विमलका व्यावहारिक बोली

विमलका व्यावहारिक बोली


– मणि लोहनी

डा. राजेन्द्र विमल एक असल र प्रतिबद्ध लेखक हुन् । धनुषाको जनकपुरमा रहेर नेपाली साहित्यको प्रतिनिधित्व गर्दै डा. विमलका रचनाले देश–विदेशमा चर्चा र प्रसिद्धि कमाएका छन् । चिन्तन र सिर्जनशील काममा सक्रिय विमलका आख्यानले तराईको जनजीवनमा राष्ट्रिय चर्चा र चासोको विषय बनाउँदै आएका छन् । जगदम्बा श्रीबाट सम्मानित डा. विमल सबै जातजाति, क्षेत्र र वर्गका मानिस मूलधारमा एकसाथ अघि बढ्न सक्ने आदर्श समाज र राज्यको पक्षमा हुनुहुन्छ । कुनै एक जातविशेष र वर्गविशेषले पाउने सुविधा र अधिकारले समग्र जनताको हित गर्न नसक्ने उहाँको विश्वास छ ।

मलाई डा. विमलसँग भिन्न किसिमको मोह छ । विशिष्ट आदर छ र एउटा उम्दा लेखक जो समग्र मानवको पक्षमा लेख्छ भन्ने मेरो विश्वास छ । मेरो यो विश्वास डा. विमलको लेखन र व्यवहारमा देखिने एकरूपताले बढेको हो । म डा. विमलका लेखन र व्यवहार दुवैको प्रशंसक । त्यसो त उनी असल वक्ता पनि हुन् । दार्शनिक र अध्ययनशील स्वभावका यी मानव मलाई असल लेखक, समाजसुधारक लाग्छ । उनी आफैँलाई चाहिँ उनी कस्ता लाग्दा हुन् ? मैले उनकै मुखबाट उनलाई बुझ्न चाहेँ ।

‘राजेन्द्र विमल, अर्थात् अज्ञात कालदेखि बगिरहेको र अज्ञेय कालसम्म बगिरहने काल तथा जीवनको अविच्छिन्न प्रवाहमा उठेको एउटा अतिक्षणिक फोको, जसले बाँचुञ्जेल मंगलकारी सप्तरङ्गी सौन्दर्य सजाउने सक्दो प्रयास गर्दै प्रवाहमा विलीन हुनुमै आफ्नो अस्तित्वको सार्थकता देख्छ,’ डा. राजेन्द्र विमल आफूलाई यसरी परिभाषित गर्छन्, ‘एउटा माटोको विनम्र–विनत् टुकी जसले केही नबलेका टुकीलाई आफ्नो लघु शिखाले दीप्त पार्न खोज्दै छ ।’
वाह ! शब्दहरूमा यति विशिष्ट तरिकाले थोरै कमले मात्र आफूलाई परिभाषित गर्न सक्छन् । मलाई डा. विमलका शब्दहरू प्रिय लाग्छन् । उनी आफूलाई थप फुकाउँदै जान्छन्, ‘नियतिको हातमा रहेको बाँसको एउटा टुक्रा, जो विश्वविमोहनकारी मंगलध्वनि सुनाउन सक्ने सुन्दर मुरली बन्ने प्रतीक्षामा बस्ताबस्तै फुट्ने अवस्थामा पुगिसकेको छ ।’ यहाँनेर आएर उनी अलि निराश देखिए ।

‘. . . एउटा अनेक डाँडापारिको गन्तव्यका यात्री, जसले दुईवटा डाँडा काट्न नपाउँदै झमक्क साँझ परिसकेको छ र ऊ ढाकर बिसाएर खुइøय सुस्केरा काड्दै छ, अर्को बिहानीको आसमा . . . एउटा यस्तो परीक्षार्थी, जसले पहिलो प्रश्नको उत्तर पनि पूरा गर्न नपाउँदै समयसमापनको घन्टी ट्वाङ्ग हिर्काइएको छ ।’ विश्वास र नियतिको बीचमा उनले आफूलाई व्यक्त गरिरहेका थिए । मलाई खुब रमाइलो लागिरहेको थियो । मैले सोधेको थिएँ, ‘नेपाली साहित्यको एक चिन्तनशील लेखक डा. राजेन्द्र विमललाई तपाईंले कसरी चिन्नुभएको छ ?’ मेरो प्रश्नभन्दा कता हो कता गम्भीर विशिष्ट जवाफ दिए उनले ।
डा. विमलले मुलुकभित्रका सबै जात–जाति र भाषाभाषीको अनुहार समेट्न सकिने साहित्यको परिकल्पना गरेका छन् । यो परिकल्पना पूरा हुनेमा उनी विश्वस्त पनि छन् । भन्छन्, ‘नेपाली भाषा र साहित्य अब केही जात वा जातिको भाषा–साहित्य नरहेर सम्पूर्ण नेपाली नागरिकको साझा सम्पर्कमाध्यम हुन पुगेको कठोर सत्यलाई स्वागत गर्नु र यसलाई राष्ट्रिय अखण्डता, सार्वभौमिकता र ऐक्यबद्धताको सशक्ततम माध्यमको रूपमा सदुपयोग गर्ने विवेक प्रदर्शित गर्नुमै राष्ट्रको मंगल निहित छ ।’

डा. विमललाई थाहा छ, पछिल्लो समयमा भाषागत रूपमा र जातीय सन्दर्भमा हाम्रो सहिष्णुतामा डरलाग्दो भुइँचालो गएको छ, जसले गर्दा हाम्रा मनहरू फाटेका छन् । हाम्रो ऐक्यभावनाको धरहरा ढलेको छ । पारस्परिक विश्वासका गजुरहरू झरेका छन् । र, पलपल आइरहने पराकम्पनहरूले अझ ठूलो विनाश हुने सङ्केत गरिरहेका छन् । यो त्रासद सत्यलाई अस्वीकार गर्नु सुतुरमुर्गले आँखा चिम्लेर आत्मवंचनाको बालुवाभित्र टाउको लुकाएर आफूलाई सुरक्षित अनुभव गर्दै ढुक्क हुनेजस्तै हो । जसले अझ ठूलो खतरालाई निम्तो दिन्छ । एउटा पूर्ण विकसित, पीडामुक्त र आनन्दित समाजको निर्माणका लागि अपरिहार्य रहेको हामी सबै जात–जातिलाई एक ढिक्का पार्न सक्ने एकथान राजनेताको हाम्रो आतुर प्रतीक्षा निरन्तर हतासामा परिवर्तित हुँदै गरेको आवस्था छ । स्वार्थ र सत्तालिप्साको ‘रेबिज’ लागेकाहरूले पञ्जाका नङ्ग्राले साझा माटोलाई खोस्रेर आ–आफ्ना सिमाना तोक्दै त्यसभित्र अरूलाई देख्ता झम्टने, भुक्ने र टोक्ने सिन्ड्रोमको परिणाम हो बलिया छिमेकीहरू र आकासेजीवहरू हामीमाथि लठ्ठी बजार्न र हामीमाथि हैकम चलाउन सफल भएका छन् । मासुका टुक्राजस्ता डलर स्वयम् वा एजेन्टहरूमार्फत फालेर हामीलाई नै एक–अर्कामाथि जाइलाग्ने बनाइदिए । एउटा देशभित्र अनेक देश जन्मिए– भारत, चीन, अमेरिका, युरोपियन कम्युनिटी । यस्तामा साहित्यकारहरूको भूमिका सर्वोपरि छ ।

यस मानेमा साहित्यकार राजेन्द्र विमल धेरै सचेत छन् । त्यसो त उनको गम्भीरता र विश्वासले नेपाली साहित्यमार्फत सहिष्णुणता जोगाउन सकिने आशा पलाउँछ ।

मधेस आन्दोलन, जनजाति र दलित आन्दोलन, महिला सशक्तीकरण अभियान, महिला बेचबिखिनविरुद्धका आन्दोलन, उपल्लो जातका विरुद्ध तल्लो जातले गरेका विरोध आदि घटनाको प्रभाव प्रत्यक्ष र गहिरो रूपमा हाम्रो साहित्यमा देखिन्छ– सबै विधामा । (क) जात–जातीय द्वन्द्व र विभेद तथा लैङ्गिक हिंसाविरुद्धका रचनाहरू (ख) दमनकारीविरुद्धका रचनाहरू । दमनविरुद्धका रचनाले सैद्धान्तिक धरातललाई विशेष गहिराइ दिएका छन् भने दमनकारीविरुद्धका रचनामा ज्वलित आक्रोश अभिव्यक्त भएको छ ।

‘समकालीन जीवनसित निरपेक्ष हुने साहित्यले आफ्नो मूल्यवत्ता गुमाउँछ । आफ्नो समकालीन जीवनसित प्रत्यक्ष सरोकार नराख्ने साहित्यकार महान् हुन सक्तैन,’ उनी भन्छन् ।

नेपाली भाषाको व्याकरणगत र लेखाइमा देखिएको पछिल्लो विवादले डा. विमल दुःखी छन् । उनलाई यो विवाद मात्र होइन भाँडभैलो लाग्छ । ‘नेपाली भाषाको व्याकरणसम्बन्धी विवादले भाषामा अनावश्यक भाँडभैलो मच्चिएको छ । प्रज्ञा प्रतिष्ठान वा शिक्षा मन्त्रालयले देशका शीर्षस्थ र मान्य वैयाकरणहरूको समिति गठन गरेर एउटा सर्वमान्य व्याकरणको निर्माण अविलम्ब गर्नुपर्दछ,’ उनी भन्छन् ।

प्राज्ञिक क्षेत्रमा दलीयता, गुटबन्दी, नाता र कृपालाई आधार बनाई कुनै प्राज्ञिक संस्था, निकाय वा आयोगको गठन गर्नुहुँदैन । देशका योग्यतम भाषाविद्हरूको सहयोगले ठोस भाषा–नीति र कार्यक्रमको तर्जुमा हुने कुरामा उनी आशावादी छन् । भाषा सर्वेक्षण, सबै भाषाका मानक व्याकरणको प्रकाशन, सबै भाषाको भाषा वैज्ञानिक अध्ययन, भाषा र लिपिहरूको संरक्षण, लिपि नभएका भाषाहरूका लिपिका विकल्पको सुनिश्चितता, सबै भाषाका वाङ्मयको विकासका लागि पुस्तक, पत्र–पत्रिका र अन्य सञ्चारमाध्यमको प्रबन्धन, सबै भाषाका सरकारी प्रतिष्ठानको गठन आदि सम्बन्धी नीति, कार्यक्रम र क्रियान्वयन चुनौती हुन् ।

‘विश्वसाहित्यसित टक्कर लिने सामथ्र्य हाम्रो साहित्यमा नभएको होइन, सशक्त अनुवादको माध्यमले हामीले हाम्रो साहित्यलाई विश्व रङ्गमञ्चमा पु¥याउन नसकेर यो निराशाजनक अवस्था आएको हो । हाम्रा साहित्यकार विश्वस्तरीय साहित्यकारका कदममा कदम मिलाएर हिँड्न थालिसकेका छन् । नेपाली साहित्य विश्वसाहित्यको समकक्षतामा उभिएको छ, तर हाम्रो सक्रियता नपुगेर ओझेलमा छ,’ डा. विमलको यही भनाइले साहित्यप्रति उनको विश्वास र भरोसा कति छ प्रस्ट पनि हुन्छ ।

[email protected]