धनुषा काङ्ग्रेसको मेयर उम्मेदवारमाथि मध्यरातमा आक्रमण

धनुषा काङ्ग्रेसको मेयर उम्मेदवारमाथि मध्यरातमा आक्रमण


धनुषा नगरपालिकाका नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार परमेश्वर यादवको घरमा भएको सांघातिक आक्रमणप्रति नेपाली कांग्रेस धनुषाले गम्भीर आपत्ति जनाएको छ । नगरपालिकाको वडा नं. ८ अकौरा टोलस्थित यादवको घरमा गएराति करिब १२ बजे आक्रमण भएको थियो । मेयर पदका उम्मेदवार यादव आफना परिवारका सदस्यसहित मध्यरातमा करिब डेढ सय जनाको समूहमा आएका व्यक्तिहरूले आक्रमण गरेका थिए । धनुषा कांग्रेसले उक्त आक्रमण एमालेसम्बद्ध उन्मत्त व्यक्तिहरूले गरेको दाबी गरेको छ ।

धनुषा काङ्ग्रेस सभापति रामसरोज यादवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार मदिरामा लट्ठिएका स्थानीय एमाले नेता–कार्यकर्ताहरूले यादवको घरको मूल ढोका तोडफोड गरी ढुंगामुढा गरेका थिए । ‘स्थानीय तह निर्वाचनमा पराजय हुने डरले मतदान हुनु एक दिनपुर्व रातको मौका छोपी ज्यान मार्ने उद्देश्यले आक्रमण गर्नु निन्दनीय छ’– विज्ञप्तिमा भनिएको छ ।

एमालेका अरविन्द पासवान, धर्मेन्द्र पासवान, वीरेन्द्र राउत, दिनेश राउत, कञ्चन राउत, मुकेश राउत लगायतका एमाले कार्यकर्ताहरुले आक्रमण गरेका सभापति यादवको दाबी छ । यादवसँगै एमाले कार्यकर्ताहरुले काङ्ग्रेस समर्थक राजेन्द्र यादवको घरमा समेत ढुंगामुढा गरेका बताइएको छ । उनीहरुले यादवको घरमा पार्किङ गरेर राखिएको एक मोटरसाइकलमा तोडफोड गरेका छन् । एमाले कार्यकर्ताले गरेको आक्रमणमा परी स्थानीय देवेन्द्र यादव, विनोद यादव, रामगुलाम यादव, पुकारी देवी यादव, राजन यादव, लगायतका व्यक्तिहरु घाइते भएका छन् ।

यस्तै, अकौरा उम्मेदवारको घरमा आक्रमण हुँदा पनि प्रहरी मुकदर्शक बन्नु दुःखद रहेको जिल्ला सभापति रामसरोज यादवले बताएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारलाई लक्षित गरी आक्रमण हुनु सुरक्षा व्यवस्थाको तैयारीमाथि गम्भीर प्रश्न उठेको उनको भनाई छ । शान्तिपूर्ण तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन तथा मतदाताको सुरक्षालाई ध्यान राख्दै आवश्यक सुरक्षा व्यवस्था मिलाउन धनुषा कांग्रेसले स्थानीय प्रशासनसँग माग गरेको छ ।