अलबिदा क्रिकेटका ‘पितामह’ ! अब इतिहासको पानामा जयकुमारनाथ शाह

अलबिदा क्रिकेटका ‘पितामह’ ! अब इतिहासको पानामा जयकुमारनाथ शाह


– श्रीविक्रम भण्डारी

पहिलोपटक क्रिकेट खेल हेर्दा जयकुमारनाथ सात वर्षका थिए । सन् १९३७ मा मामा मदनशमशेरको दरबारमा क्रिकेट खेलेको देखेपछि क्रिकेटप्रति शाह आकर्षित भएका थिए । क्रिकेट हेर्दै जाँदा बढ्दै गएको उत्सुकताबारे शाहको कलिलो मस्तिष्कमा चलेकोे द्वन्द्व निकै स्मरणयोग्य छ । शाहले क्रिकेटको ब्याट सम्हात्नुभन्दा पहिले क्रिकेटभित्रको राज खातल्ने प्रयास गरेका थिए । उनको क्रिकेटप्रति एउटै प्रश्न थियो– ‘किन दुवैतिरबाट एकैपटक बलिङ र ब्याटिङ नगरेको होला ? ।’ यही अचम्मको खुल्दुलीलाई आत्मसात् गर्दै शाह क्रिकेटमा प्रवेश गरेका थिए । त्यतिबेला क्रिकेट दरबारको चारदिवारमा मात्र सीमित थियो, अर्थात् जनताका छोराछोरीको पहँुचभन्दा निकै टाढा थियो । अझ क्रिकेट ज्यादै महङ्गो र फुर्सदिलो खेल भएकाले तत्कालीन समयमा कुलीन धनाढ्य वर्गमा मात्र खेलिन्थ्यो ।

नेपाली क्रिकेटकोे चर्चा गर्दा अपवादको रूपमा जयकुमारनाथ शाहलाई लिन सकिन्छ । बाल्यकाल राणा र शाहका दरबारहरूमा व्यतीत गरेका शाहले त्यो वैभवकोे अहमतालाई क्रिकेटमा कहिल्यै सार्वजनिक गरेनन् । झट्ट हेर्दा दरबारको शान झल्किने उनको व्यक्तित्व यति मिजासिलो थियो कि सहजै सर्वसाधारण व्यक्तिसँग भिज्न सक्थे । अति मिलनसार व्यक्तित्वका धनी शाहको बाल्यकाल भारतको राँचीको बोर्डिङ स्कुलमा बितेको थियो । विद्यार्थी अवस्थादेखि नै खेलकुदमा विशेष चासो राख्ने शाहको पारिवारिक वातावरण पनि खेलकुदमय थियो । त्यसैले उनले फुटबलदेखि एथलेटिक्ससम्ममा प्रतिस्पर्धा गर्न भ्याउनुभएको थियो । हाइजम्पमा शाहको रेकर्ड पाँच फिट ११ इन्च छ, जब कि त्यतिबेला भारतीय खेलाडीको राष्ट्रिय रेकर्ड ६ फिट थियो । प्रायः सबै खेलमा रुचि राख्ने शाह क्रिकेटका अलराउन्डर थिए । स्कुल क्रिकेटमा शाह ब्याटिङ, विकेटकिपर र क्याप्टेन थिए । क्रिकेटप्रतिको यही समर्पणले गर्दा शाह नेपाल क्रिकेट सङ्घको अध्यक्ष बन्न पुगेका थिए ।

भारतबाट उच्च शिक्षा हासिल गरेपछि शाह नेपाल फर्किएका थिए । खेलकुदको नसामा चुर्लुम्म डुबिसकेका शाह मातृभूमि फर्केपछि खेलकुदको विकासमा सक्रिय भएर लागिपरेका थिए । त्यसमा उनको पहिलो रोजाइ क्रिकेट बनेको थियो । नेपाल क्रिकेट सङ्घको गठन सन् १९४६ सालमा भएकोे हो । त्यसको संस्थापक अध्यक्ष डा. टीनएन उप्रेती थिए । उप्रेतीले २० वर्ष क्रिकेट सङ्घको अध्यक्ष सम्हाले पनि क्रिकेटले खासै फड्को मार्न सकेन, अर्थात् क्रिकेटको विकासमा कुनै उल्लेखनीय कार्य हुन सकेन । यसरी आफ्नो स्थापनाको दुई दशक बितिसक्दा पनि प्रायः मृतअवस्थामा रहेको नेपाल क्रिकेट सङ्घलाई क्रियाशील बनाउन सन् १९६६ देखि शाहले क्रिकेटको वागडोर सम्हालेका थिए ।

जयकुमारनाथ शाहले नेपाल क्रिकेट सङ्घको अध्यक्ष पद सम्हालेपछि क्रिकेट खेलमा ज्यान पलाएको थियो । उनी सर्वप्रथम दरबारको चारदिवारमा कैद क्रिकेट खेलमा सर्वसाधारणको पहुँच बनाउन सफल भए । क्रिकेटमा सर्वसाधारणको पहुँच बढ्दै गएपछि जनसासो बढ्दै जानुको साथै क्रिकेटले लोकप्रियताको खुट्किलो चढ्ने क्रम बढेको थियो । परिणाम सर्वप्रथम काठमाडौं खेलमण्डल र जनताको क्रिकेट क्लब गठन भएका थिए । नेपाली क्रिकेटको विकासक्रमको कुरा गर्दा मदनशमशेर राणालाई बिर्सन सकिँदैन । राणा त्यस्तो पहिलो व्यक्तित्व हो जसले भारतको कोलकाताबाट विधिवत् रूपमा क्रिकेटको प्रशिक्षण लिएर नेपालमा क्रिकेट प्रतियोगिता सञ्चालन गरेका थिए । तत्कालीन समयमा क्रिकेट खेलको आयोजना भारतीय राजदूतावासका कर्मचारी र दरबारियाबीच मात्र हुने भए पनि शाहले पद सम्हालेपछि सर्वसाधारणले पनि क्रिकेटम सहभागिता जनाउन पाएका थिए ।

भारतका विश्वविद्यालयबाट क्रिकेटमा आफ्नो उत्कृष्टता देखाएपछि शाहले नेपालमा क्रिकेट खेल्न थालेका थिए । उनले नेपालमा आयोजना भएका राष्ट्रियस्तरका थुप्रै प्रतियोगितामा आफ्नो उत्कृष्टताको प्रदर्शन पनि गरे । आफूले खेलेका क्रिकेट प्रतियोगितामध्ये तत्कालीन समयमा सञ्चालन भएको प्रिन्स ज्ञानेन्द्र–११ र प्रधानमन्त्री विश्वेश्वर–११ बीच काठमाडौंको टुँडिखेलमा भएको प्रतियोगितालाई शाहले सदा स्मरण गरे । उक्त प्रतियोगितामा शाह प्रिन्स ज्ञानेन्द्रको टिमबाट विकेटकिपर बनेका थिए । पहिलो बलमै प्रधानमन्त्री बीपीको ब्याटले छोएको बललाई शाहले क्याच गरे पनि अम्पायरले कल नगरेको हुनाले आउट नदिएको खुलासा उनले गरेका थिए । त्यसपछि बीपी आउट भएनन् । तर, दुर्भाग्य ! त्यसपछिको दोस्रो बलमा भने बीपी क्लिन बोल्ड भए । त्यसपछि उनी मलाई हेर्दै मुस्कुराउँदै बाहिर गएको स्मरण गराएका थिए ।

सन् १९८०–८१ मा नेपालमा क्रिकेट खेलकोे विकासका लागि शाहले जयकुमारनाथ शाहको नामबाट ‘जय ट्रफी’ सञ्चालन गरेका थिए । पहिलो प्रतियोगितामै नेपालका दसवटा अञ्चलका टिमले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । त्यसपछि ‘जय ट्रफी’ प्रत्येक वर्ष सञ्चालन भएको थियो । १० वर्ष निरन्तरता पाएको जय ट्रफीले प्रजातान्त्रिक आन्दोलनपछि निरन्तरता पाउन सकेन । क्रिकेटमा जय ट्रफी यति लोकप्रिय थियो कि जनकपुरमा आयोजना हुँदा मैदानमा दर्शकको भिडले खुट्टा राख्ने ठाउँ नभएको शाहको कथन थियो । त्यो भिड देख्दा आफूले जनकपुरले जितोस् भनेर भगवान्सँग प्रार्थना गरेको सुनाएका थिए ।

शाहले अन्तर्राष्ट्रिय क्रिकेटका संस्थाहरूसँग आबद्ध हुन र नेपाल क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन क्रिकेटका विभिन्न हस्तीसँग सोझै सम्पर्क गरेका थिए । जसमध्ये तत्कालीन समयका चर्चित खेलाडी तथा इंग्ल्यान्ड टिमका क्याप्टेन लर्ड काउडेसँग शाहले सम्बन्ध बढाएका थिए । पछि उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अध्यक्षसमेत बनेका थिए । पछि मिक लेविस र लर्ड काउडेको सहयोगले नेपालले सन् १९८९ मा आईसीसीको आबद्ध सदस्यता प्राप्त गरेको थियो । त्यस्तै, सन् १९९१ मा नेपालले एसियाली क्रिकेट काउन्सिल (एसीसी) पूर्ण सदस्यता प्राप्त गरेको थियो । यो सबै शाहको अथक प्रयासको फल थियो । शाह आफ्नो निजी खर्चमा आईसीसीको बैठकमा सहभागिता जनाएर नेपाललाई आईसीसी र एसीसीको सदस्य बनाउन सफल भएका थिए ।

नेपाली क्रिकेटको विकासका लागि अहोरात्र खटेका शाह शरीरले साथ दिउन्जेल क्रिकेटको विकास र विस्तारका लागेको घामजस्तै छर्लङ्ग छ । उनको यही त्याग, तपस्या, समर्पण र बलिदानलाई कदर गर्दै आईसीसी र एसीसीले ‘ग्लोबल अवार्ड’वाट सम्मानित गरेको थियो । त्यस्तै, नेपाल क्रिकेट सङ्घको तर्फबाट शाह सन् २००४ मा एसीसीको उपाध्यक्षसमेत चुनिएका थिए । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी बनाउने र काठमाडौंमा एसियाको मुख्य क्रिकेट एकेडेमी बनाउने शाहको सपना थियो ।

क्रिकेटमै जीवन बिताएका शाह क्रिकेटलाई नै सबैथोक मान्ने गर्थेे । तर, यतिवेला उनको भौतिक शरीर हाम्रोसामु छैन । यही भदौ २१ गते उनको निधन भएको छ । र पनि, उनले नेपालमा क्रिकेट खेलको विकासका लागि जुन नायकको भूमिका निभाए, त्यो चिरकालसम्म अविस्मरणीय बन्ने कुरामा दुईमत छैन । यस्ता खेलकुदका महान् हस्तीप्रति श्रद्धासुमन प्रकट गर्दै यो लेख उनीप्रति समर्पण गर्दछु ।