बैतडीमा भाइरल ज्वरो नियन्त्रणमा आउँदै

बैतडीमा भाइरल ज्वरो नियन्त्रणमा आउँदै


केही दिनयता बैतडीमा भाइरल ज्वरोका बिरामीको संख्या घट्दै गएको स्वास्थ्य संस्थाले जनाएका छन् । जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र मेलौली प्राथमिक स्वास्थ्य केन्द्रलगायतका स्वास्थ्य संस्थामा बिरामीको संख्या घट्दै गएका हुन् । भदौ तेस्रो सातासम्म दैनिक १०० बिरामी उपचारका लागि जिल्ला अस्पताल बैतडीमा आउने गरेका थिए भने आजभोलि दिनहुँ ५० देखि ६० जना मात्र बिरामी आउने गरेका छन् । पछिल्लो समयमा भाइरल ज्वरोका बिरामीको संख्या घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो ।

यस्तै, पुर्चौडी नगरपालिकामा पनि भाइरल ज्वारोका बिरामीको चाप घट्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । भदौ दोस्रो सातासम्म दैनिक ६० जना बिरामी उपचारका लागि आउने गरेकोमा हाल दैनिक १० देखि २० जनासम्म आउने गरेका हाट स्वास्थ्य चौकीका इञ्चार्ज विनोदकुमार कुँवरले जानकारी दिनुभयो । यता दोगडाकेदार गाउँपालिकामा भने भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् ।

श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटका अनुसार हाल दैनिक २० देखि ३० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेका बताउनुभयो । यस्तै, निजी मेडिकलमा भने भाइरलका बिरामीको चाप बढेको उहाँले बताउनुभयो । वर्षायाममा पानीका मुहान फोहर पानीमा मिसिने भएकाले खानेपानीबाट बढी भाइरल फैलिने गरेको र हाल वर्षा कम हँुदै गएकाले बिरामीको संख्या पनि घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय, बैतडीले जनाएको छ । भाइरल ज्वरो भएका बिरामीले प्रशस्त मात्रामा पानी पिउनुपर्ने, आराम गर्नुपर्ने, झोलिलो खानेकुरा खानुपर्ने र सरसफाइमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।