पूर्वराजाबाट विजयादशमीको टीका कार्यक्रम नहुने

पूर्वराजाबाट विजयादशमीको टीका कार्यक्रम नहुने


पुर्वराजा ज्ञानेन्द्र शाहबाट यस वर्षको दशैँको टीका कार्यक्रम नहुने भएको छ । स्वास्थ्य अवस्थालाई ध्यान दिँदै आराम गर्नका लागि चिकित्सकीय परामर्श मिलेकोले यस वर्ष विजयादशमीको टीका कार्यक्रम नराखिएको र महाअष्टमीका दिन गरिँदै आएको विभिन्न शक्तिपीठहरुको दर्शन पनि नहुने पूर्वराजाका तर्फबाट शुक्रबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चिकित्सकहरुको परामर्शका अलावा पूर्वराजाबाट दर्शैका महत्वपूर्ण कार्यक्रमहरु रद्द गर्नुको अर्को कारण देशका विभिन्न भागमा आएको बाढी पहिरो समेत रहेको जनाइएको छ । मुलुक प्राकृतिक प्रकोपका कारण दुःखमा परेको बेला चाडपर्वको खुशीयाली मान्न-मनाउन पूर्वराजाको मन नमानेको अनुभूति गरिएको छ ।

विश्वस्त सुत्रका अनुसार आगामी फूलपातीका दिन पूर्वराजाको शुभकामना वक्तव्य आउने छ, जसमा शुभकामनाका अलावा मुलुकको परिस्थिति बारे पनि पूर्वराजा ज्ञानेन्द्र शाह अभिव्यक्त हुनुहुने सम्भावना रहेको बुझिएको छ ।

पूर्वराजाबाट आज जारी विज्ञप्तिमा आफ्नो प्रार्थना, चिन्ता र चासो नेपालीहरुको समग्र हित र समुन्नतिको लागि मात्र रहेको ब्यहोरा उल्लेख गरिएको छ ।