जनयुद्धकालमा दिल्लीमा गिरफ्तार हुनबाट प्रचण्ड मुस्किलले यसरी बचे

द्वन्द्वकालका ती दिन–३

– रवीन्द्र श्रेष्ठ



०६० माघ २५ गते अर्थात सन् २००४ फेब्रुअरी ८ तारिख । भारतको राजधानी नयाँदिल्ली गर्मीमा अति गर्मी हुने र जाडोमा अति जाडो हुने ठाउँ हो । जाडो महिनामा दिल्लीमा मुटु कमाउने चिसो हावा चल्ने गर्दछ । यस्तै मुटु कमाउने चिसो हावा चल्ने माघ महिनाको २५ गते ०६० सालमा दिल्लीको एक सेल्टरमा प्रचण्डले माओवादी केन्द्रिय सदस्य मातृका यादव र नेता सुरेश आलेमगरलाई भेट्न जाने समय मिलाएका थिए । जनयुद्ध उत्कर्षमा पुगिरहेको बेला थियो त्यो ।

०६० श्रावण ३२ गते माओवादी र नेपाल सरकारबीच वार्ता चलिरहेकै बेला रामेछापको दोरम्बामा १९ जना निहत्था माओवादी कार्यकर्ताहरूको शाही सेनाले हत्या गरेको थियो । सरकारी वार्ता टोलीले संविधानसभाको मागलगायत अरु कुनै पनि मागहरूमा समर्थन नजनाएपछि दाङको हापुरेमा ०६० भाद्र २ गते भएको वार्ता असफल भयो । माओवादीले ०६० भाद्र १० गते युद्ध विराम भंगको घोषणा ग¥यो । यस बीचमा अनेकौँ ठुला–साना मझौला खालका आक्रमणहरू माओवादीले ग¥यो । ०६० पौष २५ देखि माघ १९को बीचमा लाखौं जनताको सहभागितामा ठुल्ठुला जनसभाहरू गदैँ माओवादीले आठवटा जातीय क्षेत्रीय स्वायत्त जनसरकारहरू घोषणा गऱ्यो । यसले जनयुद्धको लोकप्रियता र जनयुद्धको अपार सफलता प्रदर्शन गऱ्यो ।

यही विन्दूमा जनयुद्धको नेतृत्वकर्ता पार्टीमाथि एक गम्भीर आक्रमण भारत सरकारले गऱ्यो । प्रचण्ड बाबुरामहरू दिल्ली आसपास नै अलग–अलग ठाउँहरूमा डेरा लिएर बसेका थिए । बाबुरामको भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुखसँग नियमित भेटघाट शुरु भैसकेको थियो । प्रचण्ड बाबुरामहरूलाई भारत सरकारवाट कुनै खतरा छैन भन्ने सन्देश बाबुराममार्फत पाइरहेकोले प्रचण्ड आफुलाई गिरफ्तार गर्दैन भन्नेमा ढुक्क थिए । (यसबारे अघिल्लो अंकमा विस्तृत वर्णन छ) । त्यसैले साथीहरूका कुरा नसुनेर उनी दिल्लीमै डेरा जमाएर बसेका थिए ।

०६० साल माघ २५ गते दिल्लीकै अर्को एक सेल्टरमा मातृका यादव र सुरेश आलेमगरलाई भेट्न बेलुकीपख प्रचण्ड तयार भैसकेका थिए । तर प्रचण्डपत्नी सीता दाहालले ‘अबेला भैसक्यो, आज धेरै हिँडडुल पनि गर्नुभयो, भोली विहान भेटे भैहाल्छ नि’ भनेर रोक्नुभयो । प्रचण्डले पनि उहाँको कुरा काट्न सकेनन् र हुन्छ भोली भेट्न जाऔँला भनेर रोकिए, त्यसदिन बेलुकी भेट्न गएनन् । तर भोलिपल्ट मातृका यादव र सुरेश आलेमगरलाई भारतीय विशेष प्रहरीले गिरफ्तार गरेको समाचार प्रचण्डले पाए । उहाँहरूलाई प्रचण्डले भेट्ने भनेको ठाउँबाटै गिरफ्तार गरेको रहेछ । अर्थात यदि प्रचण्ड सो दिन उहाँहरूलाई भेट्न गएको भए प्रचण्ड पनि उहाँहरू संगै गिरफ्तार पर्ने रहेछ ।

प्रचण्डले पछि हामीलाई बताएअनुसार सो दिन अब दिल्ली असुरक्षित छ र कुनैपनि बेला गिरफ्तारीमा पर्न सकिन्छ भन्ने अनुभूति प्रचण्डलाई भयो । बाबुराम त्यो दिन प्रचण्डसंगै मातृका यादवहरूलाई भेट्न जाने कार्यक्रम थिएन । यसबाट त्यो गिरफ्तारी प्रचण्डतिर मात्रै सोझिएको थियो भन्ने प्रष्ट थियो । भोलीपल्ट विहान मातृकाहरूको गिरफ्तारीको खबर पाएपछि प्रचण्ड तत्काल आफ्नो डेराबाट निस्केर अर्कै साथीको डेरामा गए । तर जहाँ गए पनि प्रचण्डलाई भारतीय विशेष प्रहरीले पछ्याउँदै गरेको र अब निशानामा आफू पनि परेको अनुभव प्रचण्डलाई भयो । बाबुरामलाइ्र्र फकाउने र बाबुराममार्फत भारत सरकारलाई फकाउने भन्दा अर्को उपाय छैन भन्ने निष्कर्षमा प्रचण्ड पुगे । तत्काल नेपाल आउन पनि उनलाई सम्भव थिएन । नेपाल आउन साथीहरूसँग सम्पर्क गरेर बाटो र सुरक्षा व्यवस्था मिलाउन समय लाग्दथ्यो नै । प्रचण्डले पछि यो पंक्तिकारलाई भनेका थिए कि तत्काल नेपाल आउन खोज्दा आफ्नो जालबाट उम्केला भनेर भारत सरकारले तुरुन्तै गिरफ्तार गर्ने सम्भावना पनि हुन सक्दथ्यो, त्यसैले बाबुरामलाई फकाउने र उनीमार्फत भारत सरकारलाई फकाउने काममा प्रचण्ड लागे ।

प्रचण्डले बाबुरामलाई के भएको हो भनेर बुझ्न ती गुप्तचर प्रमुखसँग भेट्न पठाए । बाबुरामले खबर ल्याए कि दिल्ली पुलिसले मातृकाहरूलाई गिरफ्तार गरेको हो, भारत सरकारको केन्द्रिय योजनामा त्यो गिरफ्तारी भएको होइन, दिल्लीमा तपाईहरूको हिँडडुल अलि बढी भयो, प्रचण्ड–बाबुरामलाई गिरफ्तार गर्ने भारतीय केन्द्र सरकारको कुनै योजना छैन, भारत सरकारले प्रचण्डलाई नै गिरफ्तार गर्न चाहेको भए त उनकै डेरामा छापा मारिन्थ्यो नि आदि जस्ता कुरा ती भारतीय गुप्तचर प्रमुखले बाबुरामसँग गरे । यसबाट प्रचण्डको मन अलि शान्त त पक्कै भयो तर उनी पूर्ण रुपमा विश्वस्त हुन सकेनन् । प्रचण्डले यसपछि दिल्ली बसाई छाडेर मुम्बईतिर लागे । प्रचण्डले यसपछि बल्ल यस पंक्तिकार लगायत आफ्ना विश्वासिला केन्द्रिय सदस्यहरूलाई बाबुरामको भारतीय गुप्तचर प्रमुखसँगको भेटघाट रहेको, बाबुराम र भारत सरकार मिलेर पार्टी हेडक्वाटरकै विरुद्ध गम्भीर षडयन्त्र हुन थालेको, अब नयाँ उपाय सोच्नपर्ने जस्ता कुरा गर्न थाले ।

यस घटनाको बारेमा पछि रोल्पाको फुन्टिवाङमा ०६१ श्रावण २४ देखि भाद्र १ गतेसम्म भएको केन्द्रिय समितिको बैठकमा प्रचण्डले पेश गरि पारित भएको दस्तावेजमा ‘पार्टी हेडक्वाटरलाई समेत निशाना बनाउँदै दिल्लीमा कमरेड मातृका यादव र कमरेड सुरेश आले मगरमाथि गरिएको आक्रमण’ भनेर उल्लेख गरिएको छ (दस्तावेज संग्रह पृष्ठ ५४२) ।

प्रतिक्रिया