देश त देउवा चलाउँछन्, देउवालाई चाहिँ कसले चलाउँछन् ?

देश त देउवा चलाउँछन्, देउवालाई चाहिँ कसले चलाउँछन् ?


कार्यकारी प्रमुख भएका नाताले यो देश यतिबेला डडेलधुराबाट विजयी सांसद शेरबहादुर देउवाले चलाइरहेको सबैले देखेका छन् । यदि देश चलिरहेको छ भने त्यसको जश (क्रेडिट) पनि देउवालाई नै दिनुपर्ने हुन्छ । तर, देउवा स्वयमलाई चाहिँ क–कसले चलाइरहेका छन् भन्ने आमचासोको विषय हो ।

शेरबहादुर देउवा तिनलाई मात्र निकट राख्छन् जसको कुनै न कुनै उपयोगिता रहन्छ । प्रयोजन सकिएपछि फरक व्यवहार गर्ने हुनाले काङ्गे्रसभित्र उनलाई एक मतलबी नेताका रूपमा लिइन्छ । त्यसैले देउवाको निकट कतिबेला को हुन्छन् र कतिबेला को, त्यसको अनुमान गर्न पनि मुस्किल हुन्छ । कामको मानिसजस्तो लाग्यो भने धेरै निकटको जस्तो व्यवहार गर्ने र काम सकिएपछि चिन्दै नचिनेझैँ गर्न सक्ने ‘खुबी’ पनि देउवामा छ । तर, पछिल्लो दुई दशकयता देउवाले नगद र सत्तापे्रमी व्यवहार देखाउन थालेयता उनको निकट को–को छन् भनेर सोझै अनुमान गर्न सकिने स्थिति बनेको छ ।

विभिन्न शक्तिकेन्द्रसँग सम्बन्ध–सम्पर्क बनाउन सक्ने र नातामा श्रीमती पर्ने भएकोले शेरबहादुर देउवालाई चलाउने पहिलो व्यक्तिको रूपमा आरजु राणालाई लिइन्छ । देउवाको उत्तराधिकारी बन्ने तीव्र महत्वाकाङ्क्षा बोकेकी आरजुको ‘पश्चिम कनेक्सन’ मजबुत भए पनि पछिल्लो समयमा दक्षिणलाई सन्तुलन गर्नसमेत उनी सफल भएको मानिन्छ । नगद सङ्ग्रहमा समेत ‘प्रथम’ मानिने हुँदा उनको बाह्य छवि सकारात्मक देखिँदैन, तथापि आरजुलाई एक ‘क्षमतावान’ महिला मानिन्छ र उनी शेरबहादुर देउवालाई हरतरहले चलाउने व्यक्तिको रूपमा पर्दछिन् ।

देउवालाई चलाउने दोस्रो व्यक्तिको रूपमा विमलेन्द्र निधिलाई लिइन्छ । योग्य, क्षमतावान् र इमानदार ठानेर देउवाले निधिलाई आफ्नो निकट राखेको ठानिँदैन । निधिको दक्षिण कनेक्सनलाई आफ्नो पक्षमा उपयोग गरिरहनका लागि उनले निधिलाई यथेष्ट ‘एक्सेस’ दिएको स्पष्ट बुझिन्छ । आफ्नो सबै कमजोरीहरूबारे जानकार भएकोले पनि निधि आफूबाट टाढा नहुन् भन्ने चाहना देउवामा रहेको देखिन्छ । कारण अनेक छन् र कारण जे सुकै भए पनि अहिले देउवालाई चलाउने दोस्रो व्यक्तिको रूपमा विमलेन्द्र निधिलाई लिइन्छ ।

देउवालाई चलाउने अन्य व्यक्तिहरूमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा नेताहरू डा. प्रकाशशरण महत, रमेश लेखक र बालकृष्ण खाणको नाम लिने गरिन्छ । तर, देउवालाई चलाउने तेस्रो व्यक्तिचाहिँ रमेश लेखक भएको बुझिन्छ । कार्की, महत र खाण अत्यन्तै निकट हुँदाहुँदै पनि लेखकमाथि देउवा अलिक बढी नै भरोसा राख्ने गर्दछन् । सामान्यतया देउवा अलिक क्षमतावान मानिसप्रति सशङ्कित हुने गर्दछन्, तर लेखक क्षमतावान हुँदाहुँदै पनि देउवाको अधिक प्रिय र भरोसायोग्य व्यक्ति बन्न सफल भएका छन् । त्यसैले देउवालाई चलाउने तेस्रो व्यक्तिका रूपमा रमेश लेखकको नाम परेको हो ।

तथापि डा. महत, कार्की र खाणले भनेको देउवाले सुन्दै नसुन्ने भन्नेचाहिँ होइन । युवा नेताहरू एनपी साउद र विश्वप्रकाश शर्माले भनेका कुरालाई पनि देउवाले केही न केही सुन्ने गर्दछन् । देउवालाई चलाउने व्यक्तिका रूपमा उमेश श्रेष्ठ र अनिल रुङ्टाको नाम पनि लिन थालिएको छ । व्यापारिक पृष्ठभूमिका दुवैजना समानुपातिक सांसद हुन् र उनीहरू ‘व्यापारीहरूको संसार’सँग देउवालाई जोड्ने मुख्य पात्रका रूपमा चिनिन थालेका छन् । कतिपयले त देउवालाई चलाउने नै रुङ्टा र श्रेष्ठ हुन् भन्ने पनि ठानेका छन् । वास्तवमा उनीहरूलाई अपारदर्शी कामका लागि देउवाले नै उपयोग गरिरहेका हुन् । देउवाबाट उनीहरूले पाएको समानुपातिकतर्फको सांसद पद मात्र हो, उनीहरूबाट देउवाले के–के पाए, त्यसको विवरण पनि समयाक्रममा खुल्ने विश्वास गरिएको छ ।


तस्बिर : गुगल