ग्राण्डी अस्पताल हत्याउन यसो गरे रूपज्योतिले

ग्राण्डी अस्पताल हत्याउन यसो गरे रूपज्योतिले


देशकै सबैभन्दा सुविधासम्पन्न मानिएको ग्राण्डी अस्पताललाई आफ्नो कब्जामा लिन केही व्यापारिक घरानाका व्यक्ति लागिपरेको समाचार प्राप्त भएको छ । विशेषगरी व्यापारी रूपज्योति र एभरेष्ट बैंकका बीके श्रेष्ठले अस्पताललाई लिलाम गराई उक्त सम्पत्ति हात पार्न प्रयास गरेको बुझिएको छ ।

केही उत्साही लगानीकर्ताहरू मिलेर अन्तर्राष्ट्रियस्तरको अस्पताल नेपालमै सञ्चालनमा ल्याउने उद्देश्यले स्थापना गरिएको ग्राण्डी अस्पतालमा रूपज्योतिले असी करोड र उपेन्द्र महतोले बयालीस करोड रुपैयाँ लगानी गरेको बताइन्छ । बीके श्रेष्ठ र अस्पतालका अध्यक्ष दीपक कुँवरको लगानी थाहा हुन सकेको छैन ।

तर, कुँवरलगायत अधिकांश लगानीकर्ता घाटामा रहेको उक्त अस्पताललाई जसरी भए पनि बचाउने र नाफामा पु¥याउने प्रतिबद्धताका साथ क्रियाशील भएको बुझिन्छ । त्यसनिम्ति अस्पताल सञ्चालक समितिको निर्णयअनुसार अस्पतालले थप ऋण लिने प्रक्रिया अघि बढाएकोमा नेपाल बैंक लिमिटेडको कन्सोर्टिएममा राष्ट्रिय वाणिज्य बैंक, एनसीसी, एसबीआई र एभरेष्ट बैंकसमेत संलग्न भएर केहीअघि नै एक अर्ब रूपैयाँ ऋण उपलब्ध गराउने सैद्धान्तिक निर्णय पनि भइसकेको छ ।

उक्त ऋण लिएर अस्पताल सञ्चालक समितिले अस्पतालको सुधार गर्ने र लगानी फिर्ता लिन चाहनेहरूलाई क्रमशः बिदा गर्दै जाने योजना बनाएको बताइन्छ । अस्पतालमा भएको लगानी फिर्ता लिएर बाहिरिने पक्षमा उपेन्द्र महतो रहेको भए पनि रूपज्योति र बीके श्रेष्ठ भने अस्पताललाई लिलामी गराउने र सम्पूर्ण सम्पत्ति कब्जामा लिई सो स्थानलाई अर्कै व्यापारिक प्रयोजनका लागि उपयोग गर्ने षड्यन्त्रमूलक योजनामा रहेको जानकारीमा आएको छ ।

सोही योजनाअनुरूप रूपज्योति र बीके श्रेष्ठले आफ्नो लगानी फिर्ता नलिने अड्डी लिएका छन् र उनीहरू दुवैजना बैंकबाट स्वीकृत ऋणको भुक्तानी रोकाउन अनेकौँ प्रकारले दबाब पैदा गरिरहेका छन् । बैंकबाट कर्जा प्रवाह भएमा अस्पताल ‘स्मुथ्ली’ सञ्चालन हुन सक्ने र त्यस्तो स्थितिमा आफ्नो योजनामुताबिक अस्पतालको सम्पत्ति कब्जामा लिन नसकिने भएपछि रूपज्योति र बीके श्रेष्ठ नेपाल बैंकबाट हुन लागेको ऋण प्रवाह रोक्न कस्सिएको बताइन्छ । उनीहरूले बैंकका उच्चाधिकारीहरूलाई उच्च राजनीतिक तहबाट फोन गराउँदै कर्जा भुक्तानी रोक्न दबाब दिने गरेका छन् ।

रूपज्योतिले आफू संलग्न भएको ग्राण्डी अस्पताललाई आफ्नै स्वामित्वको ज्योति फाइनान्सबाट चौध प्रतिशत ब्याजमा ऋण उपलब्ध गराएका छन् । ग्राण्डीको सम्पूर्ण सम्पत्ति आफ्नो कब्जामा पार्ने मनसायले नै रूपज्योतिले अस्पतालमा हुन लागेको लगानी रोक्न प्रयास गरेको स्पष्ट बुझिन्छ । हाल स्वीकृत भएको कर्जा प्रवाह नभएमा ग्राण्डी अस्पताल कुनै पनि दिन लिलामीमा चढ्न सम्भव छ । रूपज्योति र बीके श्रेष्ठ यस्तै दिनको प्रतीक्षामा रहेको बुझिन्छ । दीपक कुँवरहरू ग्राण्डी अस्पतालको रक्षा र संरक्षण गर्न सफल हुनेहुन् या होइनन् प्रतीक्षाको विषय बनेको छ ।