दही-चिउराले पोल खोल्यो ! दोश्रो सन्तान जन्माउँदै दीपक र आयशा

दही-चिउराले पोल खोल्यो ! दोश्रो सन्तान जन्माउँदै दीपक र आयशा


– श्रीविक्रम भण्डारी

कीर्तिमानधारी तेक्वान्दो खेलाडी दीपक विष्ट दोश्रोपटक बाबु बन्न लागेको खुलासा भएको छ । पत्नी आयशाले असोजको तेश्रो साता दोश्रो सन्तानलाई जन्म दिन लागेको बुझिन आएको छ । उनीहरूका पहिलो सन्तान तीन वर्षीय छोरा छन् ।

ओलम्पियन निशा रावलसहित राष्ट्रिय तेक्वान्दो टीमका महिला खेलाडी आयशालाई ‘दही चिउरा’ खुवाउन अकस्मात विष्टको निवास पुगेपछि यो कुराको रहस्योदघाटन भएको हो । आयशालाई दहीचिउरा खुवाउन निशा रावल, रेजिना कार्की, सीता तामाङ र संगीता बस्याल विष्टको निवास पुगेका थिए ।

अकस्मात विष्टको निवास पुगेका तेक्वान्दो खेलाडीहरूले आयशालाई दहीचिउरा खुवाउनुको साथै बधाई दिएका थिए । सो अवसरमा उनीहरूले हँसिमजाकको ‘मूड’मा आयशालाई जिस्काउँदै तस्बिरसमेत खिचाएका थिए । तस्बिर खिचाउने क्रममा उनीहरूले आयशाको पेटलाई सुमसुम्याएका थिए । आयशा उनीहरूभन्दा सिनियर खेलाडी भए पनि गत वर्ष भारतको गुहावटीमा सम्पन्न १२ औं सागमा सँगै नेपालको प्रतिनिधित्व गरेका थिए ।

दहीचिउरा खुवाउन विष्टको निवास पुगेका खेलाडीहरूले आफ्ना गुरु दीपक विष्टलाई दोश्रो सन्तानको लागि बधाई दिए । एक्कासी महिला खेलाडी निवासमा आएपछि अलमल्ल परेका दीपक त्यसपछि सम्हालिदै उनीहरूलाई धन्यवाद दिएका थिए । वास्तविकता थाहा भएपछि सबैको एकसाथ निस्किएको हाँसोको फोहराले माहोल उल्लासमय बनेको थियो ।

आयशा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा एक स्वर्ण, एक रजत र एसियाली खेलकुदमा काँश्य पदक विजेता खेलाडी हुन् ।