ललितपुर ‘जाम मुक्त’ सहर घोषणा

ललितपुर ‘जाम मुक्त’ सहर घोषणा


ललितपुरलाई ‘जाम मुक्त’ सहर घोषणा गरिएको छ ।  ‘ललितपुर महानगर– ट्राफिक जाम मुक्त सहर’ भन्ने मुख्य नारासहित ट्राफिक प्रहरीले आइतबारदेखि ललितपुरलाई जाम मुक्त सहर बनाउने काम सुरु गरेको छ ।

ललितपुर महानगरपालिका र अन्य सम्बन्धित निकायहरुसँग सहकार्य गर्दै ट्राफिक प्रहरीले ललितपुरमा गरेको कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी सर्वेन्द्र खनालले संयुक्त रुपमा ललितपुरलाई जाम मुक्त सहरको घोषणा गरे ।

उनीहरुले बोलेको कुरा पूरा गर्ने आफ्नो कर्तव्य भएको काम गरेरै देखाउने बताए ।

उपत्यका ट्राफिक प्रमुख डीआईजी सर्वेन्द्र खनाल र ललितपुर ट्राफिक प्रमुख प्रहरी निरीक्षक सिताराम हाछेथुको साथ पाएकाले जाम मुक्त अभियान सफल हुने विश्वास उनले व्यक्त गरे ।

जाम मुक्त घोषणा गरिएसँगै ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ललितपुरको तीन ठाउँमा ट्राफिक लाइट र २ ठाउँमा आकासे पुल निर्माण गरिने जनाइएको छ ।

ललितपुरका मेयर महर्जनले ४ साताभित्र ट्राफिक लाइट जडान गर्ने र आकासे पुल निमार्णकाको काम सकिने उल्लेख गरे ।

उनका अनुसार ललितपुरको पुल्चोकस्थित कानदेउता चोक, मन्त्री क्वाटर जाने चोक र अल्का अस्पतालभन्दा अगाडिको चोकमा ट्राफिक लाइट जडान हुनेछन् ।
त्यसैगरी ललितपुरको पाटन अस्पताल अगाडि र लगनखेल चोकमा गरी २ ठाउँमा आकासेपुल निर्माण गरिने छ । दुवै काम यथाशक्य सकिने बताइएको छ ।