शान्तिपूर्ण रुपमा मतदान शुरु, प्रमुख निर्वाचन आयुक्तद्वारा मतदान

शान्तिपूर्ण रुपमा मतदान शुरु, प्रमुख निर्वाचन आयुक्तद्वारा मतदान


तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ को सप्तरी जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदानको कार्य शुरु भएको छ । अत्यन्तै हर्षोल्लासका साथ बिहान ५ बजेदेखिनै लामबद्ध भई मतदाता मतदान कार्यमा धैर्यतापूर्वक लागेका छन् ।  निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधिप्रसाद यादवले बिहान ७ः०० बजे मतदान गर्नुभएको छ ।

उहाँले सप्तरी सदरमुकामस्थित राजविराज नगरपालिकाको वडा नं २ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगी मतदान गर्नुभएको हो । सो केन्द्रमा सर्वप्रथम उहाँले मतदान गर्नुभएको थियो । बीस वर्षको प्रतीक्षापछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आआफना उम्मेदवारलाई विजयी गराउन मतदान गर्न लागेको राजविराज– ३ वडाका समाजसेवी सुशीललाल दासले बताउनुभयो ।

यता कुनै पनि घटना हुन नदिन र शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय मतदानस्थल र मतदान क्षेत्रमा अनुगमनका लागि खटिएको बताउँदै सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले मतदातालाई निर्धक भई मतदान गर्न आग्रह गर्नुभयो । स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी कूल १८ स्थानीय तहका लागि ८५६ जनप्रतिनिधि चयनका लागि मतदान शुरु भएको हो ।

प्रदेश नं २ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा मतदान भईरहेको छ । आजकोे निर्वाचनमा २६ लाख ६४ हजार ९ सय ५० मतदाताले मताधिकारको प्रयोग गर्दैछन् । यस निर्वाचनबाट ६ हजार ६ सय २७ प्रतिनिधि निर्वाचित हुनेछन् भने निर्वाचनको मैदानमा कुल ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
यस निर्वाचनमा ८ जना उम्मेद्धबार निर्विरोध निर्वाचित भइसकेका छन । नगरप्रमुख तथा अध्यक्षमा एक हजार ७ सय ९ पुरुष र ६१ महिला मात्रै प्रतिस्पर्धामा छन । उपप्रमुख र उपाध्यक्षमा १ सय ९७ पुरुष र ९ सय १९ महिला उम्मेदवार रहेका छन् । वडाध्यक्षमा ८ हजार ५२ पुरुष र २ सय २३ महिला उम्मेदवारहरू निर्वाचनको मैदानमा छन ।

अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई उचित व्यवस्था मिलाउन र सहजढंगले मतदानको प्रबन्ध गर्न सबै मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतलाई निर्देशन दिँदै आयोगले दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैँ मत संकेत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसंकेत गराउन सुझाव दिएको छ ।

स्थानीय तहको निर्वाचन पर्यवेक्षणका लागि आयोगले ४४ वटा संस्थाका २ हजार १ सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नं २ का जनकपुर, बर्दिबास, वीरगन्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन गराउन नेपाल सरकार, मित्रराष्ट्रहरू, दातृ निकाय तथा विकास साझेदार संस्था तथा अन्तर्रा्िष्ट्रय समुदायको अटुट सहयोग र सद्भावप्रति आयोगले धन्यवाद ज्ञापन गरेको छ । मतदानको कार्य सम्पन्न भई मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि राजनीतिक दलहरुसँग समन्वय गरी यथाशक्य छिटो मतगणना सुरु गरी परिणाम सार्वजनिक गर्न आयोगले सबै निर्वाचन अधिकृतलाई निर्देशन पनि दिएको छ ।