विश्वकै नम्बर वन बनिन् मीरा

विश्वकै नम्बर वन बनिन् मीरा



– श्रीविक्रम भण्डारी

चर्चित अल्ट्रा धाविका मीरा राईले अर्को ऐतिहासिक सफलता प्राप्त गरेकी छिन् । हिजो भदौ ३१ गते बेलायतमा सम्पन्न सलोमोन अल्ट्रा दौडको १ सय २५ किलोमिटर महिलातर्फ राईले प्रथम स्थान हासिल गरेर यो सफलता प्राप्त गरेकी हुन् । राईले यो दौड १४ घण्टा २४ मिनेटमा पार गरेकी थिइन् । यो दौडमा विश्वका चर्चित धावकहरूले सहभागिता जनाएका थिए ।

विश्वका वरियता प्राप्त खेलाडी मात्र सहभागिता जनाउने पाउने यो अल्ट्रा दौड प्रतियोगितामा राईले समग्रमा छैठौं स्थान हासिल गरेकी थिइन् ।
सन २०१५ मा फ्रान्समा आयोजना भएको अल्ट्रा दौडको १ सय ५ किलोमिटरमा मीरा राई पहिलो पटक च्याम्पियन बनेकी थिइन् । त्यसपछि उनको ख्याति नेपालमा मात्र नभै विश्वभरि चुलिएको थियो । प्रशिक्षणको क्रममा राईको घुँडामा चोट लागेपछि उनको घुँडाको अप्रेशन गर्नु परेको थियो । उनको घुँडाको अप्रेसन इटलीमा भएको थियो । त्यसपछि राईले सन् २०१६ को अल्ट्रा दौडमा सहभागिताबाट बन्चित हुनु परेको थियो ।

सन् २०१७ मा पुनः अल्ट्रा दौडमा आफुलाई सहभागी गराएकी राईले आफ्नो उत्कृष्ट फर्मलाई दोह¥याउँदै च्याम्पियन बनेकी छिन् । च्याम्पियन बनेसँगै राई विश्वको नम्बर एक अल्ट्रा महिला खेलाडी बन्ने समेत सफल भएको उनका प्रशिक्षक ध्रुवविक्रम मल्लले जानकारी गराएका छन् । योभन्दा अघि राई विश्वको दुई नम्बर खेलाडी थिइन् ।

अल्ट्रा दौडमा उत्कृष्ट प्रदर्शन गरेर चर्चाको शिखरमा पुगेपछि राई विश्वका विभिन्न साहसिक खेलहरूको माध्यमबाट नम्बर दशमा छनोट भएकी थिइन् । त्यसपछि नेशनल जोग्राफिक टेलिभिजनले विश्वभरिका उत्कृष्ट अल्ट्रा धावक र धाविकाको ४२ दिन भोटिङ खुला गरेको थियो । उक्त भोटिङमा मीरा राईले पहिलो स्थान हासिल गरेको मल्लले बताएका छन् । राईलाई यो अवार्ड केही महिनापछि अमेरिकामा दिँदैछ ।