४८ घण्टा नेपाल–भारत सीमा बन्द गर्ने निर्णय

४८ घण्टा नेपाल–भारत सीमा बन्द गर्ने निर्णय


तेस्रो चरणअन्तर्गत सोमबार हुने प्रदेश नं २ अन्तर्गत सप्तरीमा शान्ति सुरक्षा कायम गर्न नेपाल र भारतका स्थानीय प्रशासनको संयुक्त बैठकले आजदेखि ४८ घण्टा सीमाक्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

सप्तरी र बिहार सुपौल जिल्लाका पदाधिकारीको सो बैठकले सीमा क्षेत्रमा सवारीसाधन चल्न नदिने र जाँच कडा पार्ने निर्णय गरेको सप्तरीका प्रजिअ भागीरथ पाण्डेले बताए ।

त्यस्तै जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका १८ वटै स्थानीय तहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको जानकारी दिँदै सुरक्षा व्यवस्थापनअन्तर्गत सीमा क्षेत्रमा समेत दुवै देशका संयुक्त सुरक्षाकर्मीले संयुक्त रुपमा जाँच गरिरहेको प्रजिअ पाण्डेले बताए ।

निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्तदुरुस्त र सुदृढ बनाइएको छ । मतदातालाई ढुक्क भएर मतदानस्थलमा गई मतदान गर्न प्रजिअ पाण्डेले आग्रह गरे ।

नेपाल भारतको हित हुने उद्देश्यले अति आवश्यक परेकालाई सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीको विशेष जाँच गरिसकेपछि मात्र जान दिन सकिने जिप्रका सप्तरीले जनाएको छ ।