राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना


राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको सङ्कल्पसहित शीतलनिवासमा घटस्थापना गर्नुभयो ।

राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी जीवनका लागि पूजासहित जमरा राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बिहान ९ बजेर ४१ को शुभ साइतमा नवदुर्गाको प्रतीकका रुपमा कलश स्थापना गरी दियो र गणेशका पूजा गरेर राष्ट्रपति भण्डारीले जौ (यव) छर्नुभएको उहाँका सञ्चारविज्ञ माधव शर्माले राससलाई जानकारी दिनुभयो ।

आज छरिएको जमरा विजयादशीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट ग्रहण गरिने परम्परा रहिआएको छ ।

यसै अवसरमा आज हनुमानढोकाको दशैँ घरमा राज्यका तर्फबाट वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापनासहित जमरा राखिएको छ । दशैँ घरमा विधिपूर्वक बिहान ९ बजेर ४१ को शुभसाइतमा जमरा राखिएको हनुमानढोका दरबार हेरचाह अड्डाका पण्डित देवराज अर्यालले राससलाई जानकारी दिनुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा जुराएको थियो ।

प्रत्येक दिन बिहान दुर्गा सप्तशती चण्डी, देवीभागवत्लगायत देवी स्तोत्र पाठ गरी दुर्गा भवानीको प्रतीकका रुपमा घडा थापिएको स्थलमा विजयादशमीसम्म बिहान–बेलुका पूजा एवम् आरती गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि विधिवत् रुपमा नेपालीको महान् चाड दशैँ शुरु हुन्छ । घटस्थापनाका अवसरमा आज घर–घरमा जौ अथवा आफ्नो कुल परम्पराअनुसार गहुँ, मकैलगायत विभिन्न बीज छरेर जमरा राखिएको छ ।

यसैगरी विभिन्न शक्तिपीठमा पनि घटस्थापनासहित जमरा राखियो । दुर्गा पक्ष शुरु भएपछि उपत्यकालगायत देशभरका शक्तिपीठमा दर्शन गर्न भक्तजनको भीड लागेको छ । वर्षमा पर्ने चारवटा नवरात्रमध्ये शारदीय नवरात्रलाई नेपालमा महान् पर्वका रुपमा मनाउने गरिन्छ । हरेक तीन महिनामा नवरात्र पर्छ ।