‘कसरी बस्ने यस्तो देशमा ?!’

‘कसरी बस्ने यस्तो देशमा ?!’


– दीपेन्द्र पाण्डे

शीतयुद्धकालीन समयमा पूर्वी जर्मनीका जनता अक्सर भन्ने गर्थे– कसरी बस्ने यस्तो देशमा ?! विश्व–राजनीतिलाई आइडोलोजीको आधारमा बाँड्ने दुई शक्तिशाली मुलुक अमेरिका र सोभियत युनियनको आन्तरिक प्रतिस्पर्धामा संसारभरका मुलुकलाई कतै न कतै लाग्न बाध्य पारिएको थियो । साम्यवादी खेमाको नेतृत्व सोभियत रुसले र पुँजीवादी, प्रजातन्त्रवादी खेमाको नेतृत्व अमेरिकाले गरेको तत्कालीन समयमा तटस्थ बस्नु भनेको फलामको चिउरा चपाएसरह मानिन्थ्यो । दोस्र्रो विश्वयुद्धपछि महाशक्ति राष्ट्रहरूको कारण सग्लो देश जर्मनीलाई पूर्व र पश्चिममा विभक्त गर्दै पर्खाल नै खडा गरियो । सोही सिलसिलामा पूर्व र पश्चिममा रहेका जर्मन परिवार अमेरिकी र सोभियत राजनीतिको कारण एक–अर्काबीच बर्लिन पर्खालको कारण मिल्नबाट रोकिए । फलस्वरूप पूर्वीजर्मनी बस्ने मानिसहरू ‘कसरी बस्ने यस्तो देशमा !’ भन्दै जीवन गुजार्थे ।

गाँस, बास र कपासको बन्दोबस्त गर्दै सुरु गरिएको जर्मन पर्खालले दिन नसकेको सन्तुष्टि बुझ्ने मानिस नेपालको परिवर्तन कसरी भोग्दै छन् ? सबै समस्याको जग राजतन्त्र भन्दै र मान्दै ल्याइएको परिवर्तनपछि जनता कति सन्तुष्ट छन् ? लेखको शीर्षक हेर्दै थाहा लाग्छ । नेपालका तमाम समस्याको समाधान जननिर्वाचित संविधानसभाबाट निर्मित संविधानमार्फत गरिनेछ भन्ने दलीय वाचाहरू बेवारिसे अवस्थामा पुऱ्याउँदै हरेक तप्का, क्षेत्रलाई नियोजित रूपले निराश पारिँदै छ । संविधान जारी गर्दै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले व्यक्त गरेको भावना देश राजनीतिक आन्दोलनबाट मुक्त भइसकेको र अब आर्थिक छलाङतिर लम्कनेछ भन्ने कुरा पानीको फोका रहेको पुष्टि भइसकेको छ । हरेक आन्दोलनको सफलतापछि नेताको भाग्य चम्कने र जनताको भाग्य झन्झन् अन्धकारतर्फ लम्केको अनुभूत हुँदै गर्दा वर्तमान बेथिति सहन सक्ने र नसक्नेहरू कसरी बस्ने यस्तो देशमा ! बिनाहिच्किचाहट भन्दै छन् ।

देश भनेको के हो ? कस्तो हुनुपर्छ ? हामी कहाँ अवस्थित छौँ ? के गर्दा अनन्तकालसम्म नेपाल सुरक्षित रहन सक्छ ? भन्ने बुझ्ने पहिलो व्यक्ति भनेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाह हुन् । तत्कालीन समयमै विश्व राजनीतिमा इसाईहरूको दबदबा कतिसम्म बढ्न सक्छ ? भन्ने बुझ्दै इसाईहरूलाई देश निकाला गर्न पछि परेनन् । पृथ्वीनारायण शाहपछि नेपाल चिन्ने राजा महेन्द्रले चाहेर पनि भूराजनीतिको चपेटामा पर्दै इसाईहरूको बाक्लो उपस्थितिलाई पूर्णतया रोक्न सकेनन् । राजा महेन्द्रको निधनपश्चात् अनेक बहानामा नेपालमा डेरा जमाउन सफल विभिन्न गैरसरकारी संस्थामार्फत नेपाल पसेको इसाई मेसिनरीले नेपालका सम्पूर्ण क्षेत्रमा आर्थिक महाजाल खडा गर्दै धमिराले जस्तो खोक्रो बनाउन सफल भयो । कुनै पनि देशको भविष्य भनेको त्यस देशको शिक्षानीतिसँग गाँसिएको हुन्छ भन्ने राम्रोसँग बुझेका इसाईहरू देशको नीति–निर्माणलाई प्रभाव पार्ने स्थानमै पुग्न सफल भएको सबैभन्दा दह्रो प्रमाण नेपालको निम्ति अनुपयुक्त नयाँ शिक्षा २०२८ सालमा लागू गराउन सफल भए । देशलाई अपाङ्ग बनाउने सोही शिक्षा प्राप्त जनशक्ति २०४५ सालदेखि नेपालमा हाली–मुहाली गर्दै गरेको कारण व्यक्ति सम्पन्न हुने, राज्य दिन प्रतिदिन कमजोर बन्ने बनाउने खेलअन्तर्गत थियो भन्ने खुलिसकेको देखिन्छ ।

इसाई रणनीतिअनुरूप हुर्कंदै गरेको शैक्षिक जनशक्तिले आफ्नो भविष्य सुरक्षित नदेख्दा प्रजातन्त्रको नाममा ल्याइएको ०४६ को परिवर्तनमा पनि अर्थको महत्व घुसाउन सफल तिनै इसाईमार्फत कब्जामा परेको नेपालको राजनीति एकैसाथ भूराजनीति र इसाई रणनीतिको चपेटामा पर्दा नेपालको दीर्घकालीन अस्तित्व समाप्त पार्ने खेलअन्तर्गत माओवादी ध्वंस जन्माइयो । बहुतै सोचविचारपूर्वक सुरु गरिएको माओवादी ध्वंंसले नेपालको गाउँघर खाली गरायो भने जातजाति, धर्म, सम्प्रदाय, क्षेत्र, लिङ्ग, भाषा र वर्गबीच नपुरिने खाडल तयार गरियो । नेपालको युवाशक्तिलाई दिग्भ्रमित पार्दै युद्धमा होमिन बाध्य पार्ने वा देशबाहिर श्रम बेच्न बाध्य बनाउने खेलले अन्ततः देश उत्पादनमूलक कामबाट परनिर्भरतातिर धकेल्दै रेमिट्यान्सबाट चल्नुपर्ने स्थानमा पुऱ्याइयो । घरेलु उद्योगदेखि गाउँ–पाखासमेत बन्जर बनाउँदै गाउँबाट विस्थापित मानिसको एक मात्र लगानी आफ्ना सन्तानलाई दिइएको अङ्ग्रेजी शिक्षाको भयावह रूप स्याट, टोफेल, जीआरई र आइएल्स टेस्ट गर्दै विदेश लम्किन आतुर क्रिम जनशक्ति हेर्दा नेपालको भविष्य कता पुऱ्याउने ? तय भइसकेको बुझ्न सकिन्छ ।

पहिचानको नाममा अनुपयुक्त र अनावश्यक एजेन्डालाई बढाबा दिने, जातजातिबीच भिडाउने, हिमाल, पहाड र तराईबीच झगडा पार्दै एक–अर्काको अस्तित्वमाथि धावा बोल्ने, जाति, धर्म र भाषाबीच सुनियोजित शङ्का जन्माउँदै अन्तहीन द्वन्द्वमा देशलाई फसाउने रणनीतिलाई बुझ्न सक्षम मानिस देशमा बस्न तयार छैनन् । सुरक्षा, विकास, स्वतन्त्रता, मौलिकता, आधुनिकता, रोजगारी, शान्ति र डाइनामिक राजनीतिक नेतृत्व खोज्न लालायित युवा वर्गको इच्छा, चाहना र आवश्यकताको सम्बोधन गर्न सक्ने राजनीतिक नेतृत्वको एड्भोकेसी गर्न लगाउने र सो नपाएको नाममा देशको भविष्य छैन भन्दै युवायुवतीलाई पलायन गराउने खेल इसाई रणनीतिको प्रमुख लक्ष्य नै बनिसकेको पाइन्छ । इसाई मिसनअन्तर्गत उठाइने एजेन्डामा अधिकारको कुरालाई उचालिने र कर्तव्यको पाटोलाई कुनै महत्व नदिने खेलले देश हुनुको अर्थ केवल झन्डा, राष्ट्रगीत, मुद्रा, भाषा, भूगोल, जनसङ्ख्या, संस्कृति, परम्परा मात्रले चित्त बुझाउन तयार छैनन्, वर्तमानको युवाशक्ति । सामुदायिक शिक्षामा डुबेको सरकारी ढुकुटी, विदेशीहरूले बनाइदिएको सम्पूर्ण उद्योग, कलकारखानाको बिक्री, भूकम्पपीडितको नाममा भएको निकम्मापन, राज्यको ढुकुटी खर्च गर्न नसक्ने सरकारी संयन्त्रबाट वाक्कदिक्क भएको वर्तमान नेपालको राजनीति अनुपयुक्त पात्रलाई विशेष स्थानमा पुऱ्याउन बाध्य हुने उनीहरूको औकात वा कमजोरी देख्दा दिन प्रतिदिन निराश हुँदै छ ।

महाअभियोगजस्तो दिव्यास्त्रको प्रयोग केवल शीर्ष नेतृत्वको सनकमा गरिने, सुरक्षा निकायजस्तो संवेदनशील निकायमाथिको चलखेल फिल्म हलको टिकट जाँच्ने मानिस फेरेजस्तो गर्ने, तमाम जनतालाई न्यायको अनुभूति दिने निकायलाई दलय भर्तीकेन्द्र बनाउँदै दिन चाहेको सन्देशले भविष्यमा लोकतन्त्र, गणतन्त्र मात्र होइन देशकै भविष्य छैन भन्ने बनाउँदै निराशाको खेती गर्ने नीतिकै चालबाजीअन्तर्गत हुँदै छ भन्ने आधार दिनप्रतिदिन खुल्दै छ ।

सामान्य जनताले समेत बुझ्ने चारआना घडेरी किन्दा कुन कर कसले र कति तिर्नुपर्छ हेक्का राख्ने नेपाली समाजमा एनसेलजस्तो कम्पनीको पुँजीगत लाभकरको विवाद राजनीतिक भ्रष्टाचारसँग जोडिएको सबैले बुझ्ने कुरा हो । नेपाल सरकारको एउटा सामान्य कर्मचारीले अर्बौंको घोटाला गर्ने हिम्मत, अवसर र तागत कसले जुटाइदिन्छ भन्ने बुझ्न एउटा उदाहरण चूडामणि शर्मा काण्डले देखाउँदै छ । ‘सुख’ (सुब्बा र खर्दार) ले घुमाएको नेपालको कर्मचारी प्रशासनबाट वाक्कदिक्क मान्ने नेपाली जनताले समेत झेल्न मुस्किल समयमा विदेशी लगानीकर्ता भित्र्याउने सरकारी प्रतिबद्धतालाई बकमफुसे भन्नेहरू दिनप्रतिदिन बढ्दै छन् ।

नीति–निर्माता, प्राध्यापक, रजिस्ट्रार, उपकुलपतिजस्ता अनेक पद धारण गरेर बसेका नेपालका सङ्घसंस्था, सङ्गठनका पदाधिकारी समयमै सही निर्णय गर्न चुक्दा अस्पताल र सडकबाट दबाब दिने संस्कृति र परम्पराले राज्यको उपस्थिति कहाँ छ ? सजिलै बुझ्न सकिन्छ । अझ डरलाग्दो रोग बेलायती कुप्रभावले थलिएको भारतमा जागेको दक्षिणपन्थी हिन्दू राष्ट्रवादको असर नेपाली संविधानमा लादने भूराजनीति नेपालमा इसाईको कारण धक्का खाएको सजाय नेपालको हरक्षेत्रमा पार्ने कोसिस गरिँदै छ । सिमानामा एउटा सामान्य कर्मचारी खटाउनदेखि सिंहदरबारमा बसाउने लम्पसारवादीसम्मको बन्दोबस्त भूराजनीतिले गरेको देख्नासाथ कसरी बस्ने यस्तो देशमा ! भन्नेहरूलाई उचित जवाफ नेपाली राजनीतिले दिनै सक्दैन ।

देश कसले, किन र कसरी ? कमजोर बनायो । बुझ्ने र देख्ने दिमागहरू असख्य छन् देशमा । वर्तमान वैश्य युगमा राजनीतिलाई दिग्भ्रमित पार्न सक्ने तागत भनेको सत्ता, शक्ति र अर्थ हुन् भन्ने बुझ्ने हाम्रो राजनीतिक नेतृत्व अन्य कुरामा निरीह देखिए पनि सत्तासुखमा अब्बल मानिन्छ । पश्चिमा इसाई र भूराजनीतिको रणनीतिले चेपिएको राजनीतिमार्फत खडा गरिएको पर्खालहरू राणातन्त्रदेखि लोकतन्त्रसम्म आइपुग्दा कमजोर हुनुको सटा झन् मजबुत बन्न÷बनाउन सफल भएको पाइन्छ । फलस्वरूप देशको राजनीतिक भविष्य करिब–करिब समाप्तिको चरणमा पुऱ्याइसकिएको छ । नेपाली नेताको सत्ता र द्रव्यमोहलाई अधिकतम् प्रयोग गर्दै विदेशीद्वारा खडा गरिएको बर्लिनको भन्दा खतर्नाक पर्खाल नकारात्मकता, निरीहता, नपुङ्सकता, कुण्ठा, नैराश्यता, रिस, राग, द्वेष, घृणा, हिंसा, असुरक्षा, भ्रष्टाचार, दुराचार, पापाचार, लोकाचारदेखि तमाम विकृति र विसङ्गतिको संस्थागत विकासले निसास्सिएका देशवासीको मनभित्र छिराउन सफल विष भनेको यो देशको भविष्य छैन । यसलाई बचाउने कष्ट गर्नुभन्दा यहाँबाट फुत्किने वा उनीहरूमा समाहित हुनुमा नै हाम्रो भविष्य छ भन्ने सन्देश कसरी बस्ने यस्तो देशमा ! भन्ने नै हो ।

नुनदेखि सुनव्यापारीसम्म, पानीदेखि बालुवाखानीसम्म, ठेलागाडादेखि हवाईजहाजसम्मको कार्टेलिङ र सिन्डिकेट चलेको देशमा वर्तमानको बेथिति क्यालकुलेटरमा गन्न हम्मे पर्ने देखिन्छ भन्दा पङ्क्तिकारको मन अमिलो हुन पुग्दछ । प्रधानमन्त्रीजस्तो मानिस छिमेकी प्रधानमन्त्रीसँग नातेदारको निम्ति डाक्टर पढाउन सिट माग्ने, बेलायतजस्तो देशको राजदूत भइसकेको व्यक्ति कार्यकाल समाप्तिसँगै राजनीतिक शरण माग्ने, सभासद् भइसकेको मानिस अमेरिकामा इलिगल बस्न मरिहत्ते गर्ने, सुरक्षा निकायका मानिस विदेशमा पलायन हुने, नेतादेखि कर्मचारीसम्म पिआर भनेपछि हुरुक्क हुने, सत्तामा बसेर लुट्न पाउने र विदेश जान नसक्ने मात्र देशमा बस्ने स्थिति निर्माण गर्न-गराउन सक्ने इसाई दिमागनिर्मित अनगिन्ती पर्खालहरू नबनेको क्षेत्र मिल्न मुस्किल भइसकेको पाइन्छ । ‘घुस खाँदा नर्कमा परिन्छ’ भन्ने नेपाली समाज सनातन हिन्दूधर्मको बिदाइसँगै डर-लाज पचाएर आजभोलि ‘घुस खान नपाए नर्क परिने’ नयाँ परिभाषाअनुसार चलेको छ । देश बनाउने राजनीतिक दलहरू, बुद्धिजीवीहरू, नीतिनिर्माताहरू, पत्रकार, विद्यार्थी र जागरुक निजी क्षेत्र चरम निराशातर्फ उन्मुख बनाउन सफल भूराजनीति र इसाई रणनीतिअनुरूप वर्तमान नेपालमा बस्न नसकिने र यो देशै नरहे पनि केही नहुने निचोड जन्माउन सफल शक्तिको कारण ‘कसरी बस्ने यस्तो देशमा !?’ भन्नेहरू सही छन् भन्न बाध्य पारिँदै छ ।