बाबुराम–प्रचण्ड र भारतीय खुफिया प्रमुखबीचको गोप्य भेटघाट

बाबुराम–प्रचण्ड र भारतीय खुफिया प्रमुखबीचको गोप्य भेटघाट


– रवीन्द्र श्रेष्ठ

भारतीय सरकारलाई भारतीय विस्तारवाद भनेर प्रचण्ड–बाबुराम दुबैले सयौँ लेख, दस्तावेज लेखे । यी दुबैले ‘भारतीय विस्तारवाद–मुर्दावाद’ भनेर पार्टीका बैठक सम्मेलनहरूमा सयौँ पटक नारा पनि लगाए । भारतीय सरकारलाई जनयुद्धको दुश्मन शक्ति भनेर किटानीका साथ प्रचण्ड बाबुुराम दुबैले लेखेको तथ्य इतिहास साक्षी छ । तर जनयुद्धको उत्कर्षको बेलामा पुगेर भारतीय गुप्तचर एजेन्सी ‘रअ’ (आरएडब्लु) का प्रमुखसँग पहिला बाबुरामले र पछि प्रचण्डले गोप्य रूपमा भेटघाट गरेको कुरा हामी केन्द्रिय सदस्यहरूलाई पनि शुरुमा थाहा भएन र पछि थाहा पाउँदा पनि शुरुमा पत्याउन गारो भयो ।

दश वर्षको जनयुद्धमा करिव नौ वर्ष प्रचण्ड र बाबुराम भारतमै बसे । बीच–बीचमा नेपाल आउने–जाने क्रम जारी रह्यो । नेपालको जनयुद्धलाई शुरुमा नेपाल, भारत तथा अन्य देशका सरकारहरूले गम्भीरता साथ लिएका थिएनन् र केही दिन वा महिनाभित्र समाप्त पारिन सकिने मामिलाको रुपमा लिए । जनयुद्धका सुरुवातका दिनहरूमा भारतमा नेताहरूको बसाईं त्यति कठिन भएन । भारत सरकारले नेपाली माओवादीहरूलाई भारतमा गिरफ्तार गर्ने क्रमको शुरुवात गरेपछि भने प्रचण्ड बाबुरामहरूलाई भारतमा बस्न पनि अप्ठेरो हुन थाल्यो । २०५९ असार २७ गते दिल्लीबाट राम कार्की (जनयुद्धको समापनपछि सञ्चारमन्त्री भएका) लगायत केही माओवादी नेताहरूलाई भारत सरकारले गिरफ्तार गर्‍यो र भोलीपल्टै नेपाल सरकारलाई सुपुर्दगी गरिदियो । यस घटनाले भारतमा लुकेर बसेका प्रचण्ड–बाबुराम लगायतका माओवादी नेताहरूबीच ठुलो हल्लीखल्ली भयो । अब आफूहरूलाई पनि भारत सरकारले गिरफ्तार गरेर नेपाल सरकारलाई बुझाइदिने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताउन थाल्यो ।

दिल्लीमा केही माओवादी नेताहरू गिरफ्तार भएको बेला नेपालमा देउवा सरकार थियो । देउवाले भारत सरकारसमक्ष माओवादी जनयुद्ध दबाउन सहयोग माग्दै विभिन्न चरणमा वार्ता छलफल गरिरहेको थियो । नेपाली कांग्रेस फुटाएर देउवाले नेका (प्रजातान्त्रिक) बनाईसकेका थिए । देउवाले संसद भङ्ग गरी मध्यावधि चुनाव घोषणा पनि गरिसकेका थिए । दलहरू बीचको झगडा चरम सीमामा पुगिसकेको थियो । यही समयमा ज्ञानेन्द्र पनि प्रत्यक्ष सत्ता लिन खेल्दै थिए भने भारतले पनि यहि बेलामा दलहरू बीचको झगडाबाट फाइदा लिन अनेक जालझेल गर्न शुरु गरिसकेको थियो । यसैको एक कडीको रूपमा भारत सरकारले केही माओवादी नेताहरूलाई दिल्लीबाट गिरफ्तार गरी नेपाल सरकारलाई बुझाइदियो । यसबाट भारत सरकारले एउटै तीरले दुईतिर शिकार गर्न खोजेको थियो, माओवादी नेताहरूलाई भारतको पक्षमा आउन दबाब दिने र देउवा तथा नेपालका राजनैतिक दलहरूलाई पनि जनयुद्ध दबाउन भारतले सहयोग गर्न सक्ने आश्वासन दिएर आफ्नो पक्षमा ल्याउने । त्यो बेला देउवालाई अमेरिका नजिक मानिन्थ्यो ।

केही माओवादी नेताहरूलाई दिल्लीमा गिरफ्तार गरी नेपाल बुझाइदिएको घटनाले बाबुरामको सातो गएछ । त्यसको केही दिनमा नै बाबुरामले भारतीय गुप्तचर एजेन्सी ‘रअ’का प्रमुखलाई भेटेका रहेछन् र त्यसपछि उनीहरूको नियमित भेटघाट सुरु भएको रहेछ । यस भेटघाटलाई राजनैतिक कभर दिन बाबुरामले प्रचण्डसँग भारतीय सरकारसँग दुश्मनी गरेर भारतमा बस्न सकिन्न, भारत सरकारलाई नेपालको जनयुद्धमा हस्तक्षेप नगरोस् भनेर वार्ता गर्न प¥यो भनि राजनैतिक तर्क–कुतर्क गर्न थालेछन् । प्रचण्डको पनि दिल्लीमा केही माओवादी नेताहरूको गिरफ्तारी र नेपाल बुझाइ दिएको घटनाले सातो गैसकेको थियो । प्र्रचण्डले भारत सरकारसँग कुरा गर्ने जिम्मा बाबुरामलाई नै दिएछन् । त्यही आडमा बाबुरामले भारत सरकारका प्रतिनिधि भन्दै गुप्तचर प्रमुखसँग सहज तरिकाले भेटघाट गर्न थालेछन् । यसको कभरको रुपमा आफ्ना गुरु एसडी मुनीमार्फत प्रधानमन्त्री कार्यालयका प्रतिनिधिसँग भेटघाट गरेको भन्ने गरेका रहेछन् बाबुरामले । बाबुराम र भारतीय गुप्तचर प्रमुखबीच भएको यही भेटघाट श्रृङ्खला नै नेपालको इतिहासमा गम्भीर उथलपुथलको बनाउन र नेपालमा भारतीय प्रभुत्व नयाँ ढङ्गले फैलाउन भूमिका खेलेको एक प्रमुख कडी बनेको छ । बाबुरामको दक्षिणपन्थी आत्मसमर्पणवादको शुरुवात पनि यसै घटनाबाट भएको देखिन्छ ।

केही समयपछि बाबुरामले ‘भारतीय गुप्तचर प्रमुखले मलाई भेट्न खोजेका छन्, के गर्ने ?’ भनेर प्रचण्डलाई भनेछन् । प्रचण्डले पनि ‘भेट्नुस् न’ भनेछन् । यसरी गुप्तचर प्रमुखसंग बाबुरामको भेटघाटलाई वैधानिक बनाएछन् । तर यो खालको भेटघाटलाई प्रचण्ड बाबुराम वैद्य र वादल तथा केही केन्द्रिय नेताहरू बीच मात्र सीमित राखेछन् । बाबुरामले प्रचण्डलाई ती गुप्चचर प्रमुखमार्फत भारतीय प्रधानमन्त्री समक्ष कुरा पुगेको र तत्काल आफुहरूलाई भारत सरकारले गिरफ्तार नगर्ने जानकारी दिएको वताएछन् । त्यसपछि साथीहरूले नेपाल भित्रै आउन दिएको सल्लाह नमानी प्रचण्ड बाबुरामहरू भारतमै सेल्टर लिएर वसे । तर ०६० साल भाद्र ३ गते चेन्नइ विमानस्थलवाट माओवादी नेता सिपी गजुरेल गिरफ्तार भए । प्रचण्डले कुरा बुझ्न बाबुरामलाई ती भारतीय गुप्तचर प्रमुखलाई भेट्न पठाए । उताबाट खवर आएछ कि सो गिरफ्तारी भारत सरकारको योजनामा भएको होइन, वरु गजुरेलको पासपोर्ट नक्कली भएकोले चेकजाँचमा परेर परिस्थितिजन्य कारणले गिरफ्तार भएका हुन् ।

प्रचण्डले भेट्न बोलाएकोले यस पंक्तिकार त्यसैबेला दिल्ली पुगेको थिएँ । यस पंक्तिकारले प्रचण्डलाई अब भारतमा नेताहरू बस्नु भएन, नेपालमै हेडक्वाटर सार्न प¥यो भन्दा बाबुरामजीले भारत सरकारका प्रतिनिधिसंग कुरा गर्नुभएको र नक्कली पासपोर्टको कारण गजुरेलजी पक्राउ पर्नुभएको तथा भारतीय सरकारको योजनामा पक्राउ नभएको जानकारी दिएको कुरा प्रचण्डले यस पंक्तिकारलाई बताएका थिए । तर त्यो बेला भारतीय सरकारका कुन तहको कस्ता प्रतिनिधिलाई बाबुरामले भेटेको भनेर सोधिएन, त्यस्तो सोध्ने चलन पनि थिएन । भारत सरकारले अहिले गिरफ्तार गर्दैन भन्नेमा प्रचण्ड ढुक्क रहेछन् । केही समय त्यस्तो गिरफ्तारी भारतमा भएन पनि ।

तर ०६० माघ २५ गते दिल्लीबाटै माओवादी नेताहरू मातृका यादव र सुरेश आलेमगरलाई भारत सरकारले गिरफ्तार गरि भोलीपल्टै नेपाल सरकारलाई बुझाइदिएपछि भने स्थितिले कोल्टे फेऱ्यो । त्यस घटनापछि भने बाबुरामको भारतीय गुप्तचर प्रमुखसँग भेटघाट भैरहेको र पार्टी हेडक्वाटर अर्थात प्रचण्डविरुद्ध ठुलो षदयन्त्र भैरहेको कुरा यस पंक्तिकार लगायत प्रचण्डका अरु विश्वासपात्र केन्द्रिय सदस्यहरूलाइ प्रचण्ड स्वयमले बताउन थाले ।

(बाँकी अर्को श्रृंखलामा)