तिवारी सुस्ताउँदा राजधानीका पार्क अस्तव्यस्त

तिवारी सुस्ताउँदा राजधानीका पार्क अस्तव्यस्त


सहरी विकास मन्त्रालयले भदौंसम्ममा राजधानीमा रहेका सबै पार्क तथा सार्वजनिक स्थलहरू सझासुग्घर गर्ने निर्णय गरे पनि यसको कार्यान्वयन भएको छैन । राजधानीका सार्वजनिक स्थल तथा पार्कहरूको सरसफाई र हराभरासहित सुन्दर बनाउने जिम्मेवारी काठमाडौं उपत्यका विकास प्राधिकरणले लिएको थियो ।

सहरी विकासमन्त्री प्रभु साहले मन्त्रालयले जिम्मेवारी सम्हालेलगतै असार तेस्रो साता भदौं मसान्तभित्रमा सबै पार्कलाई व्यवस्थित रुपमा सरसफाई गरी सुन्दर र आकर्षक बनाउन मन्त्रालयगत निर्णय गरेका थिए । यो जिम्मेवारी प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले पाएका थिए । तर अहिलेसम्म निर्णयको कार्यान्वयन नभएपछि यसबारे चासो बढेको छ ।

पार्कमा बोटविरुवा सजावट र सरसफाईको जिम्मेवारी प्राधिकरणको भए पनि अहिलेसम्म कुनै पनि काम सुरु नभएको भन्दै प्राधिकरण प्रमुख तिवारकिो आलोचना गरिएको छ । मन्त्रालयले गरेको निर्णय कार्यान्वयन नभएकोमा मन्त्री साह पनि असन्तुष्ट बनेका सुत्र बताउँछ । साहले सफाई जस्तो काम आफै जानेर गर्ने हो अझै निर्णय गर्दा समेत कार्यान्वयन भएन कर्मचारीको काम गराईको तरिका देख्दा आफैलाई दिक्क लागेको उनको गुनासो रहने गरेको स्रोतले बतायो । आफ्नो घर कोठाको सफाई गर्न कसैको आदेश र निर्णय पर्खिन नपरेजस्तै सम्बन्धित मातहतकमा निकायले गर्ने दैनिक काम पनि सहज रुपमा गर्नुपर्ने हो तर त्यस्तो हुने गरेको छैन, कुनै पनि सरकारी निकार्यमा यो आफैमा हेपाहा प्रवृत्तिको विकास भएको रुपमा लिन सकिन्छ, मन्त्री साहको भनाई छ ।

राजधानीका सार्वजनिक स्थल तथा पार्कहरू सहरी विकास मन्त्रलाय मातहतका निकायले संरक्षण, सम्बद्र्धन र व्यवस्थापन गर्ने जिम्मेवारी छ । चाडपर्वसँगै राजधानीका अधिकांश सार्वजनिक क्षेत्रहरूको सरसफाई गर्ने जिम्मेवारी मन्त्रालयले प्राधिकरणलाई दिए पनि अझैसम्म काम गर्न नसकेको आरोप मन्त्रालयका पदाधिकारीको छ ।

प्राधिकरणका प्रमुख आयुक्त तिवारीले बैठकमा आफुले काम पुरा गर्ने वचनसहित जिम्मेवारी सम्हालेका भए पनि केही पनि काम सुरु गर्न नसकेको बैठकमा सहभागी एक पदाधिकारीले बताए । भदौ मसान्तभित्रमा राजधानीका पार्कहरूलाई चिरिच्याँट्ट पार्ने प्रतिबद्धता जनाएका तिवारीले गर्न नसक्ने कामको जिम्मेवारी किन लिएका होलान् भनी ती अधिकारीले ब्यङ्ग्य समेत गरे ।

यता तिवारी भने टँुडिखेललाई सफा गर्न खोजेको भए पनि नसकिएको लाचारी व्यक्त गर्छन् । अहिले सेनाले निर्माण सामग्री राखेकाले समस्या भएको उनले बताएका छन् । शंखमुल पार्क, नारायण गोपाल चोक, नयाँ बसपार्कलगायतका क्षेत्रमा भने काम भएको तिवारीको दाबी छ ।

यता राजधानीको फोहोर उठाउन बन्द भएकाले पनि सफाईमा समस्या भएको उनको तर्क छ । फोहोर मैलाको व्यवस्थापन गर्ने कार्य आफ्नो नियन्त्रणभन्दा बाहिर भएको र सार्वजनिक स्थलबाट फोहोर नउठ्दा समयमै काम हुन नसकेको उनी स्विकार गर्छन् । सार्वजनिक स्थलमा क्रमशः सफाई भएको भन्दै उनले भने आफु कुचो लिएर बढारी हिँड्ने व्यक्ति नभई समन्वयकारी भूमिका मात्र निर्वाह गरिदिने जिम्मेवारी रहेको बताउँछन् ।

सडक विस्तारको बेला काम गरेर नाम कमाएका भाइकाजी यतिबेला किन सुस्ताए भन्ने सवालमा प्राधिकरणकै कर्मचारीबीच पनि चासो प्रकट हुने गरेको बताइन्छ । सुत्रका अनुसार मन्त्रालयले तिवारीलाई उपत्यकाभित्रका पार्क तथा सडकहरुमा हरियारी बनाउन बोटविरुवा लगाउने, भएकालाई उचित संरक्षण गर्ने सार्वजनिक स्थलहरु पूर्ण रुपमा सफा गरि व्यवस्थापन गर्न भनिएको थियो ।