अन्तःशुल्कको नक्कली स्टिकर प्रकरणमा को-को तानिए ?

अन्तःशुल्कको नक्कली स्टिकर प्रकरणमा को-को तानिए ?


अन्तःशुल्क कार्यालयको नक्कली स्टिकर बनाएर राज्य ठग्दै आएका व्यक्तिहरु कानुनी फन्दामा परेका छन् । हरिओम ट्रेडिङ प्रा.लि.का सञ्चालक एवम् उनका सहयोगीहरुलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

हरिओम ट्रेडिङ प्रा.लि.का नाममा भारतबाट आयात गरिएको ८६ हजार ४ सय ७० थान नक्कली अन्तःशुल्क स्टिकर हालै बीरगञ्ज भन्सार कार्यालयमा बरामद भएको थियो । भारी परिमाणमा नक्कली स्टिकर फेला परेपछि घटनामा हरिओम ट्रेडिङका सञ्चालक कुलप्रसाद राजभण्डारी र उनका सहयोगी प्रकाश घिमिरे संलग्न रहेको पत्ता लाग्यो । त्यसपछि आन्तरिक राजस्व विभाग अन्तःशुल्क महाशाखा लाजिम्पाटले केन्द्रिय अनुसन्धान ब्यूरोलाई अभियुक्तहरु पक्राउ गरिदिन अनुरोध गरेको थियो । अन्तःशुल्क कार्यालयको आग्रहअनुसार गत भदौ २० गते अभियुक्त पक्राउ परेका थिए ।

अभियुक्तहरुलाई आवश्य कारवाहीका लागि अनुसन्धानका क्रममा आन्तरिक राजस्व कार्यालय बीरगञ्ज पठाइएको थियो । तर, अनुसन्धानको सिलसिलामा उक्त घटनामा हिमालयन कार्गोका संचालक विनोदकुमार गुप्ताको समेत संलग्नता देखिएको प्रहरीले जानकारी दिएको छ ।

अन्ततः यही असोज १ कुलेश्वरबाट ५३ वर्षीय भारतीय नागरिक गुप्तालाई समेत पक्राउ गरिएको थियो । पक्राउ गरी आवश्यक कारवाहीको लागि उनलाई पनि आन्तरिक राजश्च कार्यालय बीरगञ्ज पठाइएकोमा निजको बयानको आधारमा उक्त घटनामा संलग्न धादिङ धुनबेशीका राजकुमार भण्डारी तानिन पुगेका थिए । भण्डारीलाई पनि काठमाडौं बौद्धबाट पक्राउ गरी कानुनी कारवाहीका लागि बीरगञ्ज पठाइएको बताइएको छ ।