बाबुरामका भोटर भाँड्न प्रचण्डको पहल

बाबुरामका भोटर भाँड्न प्रचण्डको पहल


माओवादीले क्रान्ति छोडेको छ कि जारी राखेको छ, यो कुरा जनयुद्ध विसर्जनपछि घर न घाटका भएर अरबको मरुभूमितिर पसिना बगाउन पुगेका पूर्वलडाकाहरुलाई बढ्ता थाहा होला । केही मात्रामा यता विप्लव र वैद्यहरुको छहारी लिएर क्रान्तिकै रापमा रहेको भ्रम पाल्दै बसेका माओवादी कार्यकर्तालाई पनि जानकारी होला । सबभन्दा बढीचाहिँ स्वयम प्रचण्ड जानकार छन्- उनको पार्टीले क्रान्ति छाड्यो कि समाइरहेको छ ?

तर, सत्य लुकाएर झुठलाई पनि सत्य जस्तै गरी भ्रम दिन खप्पिस नेताको पहिचान कायम गरेका प्रचण्डले माओवादी केन्द्रले क्रान्ति नछोडेको दाबी गरेका छन् ।

जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आए पनि माओवादीले क्रान्ति नछाडेको भन्दै उनी बुधबार गोरखा नगरपालिकास्थित दशकिलोमा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कार्यकर्तामाझ प्रस्तुत भए । प्रशिक्षकको भूमिकामा उपस्थित प्रचण्डले विचार र कार्यदिशामा प्रष्टता नहुँदा माओवादीले जनताबाट भोट तान्न नसकेको तर्क गरेर उपस्थित कार्यकर्तालाई हेरेकोहेऱ्यै पारे ।

जनयुद्धताका के गर्ने-कसो गर्ने भन्ने स्पष्ट थियो, तर शान्तिप्रक्रियापछि रुमलिएको जस्तो अवस्था आइपरेको भन्दै उनले पार्टी र नेता बिग्रिएका हुन् कि कार्यकर्ता अल्छी भएका हुन् खोजीकै विषय बनेको तर्क गरे । शान्ति प्रक्रियापछि प्रतिक्रियावादीले माओवादी पार्टीलाई फुटाएको आरोप लगाउँदै प्रचण्डले नेता, कार्यकर्तामा जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आउनु हुन्थ्यो वा हुँदैनथ्यो भन्ने भ्रम बाँकी रहेको धारणा राखे ।

यसबारे प्रष्ट्याउने प्रयत्न गर्दै उनले माओवादीले क्रान्ति नछाडेको बरु शान्तिप्रक्रियामा आउनु ठिक हो वा होइन भन्ने ‘कन्फ्युजन’ कायम रहेकोले विभिन्न भ्रम बाँकी रहेको तर्क गरे । जनयुद्ध जारी राखेको भए पेरुका कम्युनिष्टझैँ समाप्त होइने थियो भन्दै उनले बन्दुक बिसाएर ठिक गरिएको बताए ।

प्रशिक्षणको क्रममा उनले बाबुराम भट्टराईले माक्र्सवाद छोडेकोले उनको क्षेत्रमा कट्टर माक्र्सवादी उठाएर चुनावमा जिताइदिने भन्दै कार्यकर्ता तताउने प्रयत्न गरे । उक्त प्रशिक्षणमा सहभागी एक माओवादी केन्द्रसम्बद्ध कार्यकर्ताका अनुसार उनको यो प्रशिक्षण कार्यक्रम बाबुराम भट्टराईलाई गोरखामै हराउने उद्देश्यले आयोजना गरिएको उपस्थित कार्यकर्ताले प्रष्टै अनुभूति गरेका थिए ।