तेक्वान्दोकी शान ‘अनलक्की’ यान

तेक्वान्दोकी शान ‘अनलक्की’ यान


– श्रीविक्रम भण्डारी

यानकुमारी चौलागाईं र तेक्वान्दोबीचको साइनो रगतको नाता भनेजस्तै छ । तेक्वान्दोप्रति यानको समर्पण हेर्दा यस्तै लाग्छ र देखिन्छ पनि । यानको मेहनत, अनुशासन र लगनशिलताले पनि यो कुरालाई पुस्टि गर्छ । त्यसैले यान तेक्वान्दोकी शान बनेकी छिन् ।

तेक्वान्दोमा यानको उपस्थिति गर्विलो छ, तर सफलताको चर्चा गर्दा नाक खुम्च्याउनु पर्छ । यस्तो विरोधाभास आखिर किन ?– जिज्ञासा जाग्न सक्छ । सर्वगुण सम्पन्न भएर पनि यानलाई सोचेको जस्तो सफलता किन प्राप्त भएको छैन ? यो आमखेलप्रेमीमा खड्किएको पहिलो प्रश्न हो ।

यानको समुहमा राष्ट्रियस्तरको तेक्वान्दोमा उनलाई चुनौती दिने अर्को महिला खेलाडी जन्मेको छैन । उनको उपस्थिति नै स्वर्ण पदकको दावेदारीसहितकै हुन्छ र अन्त्यमा परिणाम पनि त्यस्तै आउँछ । यो खेलकुद क्षेत्रका सबैले देखेको, सुनेको र विपक्षी खेलाडीले भोगेको कुरा हो । र पनि, अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा यानको प्रदर्शनले किन उत्कृष्टतालाई चुम्न सकेको छैन ? यो रहस्यमय बनेको छ ।

त्यसैले होला, तेक्वान्दोमा यानलाई ‘अनलक्की’ खेलाडीको संज्ञा दिइएको छ । उनको खेलमा जादु भएपनि यानले अहिलेसम्म आफ्नो लक्ष्य भेदन गर्न सकेकी छैनन् जुन उनको उत्कृष्ट खेलजीवनको विडम्बनाको पाटो बनेको छ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा जहिले पनि यानलाई स्वर्ण पदकको दाबेदारको रुपमा हेरिन्छ । प्रतियोगितामा यानको प्रदर्शन पनि त्यस्तै स्तरीय रहन्छ, तर फिनिसिङमा जहिले पनि यान चुक्ने गर्छिन् ।

बंगलादेशको ढाकामा सम्पन्न ११ औं साग होस् या भारतको गुवाहटीमा सम्पन्न १२ औं साग, यानले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । दुर्भाग्य ! ढाकामा काँश्य र गुहावटीमा रजत पदकमै उनले चित्त बुझाउनु परेको थियो । यी दुवै खेलमा यान आयोजक राष्ट्रका खेलाडीसँग पराजित भएर स्वर्ण पदकबाट बन्चित हुनु पुगेकी थिइन् ।

तेक्वान्दोका कीर्तिमान खेलाडी तथा प्रशिक्षक दीपक विष्टले पनि यानलाई ‘अनलक्की’ खेलाडीको संज्ञा दिएका छन् । ‘उ तेक्वान्दोको लागि मरिमेट्ने अनुशासित खेलाडी हो, उसले गरेको मेहनत हेर्दा उसले सहजै सागमा स्वर्ण पदक जित्नुपर्ने हो, तर त्यस्तो अहिलेसम्म किन भएको छैन हामी पनि चकित परेका छौँ’– विष्टले प्रतिक्रिया दिएका छन् । यसको अर्थ राम्रो खेलाडी भएर मात्र हुँदोरहेनछ, भाग्यले पनि साथ दिनुपर्ने रहेछ । यानको सन्दर्भमा यो भनाई लागु भएको विष्टले दाबी गरे ।