स्वर्गीय वरिष्ठ साहित्यकार मानन्धर श्रद्धाञ्जली-सभा

स्वर्गीय वरिष्ठ साहित्यकार मानन्धर श्रद्धाञ्जली-सभा


लण्डन / इलिङस्थित मोन्टिज रेस्टुरेन्टमा गत शनिवार अपरान्ह तीन बजेदेखि साँझ सात बजेसमम वरिष्ठ साहित्यकार तथा समाजसेवी स्वर्गीय ईश्वर प्रसाद मानन्धर प्रति अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले अत्यन्त भाव विव्हलपूर्ण श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । कतिपय दिवंगत आत्माका अन्तरंग मित्रहरु त्था उनीप्रति श्रद्धा राख्ने अनेसासका सदस्यहरु कार्यव्यस्तताको कारणले गर्दा सो श्रद्धाञ्जली सभामा सरिक हुन सकेनन् । उपस्थित हुन नसकेका मित्रहरुले भावपूर्ण श्रद्धाञ्जली स्वरुप सन्देश पठाएका थिए । सन्देश पठाउनेहरुमा क्रमशः प्रध्यापक सुष्मा आचार्य, प्रल्हाद कुमार प्रसाई (परराष्ट्र मन्त्रालय), अस्मिता भण्डारी (विश्व हिन्दु महासंघ, काठमाडौ च्याप्टर), हरिसिंह थापा (नेपाली साहित्य विकाश परिषद), बेलायत, सुरेशचन्द्र शाह (नेपाली साहित्य विकाश परिषद, बेलायत), प्रतिभा बोहोरा र अनेसासका कोषाध्यक्ष विकल आचार्य थिए ।

यो श्रद्धाञ्जली सभामा नेपालबाट आएका नेपाली चलचित्र उद्योगसँग आबद्ध उनका छोरा विनोद मानन्धर, छोरीहरु सबिता र संगिता मानन्धर लगायत २०, २५ जना अनेसासका सदस्यहरु सहभागी थिए । श्रद्धाञ्जली सभामा सहभागी भएकाहरुमध्ये श्रद्धाञ्जली अर्पण गर्नेक्रममा अभिव्यक्तिहरु व्यक्त गर्दा आँखा नरसाएका कुनै व्यक्ति नै थिएनन् । यसले स्वर्गीय कवि मानन्धरको स्थान श्रद्धाञ्जली अर्पण गर्ने व्यक्तिहरुका मनमा कति गहिरो रहेछ भन्ने छर्लाङ्ग अनुभूति भएको थियो । अनेसास बेलायत च्याप्टरका अध्यक्ष होम परिबागको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमलाई लक्ष्मी थापा राई (लारा)ले सञ्चालन गरेकी थिईन् । स्वर्गीय ईश्वर मानन्धरसंग बितेका पलहरुलाई याद गर्दै नेपाली समाज र साहित्यप्रतिको उनका देनहरु ईङ्गित गर्दै आफूले एक जना अभिभावकको छहारी गुमाएकी कुराहरु बडो भावुक बनेर व्यक्त गरेकी थिईन् ।

कार्यक्रम सञ्चालन गर्ने क्रममा आसन ग्रहण पश्चात सामूहिक रुपमा द्वीप प्रज्वलनका लागि स्वर्गीय मानन्धरका छोरा, दुई छोरीहरु तथा समाजका अध्यक्ष परिबागले संयुक्त रुपमा द्वीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए । यसपछि कवि गोपी कृष्ण प्रसाईले स्वर्गीय ईश्वर प्रसाद मानन्धरको परिचय, साहित्य र समाजमा योगदान तथा उनका जीवनभरीको क्रियाकलापहरुका वर्णण बडो सटिक तथा धारावाहिक तरिकाले व्यक्त गरेका थिए । गोपी प्रसाईको मन्तव्यपछि स्वर्गीय मानन्धरका आत्म शान्तिहेतु एक मिनटको मौन धारणा गरेर श्रद्धाञ्जली अर्पण गरिएको थियो । मानन्धर परिवारको विशेष उपस्थितिमा सम्पन्न सो श्रद्धाञ्ली सभाको कार्यक्रममा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नेक्रममा समाजका सल्लहाकार खगेन्द्र पाठक, अनेसासकी उपाध्यक्ष तथा बेलायत च्याप्टरकी उपाध्यक्ष जया राई, कवियत्री सुशिला कार्की, कवियत्री अजिता शिंखडा, कवि तथा गजलकार नारायण गाउँले, कवि नारायण अधिकारी, साहित्य अनुरागी माया, कवियत्री तथा प्रखर उद्घोषिका शशि थापा सुब्बा, कवि डा. रुपक श्रेष्ठ तथा सुमल कुमार गुरुङले आ—आफ्नो श्रदाञ्जलीरुपी मन्तव्य र स्वर्गीय वरिष्ठ कवि मानन्धरप्रति सिर्जना गरेका कविताहरु वाचन गरेका थिए भने कतिले उनका कविता म, अकाश र तारा कविता सङ्ग्रहभित्रका अमर कविताहरु वाचन गरेर सुनाएका थिए ।

मन्तव्यकै क्रममा डा. रुपक, खगेन्द्र पाठक तथा सुमल कुमार गुरुङले स्वर्गीय मानन्धरलाई अनेसासले श्रद्धाञ्जलीमात्र नभई उनका लागि उनका स्मृतिलाई सदा ताजा राख्नेखालका कार्य बढाउने अभिव्यक्ति जाहेर गरेका थिए । उनले सन् साठीको दशकदेखि नेपाली साहित्यलाई बेलायतमा फस्टाउने कार्यको कदर गर्न तथा उनि बेलायतका नेपालीहरुमा सम्भवतः कविता कोर्ने पहिलो व्यक्ति भएकोले गर्दा उनलाई बेलायती नेपालीहरुका आदिकविको खिताबबाट विभुषित गर्न सके सही अर्थमा उनलाई श्रद्धाञ्जली दिएको हुनेछ भन्ने धारणा डा. रुपकले व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्ततिर स्वर्गीय मानन्धरका छोरा विनोद मानन्धरले अन्यन्त भाव विव्हल भएर अनेसास बेलायत च्याप्टरप्रति कृतज्ञता तथा सबैलाई धन्यवाद प्रकट गरेका थिए । उनले बुबाको देहान्त पछि उनका बुबाले अनेसास बेलायतलाई हजुरबा सुन्दर प्रसाद मानन्धर को नाममा (ईश्वर मानन्धरका बुबा) प्रत्येक वर्ष प्रदान गरिने साहित्यिक पुरस्कार “सुप्रमा”को रकम २०१ पउण्ड समाजका अध्यक्ष होम परिबागलाई हस्तान्तरण गरेका थिए । र, उनले प्रत्येकवर्ष सो रकम अनेसास बेलायत च्याप्टरलाई दिने प्रतिबद्धता जाहेर गरेका थिए । त्यस्तै अनेसासको तर्फबाट स्वर्गीय ईश्वर मानन्धरका योगदानलाई प्रशंसा गर्दै उनलाई दिने कदरपत्र (जुन कदरपत्र समाजको अघिल्लो भेलामा प्रदान गर्नु रहेको थियो) उनका छोरा विनोद मानन्धरलाई अध्यक्षबाट प्रदान गरिएको थियो ।

त्यस्तै समाजकी महासचिव लाराले स्वर्गीय मानन्धरका जीवनकालमा अनेसास बेलायत च्याप्टरसंग आबद्ध रहँदा खिचिएका फोटाहरुका सङ्कलन एउटा एलबममा सङ्कलित गरी उनका छोरी द्वयलाई प्रदान गरेकी थिईन् । यसबाट अत्यन्त भावविभोर भएर छोरीहरुले फोटाहरु हेर्दै आँशु खसाएका थिए । कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष होम परिबागले स्वर्गीय मानन्धरको जीवनबारे विस्तृत संस्मरणहरु व्यक्त गर्दै सबैलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रम समापन गरेका थिए । त्यसपछि मोन्टीजमा स्वादिष्ट शाकाहारी भोजन खाएर सहभागीहरु सबै आ—आफ्ना वासास्थानतर्फ स्वर्गीय वरिष्ठ साहित्यकार तथा समाजसेवी ईश्वर मानन्धरको गुनगाण गाउँदै, उनलाई स्मरण गर्दै लागेका थिए । – सुमल, मेस ।