विकासविरुद्ध व्यवसायी सडकमा

विकासविरुद्ध व्यवसायी सडकमा


– रेजिना गौतम (झापा)

सडक अतिक्रमण गरेर सवारी पार्किङ गर्ने क्रम बढेपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको निर्देशन, संघीय इकाई प्रहरी कार्यालय मेची, बिर्तामोड नगरपालिका, सडक विभाग र जिल्ला ट्राफिक प्रहरी कार्यालले सडक विस्तारको कामलाई अघि बढाए । तर, पूर्वकै ब्यपारिक केन्द्र झापाको बिर्तामोडमा नगरपालिकाले सडक विस्तार गर्न सुरु गरेपछि ब्यवसायीहरु विरोधमै उत्रिएका छन् ।

विर्तामोडको मुख्य केन्द्रबिन्दु मुक्तिचोकबाट नजिकै रहेको हनुमान सेन्ट्रल, तथा अन्य स्थानका सडक किनारमा सवारी पार्किङ गर्न पाउनुपर्छ भन्दै ब्यवसायीले विकास निर्माण कार्यको थालनीमै विरोध गर्दै सडकमै उत्रिएका हुन् ।

सडकको भाग ८२ फुट बाटो क्लियर गर्दा सडकमा उत्रिएका ब्यवसायीले सडकमा हिजो बुधबार पनि एक घण्टा मुक्ति चोक बन्द गर्दै विकासको विरोध गरे । तर व्यवसायी तथा व्यापारीले विकासविरोधी रबैया देखाएको भन्दै सर्वसाधारणले चाहिँ असन्तुष्टि व्यक्त गरेका छन् ।

सडक बन्द गराएर सडकमा उत्रिए पनि प्रशासनले हस्तक्षेप गर्र्ने संकेत देखाएको थियो । उक्त संकेत पाएलगत्तै बन्दकर्ताहरूले वार्तामार्फत चारबुँदे सहमति गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा भएको वार्तामा स्थानीय प्रशासन, जनप्रतिनिधि र ब्यवसायीबीच सडक किनारबाट १० फिट सडक छाडेर सवारी पार्किङ गर्ने, विर्तामोड नगरपालिकाले दशैं–तिहारपछि मात्रै विर्तामोड क्षेत्रको सडक ब्यवस्थापन शुरु गर्ने, शनिश्चरे रोडको किनारमा ५ फुट रिङ बनाई मोटरसाइकल पार्किङ स्थल बनाउने लगायतका सहमति भएको उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष कुमार भट्टराईले जानकारी दिए ।

वार्तामा विर्तामोड नगरपालिकाका वडानम्बर ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देन, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, निर्वमान अध्यक्ष बलराम कार्की लगायत केही ब्यवसायीहरुको सहभागिता रहेको थियो ।