गुन्डागर्दीको कथामा आयो सुन्दरको सकस

गुन्डागर्दीको कथामा आयो सुन्दरको सकस


लामो समयदेखि नेपाली चलचित्रमा द्वन्द निर्देशन गर्दै आएका एनबी महर्जनको निर्देशनमा बनेको चलचित्र सकसको ट्रेलर सार्वजनिक गरिएको छ । सबै तह र तप्काको सपनाको केन्द्र बनेर रहेको काठमाडौंमा हुने गुण्डागिरीलाई मूल कथावस्तु बनाएर सुपरिचित फिल्म निर्माता एवम् कलाकार सुन्दर श्रेष्ठले निर्माण गरेको सकसको सार्वजनिक प्रदर्शन भने आगामी कात्तिक २४ देखि मात्र शुरु हुने निर्माण पक्षले जनाएको छ । फिल्ममा खगेन्द्र डाँगी र अक्कल सिंह पनि संयुक्त लगानीकर्ताका रुपमा रहेका छन् ।

सकसबारे जानकारी दिने उद्देश्य समेत राखेर राजधानीमा भदौ २९ गते आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा सकसको निर्माण सम्पन्न भएको केही समय बिते पनि यसले दर्शाउन खोजेको विषय उत्तिकै सान्दर्भिक रहेको बताइयो । चलचित्रले युवाहरुमा जागृत महत्वाकांक्षा र त्यसको पूर्तिका लागि खेलिने खेललाई सशक्त ढंगले दर्शाउन खोजेको निर्माता एवम् फिल्मका मुख्य पात्रमध्येका एक सुन्दर श्रेष्ठले बताए । कार्यक्रममा सकसको ट्रेलर र एउटा गीत पनि सार्वजनिक गरियो । यसको ट्रेलरमा प्रेम, रोमान्स, एक्सन, बदलाको कथा देखाइएको छ ।

द्वन्द निर्देशनमा ख्याति कमाएर चलचित्र निर्देशनमा हात हालेका एनबी महर्जनका अनुसार सकसले के कारणले मानिस गुन्डा बन्न पुग्दछ, काठमाडौंमा कसरी गुन्डा पैदा भए भन्ने विषयलाई उजागर गर्ने प्रयास गरेको छ ।

सकसमा सुन्दर श्रेष्ठ, रविन्द्र खड्का, विल्सन विक्रम राई, सुष्मा कार्की, सुनिल दत्त पाण्डे, महिमा सिलवाल, प्रज्वल गिरीलगायत कलाकारको मुख्य भूमिका छ । चेतन सापकोटाको संगीत, गौतमराज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायांकन, हिमाल केसीको द्वन्द समावेस रहेको यो चलचित्रको लेखन मौनता श्रेष्ठले गरेका हुन् भने प्रस्तुतकर्ता अक्कल सिंह हुन् ।

ट्रेलर सार्वजनिक समारोहमा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, निर्देशक एवम् सञ्चारकर्मी दिनेश डिसी लगायतले सकसका निर्माता सुन्दर श्रेष्ठलाई बधाईका साथै फिल्म सफलताको लागि शुभकामना दिएका थिए ।

हेर्नुहोस् ट्रेलर भिडियो-

https://www.youtube.com/watch?v=YPy6MYutqOg