अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता विवादमा

अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता विवादमा


अखिल नेपाल कबड्डी संघको आयोजनामा दशरथ रंगशालाको कवर्ड हलमा सञ्चालन भैरहेको अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिता विवादमा परेको छ । भारत र बंगलादेशबीच भएको खेलमा रेफ्रीले दिएको निर्णयप्रति बंगलादेशका खेलाडीले असन्तोष प्रकट गर्दै विरोध जनाएपछि विवाद उत्पन्न भएको हो ।

विवाद उत्पन्न भएपछि आयोजक कमिटीले बंगालादेशका खेलाडी तथा पदाधिकारीलाई निकै बेर सम्झाएको थियो । तर उनीहरुले रेफ्रीको निर्णय सच्याउन भन्दै खेल्न मानेनन् । परिणाम खेल दुई घण्टासम्म रोकिएको थियो । त्यसपछि खेल भावनाको कदर गर्दै बंगलादेशका खेलाडी कोर्टमा उत्रिए पनि खेलमा सहभागिता भने जनाएनन् । यसपछि भारतले दुई रेजर गर्दै बंगलादेशलाई अलआउट गरेको थियो ।


यो विवादको बारेमा कबड्डी संघका केन्द्रिय सदस्य हिमाल रंजितसँग सम्पर्क गर्दा उनले रेफ्रिको कुनै गल्ती नभएको बताए । रंजितले सबै रेफ्री अन्तर्राराष्ट्रियको भएको बताउँदै सानो कुरामा बंगलादेशका खेलाडीले धेरै विवाद गरेको खुलासा गरे । रेफ्रीले सिट्टी बजाएर वंगलादेशका रेजरलाई आउट दिएपछि विवाद उत्पन्न भएको हो । जुनसुकै खेलमा पनि रेफ्रीको निर्णय अन्तिम हुन्छ । यो नै अन्तर्राष्ट्रिय नियम हो । तर बंगलादेशका खेलाडीले रेफ्रीको निर्णयको प्रतिवाद गर्दा विवाद उत्पन्न भएको हो । यो खासै ठूलो कुरो पनि होइन, रंजितले भने । विवाद उत्पन्न हुँदा भारत र बंगलादेशको समान ९–९ अंक थियो ।

बंगलादेशले खेल बहिष्कार गरेपछि अब कस्तो कारवाही हुन्छ भन्ने सवालमा सदस्य रंजितले त्यो टेक्निकल कमिटीको कुरो हो भन्दै अब कमिटीले कस्तो कारवाहि अगाडि बढाउँछ, त्यसैमा भरपर्ने बताए ।

बंगलादेशले अनुशासन तोडेको छ, खेल भावना विपरित प्रदर्शन गरेको पनि रंजित कथन थियो । बंगलादेश हिजो नेपालसंग पराजित भएको थियो । भारतसंग पराजित भएपछि बंगलादेश प्रतियोगिताबाटै आउट भएको छ ।

यो आमन्त्रण प्रतियोगितामा आयोजक नेपाल लगायत भारत र बंगलादेशले सहभागिता जनाएका छन । प्रतियोगितामा श्रीलंकालाई आमन्त्रण गरिए पनि विशेष कारण अन्तिम समयमा आउन नसकेको रंजितले बताए ।