दुगडलाई किन पक्राउ गर्न सक्दैन् सरकार ?

दुगडलाई किन पक्राउ गर्न सक्दैन् सरकार ?


–रोशन कार्की

जनस्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरि गुणस्तहिन खाद्य बस्तु र पेयपदार्थको उत्पादन गरेर उपभोक्तामाथी खेलवाड गरेको आरोपमा पक्राउ पुर्जी जाररी भएपनि अहिलसमेत दुगड ग्रुपका सञ्चालकहरुलाई सरकारले पक्राउ गर्न सकेको छैन् । लामो समयदेखि जनस्वास्थ्यमा खेलवाड गर्दै आएको सो समुह प्रहरीको सूचीमा ‘फरार’ उल्लेख भएपनि उनीहरु उच्च सरकारी कर्मचारी र राजनीतिक दलको संरक्षणमा पक्राउ गर्नबाट रोकिएको आरोप समेत लागेको छ ।

म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा अघि बढाएको भएपनि उनीहरु पक्राउ पर्न सकेको छैन । कम्पनीका ११ जनाविरुद्ध २३ करोड ठगी तथा कालोबजारी गरेको मुद्दामा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएपछि सो समुहलाई जोगाउन सरकारी उच्च पदस्थ कर्मचारी लागि परेको समेत समाचार गोप्यरुपमा प्राप्त भएको छ ।

प्रहरीले २३ करोड रुपैयाँको विगो दाबी गर्दै मुद्दा दायर गर्न सरकारी बकिलको कार्यालयमा प्रतिबेदन बुझाएपछि साहीबराबरको रकम खर्च गरेर भएपनि मुद्दालाई ‘पेण्डिङ’ बनाउन र विस्तारै उन्मुक्ति दिनकालागि ‘लविङ’ समेत सुरु गरिएको छ । कम्पनीबाट २३ करोड रुपैयाँ बराबरको म्याद गुज्रिएको फ्रुटी तथा कच्चा पदार्थ बरामद भएकाले सोहीअनुसारको बिगो बनाई रायसहित सरकारी वकिल कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

कम्पनीका मुख्य सञ्चालक मालचन दुगडसहितलाई ठगी र कालोबजारी ऐनअनुसार मुद्दा चलाउन प्रहरीले रायसहित अनुसन्धान प्रतिवेदन बुझाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा १२ भदौमा कम्पनीको सतंगुलस्थित कार्यालयमा ठूलो परिणाममा म्याद गुज्रिएका कच्चा पदार्थबाट बनाइएको फ्रुटी बरामद गरेको थियो । मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने गरी कम्पनीले कुहिएका आँपको गुदीबाट फ्रुटी बनाउँदै आएको भेटिएको थियो ।

प्रहरीले कम्पनीका सञ्चालक मालचनकी श्रीमती सुरेन्द्रा, छोरा विवेक र छोरी श्रद्धाविरुद्ध समेत अभियोग अगाडि बढाएको छ । अहिलेसम्म उनीहरू चारैजना फरार रहेका छन् । मालचन र सुरेन्द्रा कम्पनी सञ्चालक हुन भने छोरा र छोरीको नाममा पनि कम्पनीको सेयर भएकाले उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।
कम्पनीका चारजना कर्मचारी भने प्रहरी हिरासतमै रहेका छन । फ्याक्ट्री मेनेजर प्रमोद मेहता, प्रबन्धक मदनबाबु पाण्डे, प्रोडक्ट मेनेजर ग्याप्रियल टिथापन र क्वालिटी मेनेजर शिवराज पोखरेल पक्राउ परिसकेका छन् । टिथापन भारतीय नागरिक हुन । कम्पनीका प्रमुख कार्यकारी अधिकृत ऋषि गाडिया पनि फरार छन । फ्याक्ट्री मेनेजर रोहती भट्टराई र क्वालिटी अफिसर जगदीश पाण्डेलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरू पनि फरार रहेका छन् ।

प्रहरीले अनुसन्धान गरेलगत्तै सञ्चालकहरू भारत छिरेका छन् । उनीहरूविरुद्ध अदालतमा ठगी मुद्दा तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कालोबजारी मुद्दा दायर गरिदै छ । दुवै मुद्दामा ५ वर्षसम्म कैद र बिगोबराबर जरिवाना हुने प्रावधान छ ।

कालोबजारी तथा ठगी मुद्दामा फरार केएल दुगड ग्रुपका सञ्चालकहरू किसनलाल दुडग, नरेश दुगड, कुमुद दुगड र विकास दुगडलगायतका अभियुक्त पक्राउ गर्न सादा पोसाकमा विशेष संयन्त्र बनाई प्रहरी परिचालन गरिएपनि उनी अझै पक्राउ नपर्नुमा उच्च पदस्थ व्यक्तीको संरक्षण रहेको आरोप समेत लगाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दुगड गु्रपका सञ्चालकहरूलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरेको भएपनि उनीहरु भागेका कारण पक्राउ पर्न नसकेको प्रहरीले सबै संयन्त्रको प्रयोग गरी खोजी जारी राखेको जनाएको छ ।

केएल दुगड ग्रुपको सबै कारोबार नेपालमै भएकाले उसको आउजाउ हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उच्च सर्तकता अपनाएको समेत प्रहरीको दाबी रहेको छ । डेढ वर्षअघि काठमाडौं प्रहरी परिसरले केएल दुगड समूहको जडीबुटीस्थित गोदाममा बढी मूल्यमा बेच्न लुकाइराखेको चार ट्रकभन्दा बढी खाने तेल नियन्त्रणमा लिएर ९ करोडभन्दा बढी ठगी गरेको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतमा मुद्दा दायर भएपछि फरार चारैजना सञ्चालकविरुद्ध अदालतबाटै पक्राउ पुर्जी जारी भएको थियो । केएल दुगड ग्रुपले स्वस्तिक आयल इन्डस्ट्रिजले धारा, ज्ञान, सनफ्लावर, स्वस्तिकलगायत ब्रान्डमा तोरीको तेल उत्पादन गर्दै आएको छ । प्रहरीले कम्पनीका म्यानेजर अमन जैन र प्रमोद अधिकारीलाई पक्राउ गरी अदालतमा पठाए पनि उनीहरू धरौटीमा छुटेका थिए । अदालतमा नपुगेका मालिकहरू मात्रै यतिबेला फरारको सूचीमा छन् । कालोबजारी गरेर दुगड समूह बारम्बार विवादमा तानिँदै आएको छ । तर, अहिलेसम्म ठोस कारबाही गरेको छैन । दुगड समूहले खाने तेल, दाल, चामल मैदालगायत खाद्यन्नको उत्पादन र व्यापार गर्दै आएको छ ।

बजारमा आपूर्ति समस्या देखिन्छ, तब दुगड ग्रुप कालोबजारीमा सक्रिय हुने गरेको प्रहरीको भनाइ छ । तत्कालीन समयमा ९ करोड ९६ लाख १३ हजार ठगी गरेको आरोपमा मुद्दा दायर गरेको थियो । प्रहरीले १७ मंसिर २०७२ मा जडीबुटी डिपोमा छापा मार्दा तेल अधिक भण्डारण गरेको तथ्य फेला परेको थियो । प्रहरीले कालोबजारीका लागि भण्डारण गरिएको अवस्थामा त्यसबेला १ लाख ३५ हजार ९ सय ५० लिटर खाने तेल, ६० हजार लिटर वनस्पति घ्यु बरामद गरेको हो ।

दुगड ग्रुपका अन्य विभिन्न कम्पनीका सञ्चालकहरू किसनलाल दुगड, विकास दुगड, सौरभ दुगड, नरेश दुगड, कुमुद दुगड, चन्द्रीकाप्रसाद कुसवाह र लेखापाल रमाकान्त पारिक, धर्मचन्द्र दुगड, गौतम दुगड, प्रदीपकुमार छाणेज फरार रहेका छन् । प्रमाणका आधारमा बच्न सक्ने नदेखिएपछि सञ्चालक फरार भई मुद्दा कमजोर पार्ने र विभिन्न शक्तिकेन्द्रमा पुगेर आर्थिक प्रलोभनसहित उन्मुक्ति दिन धाई रहेको स्रोतको दाबी रहेको छ ।