अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न कार्तिकमा कराते प्रतियोगिता

अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न कार्तिकमा कराते प्रतियोगिता


नेपाल कराते महासंघको आयोजनामा राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय कराते प्रतियोगिता २०७४ कार्तिक २३ देखि २५ गते सम्म काठमाण्डौमा आयोजना हुने भएको छ । २०१८ मा हुने १८ औं एशियाली खेलकुद, सन् २०१९ मा नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद र २०२० मा आयोजना हुने ओलम्पिक गेमलाई मध्येनजर राख्दै स्तरियता र अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक, साग स्वर्ण पदकधारी एवं प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराएका छन । राष्ट्रिय टिम छनोटका रुपमा समेत रहेको यो प्रतियोगितामा पहिला स्थान हात पार्ने खेलाडी राष्ट्रिय टिमलाई छानिने छन् ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने तीन दिने प्रतियोगितामा संघिय संरचना अनुरुप सात प्रदेश र तीन विभगिय टिमका महिला तर्फ १०० र पुरुष तर्फ ११० गरि कुल २१० खेलाडी सहभागिता जनाउने छन । त्यस्तै महिला तर्फ ४५, ५०, ५५, ६१, ६८ केजी मुनी र ६८ केजी माथि गरि ६ र पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ केजी मुनी र ८४ केजी माथी गरि ७ तथा महिला/पुरुष एकल र टिम काता गरि कुल १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने संघले जानकारी गराएको छ ।

प्रतियोगितामा सहभागि हुने सात प्रदेशका खेलाडीहरुलाई प्रदेशस्तरमा प्रतिस्पर्धा गराई छनोट गरिने र प्रत्येक टोलीले प्रतियोगितामा प्रत्येक विधामा एक एक खेलाडी र कातामा गरि २१ खेलाडीले सहभागिता जनाउन पाउने नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ्गले जानकारी गराए । राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनले यस प्रतियोगिताले आठौं सागमा हासिल गरेको उपलब्धिलाई पुन हासिल गर्ने विश्वास ब्यक्त गरे । प्रतियोगिताको अनुमानित बजेट करिब २९ लाखको रहेको छ ।