प्रहरीको ‘सेफ्टी पिन’ मा ७१ जना फसे

प्रहरीको ‘सेफ्टी पिन’ मा ७१ जना फसे


काठमाडौ उपत्यकामा सार्वजनिक यातायातलाई महिला मैत्री बनाउने उद्देश्यले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले श्रावण १८ गतेदेखि सुरू गरेको ‘सेफ्टी पिन क्याम्प’ अभियानमा ७१ जना पक्राउ परेका छन् ।

सार्वजनिक यातायातमा महिला तथा बालबालिका माथि हुने यौनजन्य गतिविधीलाई न्यूनिकरण गर्न प्रहरीले ३३ वटा टोली खटाई आफ्नो अभियानलाई तीव्र बनाएको हो ।

प्रहरीका अनुसार उपत्यकामा गुड्ने बिभिन्न सार्वजनिक सवारी साधनमा सादा पोसाकमा एक महिना अघिदेखि निरन्तर रुपमा प्रहरी परिचालन गर्दै आएको छ ।

उपत्यकामा चल्ने सवारी साधनमा गतिविधी गर्नेलाई नियन्त्रणमा लिने क्रममा काठमाडौबाट ६१ जना पक्राउ परेका छन् भने ललितपुर र भक्तपुरबाट ५/५ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी कार्यालयको तथ्यांक अनुसार यौनजन्य गतिविधी र अपशब्द गालीगलौज गर्ने ४८, अश्लिल हर्कत गर्ने १० र अन्य ५ जना पक्राउ परेका छन् ।

अभियान अन्तर्गत खटिएका प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार्ने ८ जनालाई पनि नियन्त्रणमा लिएको छ । जस मध्ये हिंसाको गाम्भीर्यता अनुसार २४ जनालाई मुद्दा चलाईएको छ भने ४७ जनालाई यस्तो कार्य नदोहोरिने गरी आफन्तको जिम्मा लगाईएको प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यौनजन्य गतिविधी र गालीगलौज गर्ने ४८ मध्ये सबै भन्दा बढि साधारण लेखपढ जानेको ३८ जना छन् भने स्नाकोत्तर गरेका १ जना समेत रहेका छन् । यस्तो हिंसाजन्य क्रियाकलापमा १५ देखि २५ बर्ष उमेर समुहको बाहुल्यता रहेको देखिन्छ ।

यो अभियान तिन महिना सम्म निरन्तर रुपमा संचालन हुने र त्यसपछि आवश्यकता अनुसार संचालन हुने बताउँदै महानगरीय प्रहरी कार्यालयले कसैलाई कुनै ठाउँमा हिंसा भएमा निर्धक्कसँग उजुरी गरे पिडितको गोपनियतालाई कायम राख्दै तुरुन्तै कारवाही गर्ने समेत जनाएको छ ।