‘चुनावी सुरक्षा’ रणनीति बनाउँदै गृह !

‘चुनावी सुरक्षा’ रणनीति बनाउँदै गृह !


गृहमन्त्रालय प्रतिनिधि र प्रदेश सभा चुनावको सुरक्षा रणनीतिमा जुटेको छ । स्थानीय तह निर्वाचन सकिएलगत्तै गृहमन्त्रालय प्रदेश सभा चुनावी रणनीतिमा जुटेको हो ।

गृह स्रोतले भन्यो,‘स्थानीय तहको निर्वाचन सकिएलगत्तै मन्त्रालय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरक्षा योजना बनाउन जुटेको छ ।’

गृहमन्त्री जनार्दन शर्माले ६ वटा प्रदेशका प्रमुखलाई आफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी दिन निर्देशन दिइसकेका छन् । प्रदेश २ को मतगणना सकिएपछि सो प्रदेशको प्रहरी प्रमुखले पनि आफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे मन्त्रालयमा जानकारी दिनेछन् ।

स्रोतका अनुसार, सरकारले आगामी १० र २१ मंसिरमा दुवै निर्वाचन एकैपटक तर दुई चरणमा हुने घोषणा गरेसँगै मन्त्रालयले मातहत निकायका सुरक्षाकर्मीहरूलाई आफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी गराउन निर्देशन दिइसकेको छ ।

गृह मन्त्रालयले निर्वाचनलाई केन्द्रित गरेर सातवटै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी कायम गरी पठाइसकेको छ ।

उनीहरूले आफ्नो क्षेत्रको जिम्मेवारी सम्हालेर मातहत निकायबाटे सुरक्षा अवस्थाबारे ब्रिफ्रिङ लिने कार्य जारी राखेका छन् ।

निर्वाचनलाई नै केन्द्रित गरी सशस्त्र प्रहरीलाई पनि सातवटै प्रदेशमा एआईजीको दरबन्दी कायम गर्ने तयारी गरेको छ ।

नेपाली सेनाले यसअघि नै सातवटा प्रदेशमा पृतनापतिको व्यवस्था गरिसकेको छ । पछिल्लो पृतना प्रदेश २ स्थित धनुषाको भिमानमा स्थापना भइसकेको छ । यसरी सरकारले सुरक्षा व्यवस्थालाई कडा बनाउने तयारीमा जुटेको हो ।

गृह मन्त्रालयका अनुसार मन्त्रालयले स्थानीय तह चुनावका निम्ति यसअघि बनाएको चुनावी सुरक्षा रणनीति सफल भएको निश्कर्ष समेत निकालिएको छ ।