मुटुरोग बारे नर्भिकले यसरी जगायो जनचेतना

मुटुरोग बारे नर्भिकले यसरी जगायो जनचेतना


नर्भिक इन्टरनेशनल हस्पिटलले विविध कार्यक्रमका साथ यस वर्षको विश्व मुटु दिवस मनाउने कार्यको शुभारम्भ गरेको छ । यस वर्षको विश्व मुटु दिवस आगामी असोज १३ गते शुक्रबार अर्थात् महानवमीका दिन पर्न गएको हुँदा नर्भिकले उक्त दिवस नेपाल हार्ट नेटसँगको संयोजनमा आज शनिबार नै मनाएको हो ।

विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु–गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहिआएको छ ।

सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर नै अझ हालै आएर विकासोन्मुख राष्ट्रहरूमा मुटुरोगका बिरामीहरू बढ्दै गइरहेका छन् । हाल विश्वमा १ करोड ७३ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि शहरी जनसंख्याको झण्डै ७ देखि ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् ।

विश्व मुटु दिवस मनाउने सिलसिलामा नेपाल लगायत विश्वका १५० भन्दा बढी देशहरूमा अर्थात् विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन तथा अन्य विविध कार्यक्रमहरू गर्ने गरिन्छ ।

यस वर्षको विश्व मुटु दिवसको नारा‘स्वस्थ जीवनशैलीका अनुभव बाँडौँ’ रहेको छ । यसले मानिसका लागि मुटुको महत्व कति छ भन्ने दर्शाउँछ ।
नर्भिकमा आयोजित समारोहमा नर्भिकमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवन यापन गर्दै आएका बिरामीहरू सहित करिब दुई सय जना विशिष्ट व्यक्तित्वहरू सहभागी थिए । कार्यक्रमको प्रमुख आतिथ्य देशकै वरिष्ठतम मुटुरोग विशेषज्ञहरू मध्येका प्रा.डा. डम्बरबहादुर कार्कीले गरेका थिए भने विशेष अतिथि थिए अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अवणीभूषण उपाध्याय ।

कार्यक्रममा नेपाली मुटुरोग फाँटका सिद्धहस्त व्यक्तित्वहरू, वरिष्ठ मुटुरोग विशेषज्ञ नर्भिकका मुटुरोग विभागका निर्देशक प्रा. डा. यादवदेव भट्ट, लगायत मुटुरोग शल्य चिकित्सक डा. ज्योतीन्द्र शर्मा, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवाल र मुटुरोगका विविध विषयहरुमा प्रकाश पारेका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रा. डा. यादवदेव भट्टले नेपालमा मुटुरोग विधालाई विश्वस्तरीय पार्न विविध विशेषज्ञ सेवा थप गर्दै ‘इन्टेन्सिभ केयर स्पेशलिष्ट’को सेवा थप्ने, चिकित्सा सेवामा चिकित्सकहरूको समूहगत दृष्टिकोण अपनाइने र बिरामीको समग्र व्यवस्थापनका लागि एकै स्थानमा सम्पूर्ण समाधान दिइने रणनीति अपनाइने बताए ।

प्रा.डा. यादवदेव भट्टले नर्भिकको मुटुरोग विधालाई नेपाली जनताको उच्चतम् सेवाका खातिर नयाँ उचाईमा पु¥याउने योजना पनि प्रस्तुत गरे । हृदयाघातपश्चात् बिरामीको ज्यान बचाउन गरिने एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपका लागि अमेरिकन कार्डियाक एशोसियनले निर्धारित गरेको (प्रक्रिया सकेर बिरामी शय्यामा सार्ने) समय ९० मिनेट तोकेको छ भने नर्भिकको उक्त समय (धेरैजसो केसहरूमा) केवल ६० मिनेट मात्रै रहेकोले नर्भिकको स्तर युरोपेली र अमेरिकी सरह भएको उनले बताए ।

कार्यक्रममा बोल्दै वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल हार्ट फाउण्डेशनका पूर्व अध्यक्ष डा. प्रकाशराज रेग्मीले मुटुरोगबाट जोगिन अपनाउनुपर्ने जीवनशैलीबारे व्याख्या गरे । डा. रेग्मीका अनुसार रक्तनली तथा मुटुरोगको सबैभन्दा ठूलो जोखिम भनेको तनाव र चिन्ता नै भएकोले तिनबाट कसरी जोगिने भन्ने विषयमा सबै जानकार रहनुपर्ने छ ।

नर्भिकका चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवालले स्वस्थकर भोजन अपनाउनुपर्ने विषयमा प्रकाश पारे । यस्तै नर्भिकका वरिष्ठ मुटुरोग शल्यचिकित्सक तथा गंगालाल हृदयरोग केन्द्रका निर्देशक डा. ज्योतीन्द्र शर्माले मुटुरोगको शल्यक्रियात्मक उपचार गराउन बिरामीहरू अब डराउनु पर्ने अवस्था नरहेको स्पष्ट पारे ।

नवीनतम् प्रविधि र सिद्धहस्त एवम् तालिम प्राप्त शल्यचिकित्सकहरूको उपलब्धताले कुनै पनि बिरामी मुटुरोगको शल्यक्रियाका विदेश जानु नपर्ने धारणा उनले राखे ।

समारोहमा बोल्दै कार्यक्रमका विशेष अतिथि प्रा.डा. अवणीभूषण उपाध्यायले नेपाल हार्ट नेटसँगको संयोजनमा यसखाले भव्य कार्यक्रमको आयोजना गरेकोमा नर्भिकलाई बधाई दिए ।

त्यसरी नै समारोहका प्रमुख अतिथि प्रा.डा. डि.बी कार्कीले रक्तनली तथा मुटुजन्य रोगबारे वृहत् जनचेतना अभिबृद्धि गराउने यसखाले बृहत् कार्यक्रम गरेकामा नर्भिकको खुलेर प्रशंसा गरे । यस अवसरमा आजैदेखि धुम्रपान त्याग्न उनले सबैलाई आग्रह गरे ।

नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले नर्भिकको सुरुवातदेखि नर्भिकमा आबद्ध रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. सुनिलचन्द्र झालाई विशेष सम्मान गरिन् । नर्भिकका वरिष्ठ मुटुरोग विशेषज्ञ तथा मुटुरोग विभागका निर्देशक प्रा. डा. यादवदेव भट्टको स्वागत मन्तव्यबाट शुभारम्भ गरिएको उक्त कार्यक्रममा नर्भिकर्की प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यको धन्यवाद ज्ञापनबाट समापन भएको थियो ।