प्रदेश नं २ मा मतदाताको उत्साहपूर्ण उपस्थिति

प्रदेश नं २ मा मतदाताको उत्साहपूर्ण उपस्थिति


तेस्रो चरणमा भई रहेको स्थानीय तहको निर्वाचनअन्तर्गत प्रदेश नं २ का ८ जिल्लाका मतदाताहरु उत्साहपूर्ण उपस्थिति भएका छन् । बिहान ७ बजेदेखि मतदानमा अहिले शान्तिपूर्णरुपमा भई रहेको छ । प्रदेश नं २ मा १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ वटा स्थानीय तहमा यो निर्वाचन भएको हो ।

मतदानका लागि निकै उत्साहका साथ मतदाता बिहान सबेरै मतदान केन्द्रमा पुगेर लामबद्ध भएर बसिसक्नुभएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जनाएका छन् । अहिले अधिकांश मतदान केन्द्रमा मतदाताको घुइँचो लागिसकेको छ । तराई–मधेशमा दिउँसो गर्मी हुने भएकाले पनि मतदाताको बिहान उत्साहपूर्ण सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ ।
गोप्य मतदानको प्रक्रियाद्वारा ‘एक पद एक मत’का आधारमा बहुमतीय निर्वाचन प्रणालीमा यो निर्वाचन हुँदैछ ।
अपराह्न ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेकाहरुले मात्रै मतदान गर्न पाउने भएका छन् । आयोगले सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन आम मतदातालाई आह्वान गरेको छ ।

मतदाताले कुनै कारणबसः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न आयोगले वैकल्पिक व्यवस्थासमेत गरेको जनाएको छ ।नेपाली नागरिकताको प्रमाणपत्र वा विसं २०७० मा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्बिरसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था आयोगले मिलाएको छ ।

यसैगरी, पर्सा जिल्लामा आज बिहान ७ बजेदेखिनै स्थानीय तहको निर्वाचनका लागि मतदान कार्य शुरु भएको छ । पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहको मतदान शान्तिपूर्णरुपमा शुरु भएको छ ।

वीरगञ्ज महानगरपालिका–३ मा रहेको मालपोत कार्यालयको मतदान केन्द्रबाट ८७ वर्षीय वृद्ध असलम अन्सारीले मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्नुभएको छ ।  यसैगरी सोही मतदान केन्द्रबाट वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले आफ्नो मताधिकारको प्रयोग गर्नुभयो ।
जिल्लामा दुई लाख ८० हजार २१२ जना मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्न बिहानैदेखि मतदान केन्द्रमा जम्मा हुनेक्रम बढ्दै गएको छ । जिल्लामा १६७ मतदान स्थल र ३४४ मतदान केन्द्रबाट मतदातामा आफ्नो मत हाल्न शुरु भएको छ ।