भारततर्फ सस्तो हुँदा बिर्तामोडका व्यवसायी चिन्तित

भारततर्फ सस्तो हुँदा बिर्तामोडका व्यवसायी चिन्तित


– रेजिना गौतम (झापा)

चाडपर्व नजिकिँदै जाँदा बजारमा उपभोक्ताको भिडभाड बढ्नुपर्ने हो, तर पूर्वकै व्यापारिक केन्द्र मानिएको विर्तामोड बजारमा खासै भिडभाड देखिँदैन ।

चाडवाडका बेला पनि उपभोग्य तथा लत्ताकपडा लगायतका सामग्री खरिदमा चहलपहल नभएको भन्दै व्यापारीहरू चिन्तित हुन थालेका छन् ।

नेपाली उपभोक्ताको नेपाली बजारमा भन्दा सीमावर्ती भारतीय बजारमा आकर्षण बढ्नाले विर्तामोडको व्यापारमा दिनदिनै खस्कँदो अवस्थामा छ ।

वर्तामोडबाट लगभग २० किलोमिटरको दुरीमा रहेको नेपाल–भारत पूर्वीद्वार काँकरभिट्टानजिकै भारतीय भूमिमा रहेको पानी ट्याङ्कीको बजारका कारण पछिल्लो समय विर्तामोडका व्यापारी पलायन हुने अवस्थामा पुगेको संघका पूर्वमहासचिव सुवास भट्टराईले बताए । ‘नेपाली उपभोक्ताबाट पानीट्याङ्कीमा व्यापार बढ्दो छ, त्यही कारण विर्तामोडका व्यापारीहरू पलायन हुने अवस्थामा छन्’, महासचिव भट्टराईले भने ।

पश्चिम बंगालसँग सीमाना जोडिएको पूर्वी नाका काँकरभिट्टानजिकै रहेको पानीट्याकी, नक्सलवारी, सिलीगडी लगायतका बजार नेपाली उपभोक्ता दैनिक उपभोग्य सामग्री खरिदमा गर्ने गरेका छन् । नेपाली बजारमाभन्दा भारतीय बजारमा सस्तोमा सामग्री खरिद गर्न पाइने भएपछि नेपालीहरुको आकर्षण भारतीय बजारमा बढेको हो ।

बंगाल र विहारसँग सीमाना जोडिएको झापाको दक्षिणी क्षेत्रका उपभोक्ता गलगलिया, दिगलबैंकलगायतका सीमावर्ती बजारमा केन्द्रीत हुने गरेका छन् ।

नेपाली उपभोक्ताको भारतीय बजार मोहका कारण विर्तामोडसहित सीमा क्षेत्रका व्यवसायी पलायन हुने अवस्थामा पुगेको विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । उनले भने– ‘यो ठूलो समस्या भएको छ, व्यापारीहरुलाई टिक्नै गाह्रो भइसक्यो, कति व्यापारी त पलायन हुने अवस्थामा छन् ।’

पानीट्यांकी बजारमा नेपालीको भीड बढ्दा झापाका काँकरभिट्टा धुलाबारी, चारआली, बिर्तामोड, सुरुङ्गा, दमक, शनिश्चरे जस्ता नाम चलेका र बजार भने सुनसान छन् ।