पाँच सय मिटरको विवादले चीन जोडिने सडक निर्माण अलपत्र

पाँच सय मिटरको विवादले चीन जोडिने सडक निर्माण अलपत्र


– मुक्तिनाथ भुसाल (अर्घाखाँची)

राष्ट्रिय महत्व बोकेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक लामो समयदेखि अर्घाखाँचीमा रोकिँदा करोडौँको लगानी मात्र धरापमा नपरी सेवा उपभोग गर्नबाट आमनागरिक वञ्चित समेत हुनुपरेको छ ।

रूपन्देहीको सालझन्डीदेखि पाल्पाको खुर्साने हुँदै अर्घाखाँचीको सन्धिखर्क सदरमुकाम चुत्राबेंसी बजारमा पुगेपछि स्थानीय विवादका कारण विगत ७ बर्षदेखि सडक निर्माण ठप्प अवस्थामा छ । ढोरपाटन सडकका लागि सदरमुकामभित्रैको गच्छेखोलामा करिव तीन करोड बजेटमा पक्की पुल निर्माण सम्पन्न हुनुका साथै ठुलै धनराशीमा पर्खालहरू पनि निर्माणाधीन अवस्थामा रहेका छन् ।

आर्थिक वर्ष ०६७/६८ मा तीन करोड रुपैयाँबाट ट्रयाक खोल्ने कार्य शुरु भएको यो सडकखन्डले ०६८/६९ मा १० करोड ८३ लाख, ०६९/७० मा ८ करोड ८२ लाख ५० हजार, ०७०/७१ मा १६ करोड गरी प्रत्येक आर्थिक वर्ष बढोत्तरीमा मोटै रकम प्राप्त गरिरहेको छ । तर, चुत्रावेशी बजारमा ५ सय मिटर खण्डको विवादले सदरमुकामकै गच्छेबजारदेखि करिव दुई किलोमिटर सडक विस्तार हुन सकेको छैन ।

ट्रयाक र ग्राभेलको जिम्मा पाएका ठेकेदार कम्पनीहरू काम गर्न वर्षौंदेखि आतुर भए पनि समस्याको गाँठो नफुकाउँदा बजारमा बसोवास गर्नेहरूले समेत ढोरपाटन सडक कुन चरीको नाम हो, देख्न पाएका छैनन् ।

ज्ञातव्य छ, ढोरपाटन तथा आसपासको क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले समेत उत्तिकै महत्वपूर्ण मानिन्छ । उत्तरगंगा, रुद्रताल, मैकुट अनि सुनदह त्यहाँका प्रसिद्ध धार्मिक स्थलहरू हुन् । ढोरपाटन सिकार आरक्ष कार्यालयबाट अगाडि पाँच सय ५० रोपनी जमिनमा एयरपोर्ट रहनुको साथै दाहिनेतर्फ प्रहरी चौकी र बायाँतर्फ ३५ घरधुरीमा तिब्बतीयन शरणार्थी बसोबास गर्दै आइरहेका छन् ।

यसरी, भविष्यमा नेपाललाई उत्तर छिमेकी चीनसम्म जोड्ने अभिप्रायका साथ सुरुवात गरिएको सालझन्डीदेखि बाग्लुङको बोवाङमा रहेको बहुचर्चित ढोरपाटनसम्म पुग्ने सडक अर्घाखाँचीको सदरमुकाममा रोक्किनु र समस्या समधान नगरिनुले सडक अभिभावकविहीन बनेको छ । यस सडकको समस्यालाई तुरुन्तै समधान गर्ने नारा बनाएर सन्धिखर्क नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र र विवादास्पद वडाबाट नेकपा एमालेले विजय हासिल गरेको छ ।

जनप्रतिनिधीहरुले विजयको ध्वजा फहराएको करिव तीन महिना बितिसक्दा पनि काम गर्ने जिम्मा पाएका ठेकेदारहरू रनभुल्ल परि नगरपालिकाबाट बाहिरिएका सेवाग्रहीहरुलाई सडकको समस्या समधानका लागि केहि नयाँ समाचार छ कि भनेर सोध्नुपर्ने अवस्थामा छन् ।

उता कहिले समस्या समाधान होला र ढोरपाटन सडकको सौन्दर्य पान गर्न पाइएला भन्ने आशामा रहेका स्थानीयहरू यो त साँच्चीकै नहुने खेलो रहेछ कि भन्ने आशङ्का गर्न थालेका छन् । जम्मा ५ सय मिटरको विवादलाई तत्काल मिलाउन नसके पनि गच्छेबजारदेखि चुत्रावेशी पुलको मुखसम्म भएपनि तत्कालै सडक सुधार गर्ने हो भने भविष्यमा ढोरपाटन सडकलाई काम नदिए पनि बजारवासीलाई लाभ पुग्नेतर्फ बेलैमा ध्यान जानु उपयुक्त देखिन्छ ।

राज्यको ठुलो धनराशी खर्च भइसकेको यो महत्वपूर्ण सडकको समस्या निकासका लागि जनप्रतिनिधिहरू जुमुर्राउनु जरुरी देखिन्छ । कर्मचारीलाई कजाउने प्रमुख जिम्मेवारी जनप्रतिनिधीहरूको काँधमा आएको भन्दै स्थानीय विवाद समाधान गरी सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनालाई सीघ्र सम्पन्न गर्नेतर्फ लाग्न जनप्रतिनिधिहरूलाई स्थानीय सरोकारवाला नागरिक तप्काले आग्रह गरेको छ ।

?