आर्मीलाई हराउँदै मोरङ–११ सेमिफाइनलमा

आर्मीलाई हराउँदै मोरङ–११ सेमिफाइनलमा


झापाको शिवसताक्षी नगरपालिकामा जारी प्रथम दुधे गोल्डकपमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै मोरङ–११ अन्तिम सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार दुधे खेल मैदानमा सम्पन्न खेलबाट मोरङ–११ सेमिफाइनल प्रवेशसँगै आइतबार पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज क्लब, काठमाडौंसँग प्रतिष्पर्धा गर्ने निश्चित भएको छ ।

निर्धारित समयसम्म खेल गोलरहित बराबरमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा आर्मीका दिपक गुरुङ र योद्धा शाहीको प्रहार मोरङका गोल रक्षक सुरज अधिकारीले बिफल बनाएका थिए । आर्मीका कैलाश बस्नेत र पदम तामाङको प्रहार मात्र गोलमा परिणत भएको थियो ।

यता मोरङकका लागि दिपक राई, सुनिल खड्का, मिक्चेन तामाङ र विक्रम लिम्बूले गोललाई पोष्टको दिशा दिएका थिए ।

आर्मीका मुख्य रोजाईका खेलाडीहरु नवयुग श्रेष्ठ, भरत खवास, विकेश कुथु लगायत ताजकिस्तानसँग हुने खेलको तयारीका लागि बन्द प्रशिक्षणमा रहनुले मोरङका लागि जित निकाल्न थप सहज बन्यो । पहिलो हाफसम्म दुवै टोली आक्रमक बनेनन् । दोस्रो हाफको ७ औं मिनेटमा आर्मीका राजिव गुरुङको प्रहार मोरङका गोलरक्षक अधिकारीले बचाउ गरेका थिए ।

खेलको २३ औ मिनेटमा दिपक राईको शक्तिशाली फ्रि–किक आर्मीका गोल रक्षक महेश्वर श्रेष्ठले पञ्च गरेर बाहिर हुत्याइदिएका थिए । ३६औं मिनेटमा मोरङका कप्तान दिपक राईको प्रहार बारमा लागेर फर्किएको थियो .खेलको म्यान अफ द म्याच मोरङका गोल रक्षक अधिकारीलाई नगद ५ प्रदान गरिएको थियो । शनिबार हुने पहिलो चरणको अन्तिम खेल रुपन्देही–११ र शसस्त्र प्रहरीको एपीएफ काठमाडौंबीच हुने भएको छ ।