बाबुरामको क्षेत्रमा नारायणकाजीको नाम सिफारिस !

बाबुरामको क्षेत्रमा नारायणकाजीको नाम सिफारिस !


गोरखा– २ बाबुराम भट्टराईको क्षेत्रका रुपमा लिइन्छ,  भट्टराई सोही क्षेत्रबाट चुनाव लड्ने बताइरहेका बेला माओवादी केन्द्रले आफ्ना नेता नारायणकाजी श्रेष्ठलाई सोही क्षेत्रबाट चुनावमा उठाउने तयारी गरेको छ ।

मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको हो ।

सूचीमा प्रतिनिधिसभा क्षेत्र नं २ को प्रत्यक्षतर्फ नेता नारायणकाजी श्रेष्ठको नाम छ भने त्यस्तै सोही क्षेत्रबाटै प्रस्तावित नाममा, हितराज पाण्डे, चूडामणि खड्का, लेखनाथ न्यौपानेको छ । सोही क्षेत्रबाट समानुपातिकतर्फ खोपबहादुर कँडेलको मात्रै नाम प्रस्ताव गरिएको छ ।

गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । दुई क्षेत्रमा दुई/दुई वटा गरी चारवटा प्रदेश निर्वाचन क्षेत्र छ । त्यसमध्ये समानुपातिक प्रणाली पनि कायमै छ । गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेताहरु हरि अधिकारी, कृष्ण धिताल र लोकप्रसाद बञ्जराको नाम प्रस्ताव गरिएको छ ।

यस्तै, समानुपातिकतर्फ नेताहरु परशुराम रम्तेल, जगन्नाथ खनाल तथा सहरी विकास राज्यमन्त्रीसमेत रहेका छमबहादुर गुरुङको नाम प्रस्ताव गरिएको माओवादी केन्द्रले जनाएको छ ।

यस्तै, माओवादी केन्द्रले प्रदेशसभा निर्वाचनका लागि गोरखा क्षेत्र नं १ को प्रदेश नं १ को प्रत्यक्षतर्फ नेताहरु लेखबहादुर थापा, माया चेपाङ, जानुका पौडेल र समानुपातिकतर्फ हितमान सुर्खेती, अकुर तिमिल्सिना, गीता गहतराज, डिलबहादुर सेन्चुरीको नाम प्रस्ताव गरेको छ ।

क्षेत्र नं १ को प्रदेश नं २ प्रदेशसभाका लागि प्रत्यक्षतर्फ नेताहरु ऋषि खनाल, स्थिरप्रसाद खनाल, निमा लामाको नाम प्रस्ताव गरिएको छ भने समानुपातिकतर्फ सुशीला सिंखडा, ध्रुव भट्ट, गोपाल बराइलीको नाम प्रस्ताव भएको छ ।

क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा–१ का लागि प्रत्यक्षतर्फ नेताहरु कमला नहर्की, विवश चिन्तन, बन्दना पाण्डे र समानुपातिकतर्फ रामबहादुर ढकाल, कञ्चन कुमाल र धना तमु छन् ।

क्षेत्र नं २ को प्रदेशसभा–२ का लागि प्रत्यक्षतर्फ नेताहरु अमर तमु, दीपक देवकोटा, भगवती तिवारी र समानुपातिकतर्फ नरबहादुर गुरुङ, मुक्ति विक, अनिता भुजेल, पूर्णकुमारी कँडेलको नाम प्रस्ताव गरिएको छ ।

प्रदेशले यी नाम हेरेपछि केन्द्रमा पठाउने र केन्द्रले कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउने जिल्ला इन्चार्ज चूडामणि खड्काले जानकारी दिए ।