गोहीको शिकार बने बिदा मनाइरहेका पत्रकार

गोहीको शिकार बने बिदा मनाइरहेका पत्रकार


बिदा मनाउने उद्देश्यले श्रीलंका पुगेका एक बेलायती पत्रकार गोहीको शिकार बनेका छन् । श्रीलंकाको पूर्वी क्षेत्रमा पर्ने समुद्री किनारअवस्थित पनामा भन्ने पर्यटकीय स्थलमा गोहीको आक्रमणबाट २४ वर्षीय बेलायती पत्रकार पल म्याकलिनको मृत्यु भएको हो । गत विहिबारदेखि वेपत्ता भएका उनको मृत शरीर शुक्रबार फेला परेको बताइएको छ ।

पनामामा आफ्ना केही साथीसहित घुमघामको आनन्द उठाइरहेका म्याकलिन सम्भवतः शौचको लागि साथीहबाट छुट्टिएका थिए । सोही अवस्थामा उनमाथि गोहीले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । विहिबार दिनको करिव ३ बजेतिर हराएका बेलायतबाट प्रकाशित हुने फाइनान्सियल टाइम्सका प्रशिक्षार्थी पत्रकार म्याकलिनको शव कोलम्बोबाट करिव २ सय किलिोमिटर टाढा रहेको पनामामा हिलोभित्र पुरिएको अवस्थामा फेलापरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् ।

शव फेलापर्दा पत्रकार पलको दाहिने खुट्टामा ६ ठाउँमा ताजा घाउहरु थिए । सम्भवतः गोहीले उनलाई खुट्टामा टोकेर घिसार्दै पर लगेको थियो । स्थानीयवासीका अनुसार सो क्षेत्रमा गोहीहरु अक्सर आइरहन्छन् ।