रिङ रेस्लिङमा अध्यक्षमा सुनिता थापा

रिङ रेस्लिङमा अध्यक्षमा सुनिता थापा


नेपाल रिङ रेस्लिङ संघको प्रथम साधारणसभाले सुनिता थापालाई पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । ललितपुरमा भएको प्रथम साधारणसभाले थापाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा योगेश्वर श्रेष्ठ, महासचिवमा सुवर्ण श्रेष्ठ पनि निर्विरोध निर्वाचित भइन् । सचिवमा सभ्यता लौडारी, कोषाध्यक्षमा कमल तामाङ र सदस्यहरूमा सारदा कार्की, आषिश प्रधान, सुनिल थापा, सुनिता श्रेष्ठ, गंगा थापा र दिव्या थापा छानिएका छन् ।

नवनिर्वाचत अध्यक्ष सुनिता थापाले आगामी दिनमा रिङ रेस्लिङ खेलाडीलाई व्यस्त बनाउने प्रतिबद्धता जनाइन् । उनले नयाँ खेलाडी उत्पादन गर्नका लागि संघले एकेडेमीको अवधारणा ल्याएको जानकारी पनि दिइन् ।

कार्यक्रममा संघकी महासचिव सुवर्ण श्रेष्ठले संघले एक वर्षको अवधिमा गरेका विभिन्न गतिविधिको विषयमा चर्चा गर्दै भावी कार्यक्रम तथा योजना प्रस्तुत गरेकी थिइन् । उनले संघ दर्ता भएलगत्तै नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिस्तरबाट इन्टरनेशनल प्रतियोगिता गरेको बताइन् ।

संघले नियमित रुपमा टेलिभिजन च्यानलमा रेस्लिङ देखाउने वातावरणका लागि गृहकार्य गरिरहेको समेत बताइन् । ‘विश्वमा रेस्लिङको माग छ । नेपालमा पनि रेस्लिङ मन पराउने दर्शक धेरै छन् । उहाँहरुलाई ध्यानमा राखेर खेलाडी उत्पादनमा हामी जुटिरहेका छौं, श्रेष्ठले भनिन् ।’