दशैंका लागि भित्र्याइएका मरेका खसीबोका नागढुंगामा बरामद

दशैंका लागि भित्र्याइएका मरेका खसीबोका नागढुंगामा बरामद


मरेका खसीबोका आपूर्ति गर्ने गिरोह दशैंको अवसर पारेर पुनः सक्रिय भएको पाइएको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले आज २८ वटा मरेका खसीबोका बरामद गरेपछि धन्दा जारी रहेको खुलासा भएको हो ।

केही महनिाअघि प्रहरीले नागढुंगामा सक्रियता बढाउँदा मरेका खसीबोका सहित व्यवसायीहरु पक्राउ परेका थिए । तर, तिनलाई खासै कारवाही नहुँदा यस्ता जघन्य अपराध गर्नेहरु उत्साहित रहँदै आएका छन् ।

महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले आज बिहान जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको मरेका खसीबोका फेला पारेको हो । प्रभागले मरेका खसीबोकासहित सवारी चालक युवराज पोखरेल, सहचालक दिपेश ढुंगाना र राजु बगालेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले ४१ वटा खसीबोका ल्याउँदै गरेकामा २८ वटा मरेको फेला पारेको जानकारी दिए । दशैँ शुरु भएसँगै पशुपक्षी विकास मन्त्रालयले समेत अनुगमन बढाएको छ । पशुपक्षी विकासमन्त्री सन्तकुमार थारु र राज्यमन्त्री गोमा कुँवरसहितको टोलीले आजै
कलंकीस्थित खसीबजारको निरीक्षण गरेका पनि बुझिएको छ ।

विडम्बना के छ भने पशुपक्षी ऐन २०५५ र नियमावली २०५६ अनुसार मरेका खसीबोका ओसारपसार तथा बिक्री वितरण गरे प्रतिखसीबोका रु ५०० देखि ५००० जरिवाना गर्ने व्यवस्था छ । कम जरिवानाका कारण यस्तो धन्दामा संलग्नहरु कारवाहीमा परेर पनि निरुत्साहित नभएको पाइएको छ ।