स्वास्थ्य क्लिनिक अनुमति नलिई संचालनमा

स्वास्थ्य क्लिनिक अनुमति नलिई संचालनमा


काँकडभिट्टामा ‘दिब्यज्योति आइ इयर केयर सेन्टर’ नामक स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन भइरहेको छ ।

आँखा, नाक, कान र घाँटीको उपचार एकै थलोमा गर्ने भन्दै गत भदौ पहिलो सातादेखि सञ्चालनमा आएको सो क्लिनिकले सम्बन्ध निकायबाट सञ्चालनको अनुमति नलिई शल्यक्रियालगायतका उपचार थालिसकेको छ ।

स्वास्थ्य उपचारसँग सम्बन्धित कुनै पनि क्लिनिक वा संस्था सञ्चालन गर्नका लागि कानूनबमोजिम जिल्ला जनस्वास्थ्य कार्यालयबाट सेवा सञ्चालन अनुमति लिनुपर्ने प्रावधान रहेको छ ।

तर दिब्यज्योति आइ एण्ड इयर केयर सेन्टरले सेवा सञ्चालनको अनुमति नलिई धमाधम उपचार गतिविधि सुरु गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रशासकीय अधिकृत देवराज कार्कीले दिब्यज्योति आइ एण्ड इयर केयर सेन्टरले सेवा सञ्चालनको अनुमति पाइनसकेको बताउनुभयो ।

उहाँहरुले अनुमति माग्नुभएको हो, तर सञ्चालन स्वीकृति दिइएको छैन’, जनस्वास्थ्य कार्यालयका प्रशासकीय अधिकृत कार्कीले भन्नुभयो–“स्वास्थ्यसँग सम्बन्धित क्लिनिक सञ्चालनका लागि जनस्वास्थ्य कार्यालयबाट अनिवार्य अनुमति लिएको हुनुपर्ने कानूनी प्रावधान छ ।”

काँकरभिट्टाको बाहुनडाँगी रोडको पूर्वी लाइनमा भाडामा लिइएको एक घरमा दिब्यज्योतिको क्लिनिक स्थापना गरिएको छ । राससका अनुसार सेन्टरले शल्याक्रियासहितको उपचार शुरु गरेको सञ्चालक डा मोनिका कर्माचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो–“जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन गरेर अनुमति आउने प्रक्रियामा छ उपचार शुरु गर्दै गर्नु भनेकाले सेवा शुरु गरिएको हो ।”

उहाँले जिल्ला जनस्वास्थ्य कार्यालयको ढिलासुस्तीका कारण क्लिनिक सञ्चालनका लागि राजश्वबापतको रकम बुझाएर पनि आफूहरुले अनुमति पाउन नसकेको बताउनुभयो ।

उपचार सेवा शुरु गरेको दिब्यज्योतिसँग कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेको दिब्यज्योति आई एण्ड एयर केयर सेन्टर प्रालि नामक संस्थाको प्रमाणपत्र मात्र छ ।

तर कम्पनी दर्ताको भरमा मात्र स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था रहेको जनस्वास्थ्य कार्यालयका प्रशासकीय अधिकृत कार्कीले बताउनुभयो ।