राप्रपा पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा

राप्रपा पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा


कमल थापासँग असन्तुष्ट रहँदै आएका दिलविकास राजभण्डारीलाई थापाले पार्टीको उपाध्यक्ष मनोनयन गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको शुक्रबार काठमाडौंमा आयोजित कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष थापाले यस्तो निर्णय सुनाएका हुन् ।

अध्यक्षले पार्टीको विधानानुसार नै बागलुङ ठेगाना भएका केन्द्रीय सदस्य दिलविकास राजभण्डारीलाई उपाध्यक्षमा मनोनयन गरेका सो पार्टीले जनाएको छ ।

शुक्रबारको बैठकले मुलुकमा हिन्दूराष्ट्र स्थापना गर्नेबारे जनताको प्रत्यक्ष अभिमत लिन आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसँगै राष्ट्रिय जनमत संग्रहको माग गरेको छ ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मुलुकमा शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न राष्ट्रप्रमुखका रुपमा आलंकारिक संवैधानिक राजसंस्था कायम गरी कार्यकारी प्रमुखका रुपमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्थाको माग गरे ।

राप्रपाले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पूर्ण समानुपातिक व्यवस्था कायम गर्न पनि माग गरेको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम सम्बन्धित स्थानीय तह र क्षेत्रको सिफारिससहित यही असोज २२ गतेभित्र पेश गर्न जिल्ला कार्यसमितिलाई बैठकले निर्देशन दिएको जनाइएको छ ।