म खेलाडी नभएको भए ‘नागरिकता’ नबन्ने रहेछ

म खेलाडी नभएको भए ‘नागरिकता’ नबन्ने रहेछ


बक्सिङ खेलाडी सुशील थापा मगरलाई यतिबेला नागरिकता पाउँदा अन्तर्राष्ट्रिय स्तरको स्वर्णपदक जितेको अनुभूति भएको छ ।

‘नेपालीको छोराले नेपाली नागरिकता नपाए कसले पाउँछ त ?’ भन्ने प्रश्न गर्न जति सजिलो छ, व्यवहारिक पाटो त्यति नै जटिल छ । यो तीतो यथार्थ नेपालका उदीयमान बक्सिङ खेलाडी सुशील थापा मगरमा लागू भएको छ । सुशीलले नेपाली भएर पनि नेपाली नागरिकता बनाउन कति संघर्ष गर्नु पऱ्यो ? त्यसपछि उनले कसरी नागरिकता प्राप्त गरे ? त्यो यतिबेला चर्चाको विषय बनेको छ ।

नेपालमा वंशज, जन्मसिद्ध, वैवाहिक र मानार्थको आधारमा नागरिकता प्रदान गर्ने संवैधानिक प्रावधान छ । दुर्भाग्यले सुशीलसँग माथि उल्लेखित कुनै आधार थिएनन् । उनका बुबा–आमा जन्मसिद्ध नेपाली भए पनि उनीहरूले आफ्नो नागरिकताको प्रमाणपत्र बनाएका थिएनन् । उनहरू दुबै किन नागरिकता प्रमाणपत्रविहीन भई बसे ? यसको जवाफ सुशीलका अभिभावकसँग छैन । नागरिकताको महत्व नबुझेर या सायद कुनै काम नै नपरेर उनीहरू नागरिकता नलिई बसेका हुन सक्छन् ।

यस्तो स्थितिमा सुशीलले नागरिकता पाउनु भनेको सगरमाथा आरोहण गरेजस्तै थियो । आखिर भयो पनि त्यस्तै, उमेर पुगेर नागरिकता बनाउन जाँदा उनले थुप्रै चुनौतीको सामना गर्नुप¥यो । नेपाली भएर पनि नागरिकता पाउन गृहमन्त्री जनार्दन शर्मा, युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केसवकुमार विष्टसँग हारगुहार गर्नु प¥यो सुशीलले । तर, पनि उनको समस्याको समाधान भएन । जिल्ला प्रशासन कार्यालयले उल्लिखित सरकारी निकायले गरेको पत्राचारलाई अनदेखा या अनसुनी गरिदियो । अर्थात् सनाखतविना नागरिकता नदिने निर्णय गऱ्यो ।

त्यसपछि कसले सनाखत गर्ने, त्यो अहम विषय बन्यो । साँचो रुपमा भन्नुपर्दा सनाखत गरिदिने सुशीलको कोही आफ्नो व्यक्ति थिएन । कसैले गऱ्यो भने पनि त्यो जिल्ला प्रशासन कार्यालयले सहजै मान्ने अवस्था थिएन । यस्तो अवस्थामा राखेपका सदस्यसचिव विष्टले सुशीलको सनाखत गर्ने निर्णय गरेका थिए ।

विष्ट स्वयम् जिल्ला प्रशासन कार्यालय पुगेर सनाखत गरिदिएपछि सुशीलले नागरिकता प्राप्त गरेका हुन् । उनलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बंशजको आधारमा नागरिकता प्रदान गरेका थिए । नागरिकता प्राप्त गरेपछि सुशीलसँग घटना र विचारले गरेको संक्षिप्त कुराकानी प्रस्तुत गरिएको छ ।

० नागरिकता प्रमाणपत्र पाउन निकै सकस गर्नु पर्‍यो, हैन त ?
– मैले पाएको सास्तीको त कुरै नगरौँ । नागरिकताको महत्व के–कति रहेछ नागरिकता बनाउँदा नै थाहा पाएँ । गृहमन्त्रालयदेखि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदसम्म धाउनु प¥यो । वडा कार्यलयको त कुरै नगरौँ, कति धाएँ कति । त्यसमाथि मुलुकमा जनप्रतिनिधि नभएको समयमा । कति गाह्रो भो त्यो मलाई मात्र थाहा छ ।

० नेपाली नै भएर पनि यस्तो गाह्रो है ?
– बुवा–आमाको नागरिकता प्रमाणपत्र नभएका कारण यस्तो भएको हो । अब नागरिकता बन्यो ज्यादै खुशी छु । अन्तर्राष्ट्रियस्तरमा स्वर्ण पदक जितेको महसुस गरेको छु । त्यसको लागि सबै सहयोगकर्ता तथा शुभचिन्तक धन्यवाद दिन चाहन्छु । विशेष गरेर सदस्यसचिव विष्टज्यूलाई । उहाँले मेरो अभिभावक बनेर सनाखत गरिदिनु भो । अन्यथा नागरिकता बन्ने थिएन । साँचोरुपमा भन्नुपर्दा म खेलाडी भएकोले मात्र नागरिकता बनेको हो, नत्र नबन्ने रहेछ भन्ने लागेको छ ।

० नागरिकता नबन्दा र बनेको अवस्थामा के फरक लागिरहेको छ ?
– नागरिकता नबन्दा ‘मोरल’ नै डाउन भएको थियो, खेल्नै मन लागेको थिएन । तर अहिलेको अवस्था फरक छ, देशले मेरो लागि केहि गरेको छ, अब मैले पनि देशको लागि केही गर्नुपर्छ भन्ने लागेको छ । अव मेरो अन्तर्राष्ट्रिय ढोका खुलेको छ, त्यसैलाई लक्ष्य बनाएर प्रशिक्षण गर्नेछु ।

० अन्त्यमा थप केही ?
– अब मनमा कुनै गुनासो बाँकी छैन, मन चङ्गा भएको छ । ढिलो भए पनि नागरिकता बनेको छ । ज्यादै खुशी छु । अब खेलमा मनग्गे ध्यान लगाउँछु । देशको नाम राख्ने प्रयत्न गर्छु ।