रहेको छ ?
– हो । हाम्रो जिल्ला हिमाली जिल्ला भएकोले यहाँ पर्यटन र दुर्लभ जडिबुटीको जिल्लाको रुपमा हेर्न सकिन्छ । यो मनाङ जिल्लाको महत्वपूर्ण सम्पत्ति हो । यस्ता प्राकृतिक श्रोत र साधनलाईलाई संरक्षण गरेर उपयोगका लागि ऐनले दिएको अधिकार प्रयोग गरेर आर्थिक विकासको श्रोत बनाउने विषयमा हामी गम्भिर भएर लाग्नेछौं । हामी पर्यटनको विकासलाई उच्च प्राथमिकतामा राखेर यसको विकास विस्तार गर्दै जानेछौं । पर्यटनका लागि नार गाउँको नारमा काङ्लापास, तिरिला जाने पदमार्गलाई सुधार गरेर पर्यटकहरुको आगमन बढाउने हामी विभिन्न प्रचार प्रसारको कार्यक्रमहरु सञ्चालन गर्दै जानेछौं । त्यसैगरी आन्तरिक पर्यटकहरुको बृद्धि गर्ने विषयमा पनि हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

यहाँ गाउँपालिकामा प्रमूख पदमा निर्बाचित हुनु भएपछि जनतामा कस्तो उत्साह पाउनु भएको छ ?
– स्थानीय तहमा जनप्रतिनिधिहरु नभएको लामो समय भईसकेको र जनताले आफ्नो नेतृत्वकोे आवश्यकता महशुस गरिरहेको बेलामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । त्यसमा पनि सिंहदरबारको अधिकार गाउँमा नै पाईने गरी भएको यो निर्वाचन पछि मनाङको विकट गाउँ नारफू गाउँका जनतामा एक किसिमको उत्साह पैदा भएको छ । जनु हाम्रा लागि पनि जनतको काम गर्ने प्रेरणाको श्रोत हो । जनताले यहाँ खानेपानी, सिंचाई, गोरेटो र घोडेटो बाटो निर्माण र सञ्चालन गर्न आग्रह गरिरहेका छन् । त्यसै गरी सामाजिक सुरक्षा सेवालाई सहज ढंगबाट घरदैलोमा पुर्याउनका साथै प्राकृतिक एवं दैवी प्रकोप व्यवस्थापन गर्न अनुरोध गरिरहेका छन् । स्थानीय स्तरमा सांस्कृतिक सम्पदाका रुपमा रहेका गुम्बा तथा मन्दिरहरुको जिर्णोद्धार गर्नुका साथै उचित किसिमको शिक्षा र स्वास्थ्य सेवालाई व्यवस्थित रुपमा उपलब्धताको पनि अपेक्षा गरिरहेका छन् । यी कुराहरु नै नारफूका जनताको उत्साहको रुपमा मैले देखेको छु ।