सहाना प्रधानलाई एमालेले बिर्सियो !

सहाना प्रधानलाई एमालेले बिर्सियो !


ऐतिहासिक जनआन्दोलनको नेता, महिला आन्दोलनको शिखर ब्यक्तित्व सहाना प्रधानको आज तेस्रो स्मृति दिवस । आजको दिन एमालेले उनको स्मृतिमा खासै केही नै कार्यक्रम गरेको देखिन्न ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकी पत्नी, शहीद गंगालालकी बुहारी, एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको सालीका रुपमा सहानालाई चिन्ने मानिस थोरै छन् ।

२००४ सालदेखिको राजनीतिक संघर्षमा खारिएकी र २०४७ सालको जन आन्दोलनकी सह–कमाण्डर सहाना प्रधानको छुट्टै परिचय र इतिहास छ । २००४ सालमा राणाविरोधी नारा लगाउने कनकलता, स्नेहलता, साधनासहितका चार महिलामध्ये सहाना पनि एक थिइन् ।

त्यसपछि सधैं महिला मुक्ति र नागरिक अधिकारको आन्दोलनकी अगुवा सहानाको योगदान केलाउने काम सोधार्थीको जिम्मामा छाडि दिने हो भने पनि हात खुट्टा चलुञ्जेल काम गरेको पार्टी नेकपा एमालेले चासो दिनु पर्ने हो । तर, बाम र प्रजातान्त्रिक आन्दोलनकी योद्धा र अगुवाको स्मृतीमा एमालेले कुनै चसोनै दिएको छैन् ।

२००४ साल बैशाख १७ गते पहिलोपटक संगठित रुपमा राणा विरोधी नारा लगाउने चारजना महिलामा उनी पनि थिइन् । त्यसपछि उनी पक्राउ परेकी थिइन् ।

महिलालाई शिक्षा दिलाउन १५ दिन साहाना आमरण अनसन बसेपछि तत्कालिन प्रधानमन्त्री पद्म शमशेर सहानासित झुके र महिलाले पनि पढ्न पाउने आश्वासन दिएका थिए । २००५ मा भाइसँगै लखनउ गएर आईए पढेपछि २००७ सालमा नेपाल फर्किएकी साहाना काठमाडौंको कन्यामन्दिर, शान्ति निकुञ्ज र सीताराम हाइस्कूलमा पढाएकी थिइन् ।

त्यसपछि कम्युनिष्ट पार्टीमा काम गरेकी साहाना २००८ सालमा जिल्ला कमिटी र २००९ सालमा अञ्चल कमिटीको जिम्मेवारी लिइन् । २००९ सालमा पुष्पलाल श्रेष्ठसँग उनको विवाह भएको थियो । २०३५ सालमा पुष्पलालको निधनपछि पुष्पलाल समूहको नेतृत्वको पार्टीमा उनी प्रवक्ता थिइन् ।

२०४३ मा नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीको सचिव भइन् । जनआन्दोलन २०४६ मा उनले बाममोर्चाको अध्यक्ष भएर आन्दोलन हाकिन् । २०४८ र २०५१ को आम निर्वाचनमा उनी प्रतिनिधिसभामा निर्वाचित भइन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि उनी पटकपटक मन्त्री पनि भइन् । पार्टीले सञ्चालन गरेको आन्दोलनमा मात्र होइन, महिला अधिकारको आवाज उठाउनुपर्दा उनी आफैं मोर्चाको अग्रपंक्तिमा उभिइन् ।

प्रधानको २०७१ साल असोज ६ गते काठमाडौंको वयोधा अस्पतालमा निधन भयो । उनी लामो समयदेखि मस्तिष्कघात बाट पीडित थिइन् । उनी बिरामी पर्दा समेत नत राज्यलाई नत एमालेले चासो दिएको थियो ।

नेपाली महिला आन्दोलन, नागरिक अधिकार, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको एउटा मियो भएर काम गरेकी सहाना प्रधानको स्मृती दिवस समेत नमनाउनु उनीमाथि अपमान भएको कार्यकर्ताहरु बताउछन् ।