निर्वाचन आयोग गौरवान्वित !

निर्वाचन आयोग गौरवान्वित !


प्रदेश नं. २ मा भएको स्थानीय तहका निर्वाचनको मतदान कार्य शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएकोमा निर्वाचन आयोगले गौरवको महसुस भएको जानकारी दिएको छ । सोमबार तेस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आयोजित पत्रकार सम्मेलनमा स्थानीय तहको तेस्रो चरण निर्वाचनमा करिब ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिइयो । यस निर्वाचनमा मतदाताले देखाएका व्यापक सहभागिताले लोकतन्त्रलाई सुदृढ गर्न तथा जनताको अधिकारलाई बलियो बनाउन सहयोग पुग्ने निर्वाचन आयोगले विश्वास लिएको छ ।

तनावका बाबजुद एकाएक राजनीतिक सहमति र समझदारी जुटेर जुन शान्तिपूर्ण र सौहाद्र्धताका साथ निर्वाचन सम्पन्न भयो, यो ठूलो उपलब्धि हो भन्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भने, ‘मतदानमा युवापुस्तादेखि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दृष्टिविहीन समेतले निकै उत्सुकतापूर्वक सहभागिता जनाउनुभएको, चर्को गर्मीमा समेत मतदाता लामबद्ध भएर मतदानका लागि आतुर देखिनुहुन्थ्यो, यसले मतदाताहरु लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउन दृढ र प्रतिबद्ध हुनुहुन्छ भन्ने पुष्टि गर्दछ ।’

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पनि राम्रो व्यवहार र समझदारीको विकास हुनेमा आयोग आशावादी रहेको आयोगले जनाएको छ ।

तेस्रो चरण निर्वाचनमा नक्कली मतदाता भई मत दिन प्रयास गर्ने ३८ र कानुनको उल्लङ्घन गर्ने अन्य १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको पनि आयोगले जनाएको छ ।

तस्बिर : रासस