शिवशक्ति तेल-घ्यु उद्योगमा आपूर्तिको ताल्चा

शिवशक्ति तेल-घ्यु उद्योगमा आपूर्तिको ताल्चा


उत्पादन तथा बिक्रीवितरणमा रोक

लामो समयदेखि अखाद्यय बस्तु मिसाई उत्पादन गरेको आरोपमा शिव शक्ति घ्यु उद्योग सिलबन्द गरिएको छ । फेमिली र साजन तोरीको तेल उत्पादन गर्दै आएको सो कम्पनीमा आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभाग काठमाडौले छापा मारेर सिलबन्द गरेको हो । विभागका शाखा अधिकृत मोहन पुडासैनीको एक टोलीले जीतपुर सिमरा उपमहानगरपालिकाको जीतपुर उखु फारम नजिक रहेको उद्योगमा छापा मारी सिलबन्द गरिएको जनाएको छ ।

फेमिलीको तेलमा अखाद्य वस्तू फेला परेपछि अनुगमनको क्रममा फेमिलीको तेल उत्पादन तथा बजारमा गरिने बिक्री बितरणमा समेत रोक लगाइएको छ । अनुगमन टोलीले उत्पादनको ६ महिनासम्म उपभोग गर्न सकिने तेलको प्याकेटमा लेखिए पनि गत चैतमा उत्पादन मिति सकिएको तेलका प्याकेट भेटिएपछि तत्काल बिक्री वितरणमा रोक लगाउदै कारबाहीकालागि थप अनुसन्धान गरि रहेको विभागले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सिमराको सहयोगमा उद्योग परिसर पुगेको विभागको टोली छापा तथा अनुगमनमा पुगेको थियो । गत साउन महिनामा फेमिली तेलको स्याम्पल परिक्षण गर्दा प्यारेक्साईड भ्यालु १० हुनु पर्नेमा साढे ११ भेटिएपछि तेल गुणस्तरहीन भएको दावीसहित अनुगमन टोली गोप्य रुपमा बारा आएको पुगेको हो ।
अनुगमन टोलीले तत्काल उद्योगको उत्पादन तथा बजारमा पठाउन रोक लगाउन निर्देशन दिएको छ । शिव शक्तिको अर्काे घ्यु उद्योगमा पनि मिसावटको सम्बन्धमा अनुगमन गर्न खोज्दा उद्योगका कर्मचारी तथा सञ्चालकहरुले प्रतिकार गरेपछि अनुगमन टोली फर्किन बाध्य भएको थियो । सो उद्योगमा अनुगमन र छानविनको लागि निर्देशनको लिखित पत्र समेत बुझ्न नचाहेपछि मौखिक निर्देशन दिई अनुगमन टोली फर्किएको थियो । आधा दर्जन विभिन्न कम्पनीको तेल परीक्षण गरिएकोमा फेमिलीमा अखाद्य वस्तु पाइएकोले आवश्यक कारवाहीको पहल शुरु भएको अनुगमन टोलीको जनाएको छ ।

सो उद्योग राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिक सांसद राजकुमार अग्रवाल र व्यवसायी सन्दिप कुमार काडियाको हो । उद्योगीले अनुगमनका लागि पुगेको टोलीलाई गेट मैं रोक्ने प्रयास समेत गरेका थिए । अनुगमनका लागि विभागको टोली पुगेको सूचना पाए पछि आएका उद्योगीले बिभागले रोक लगाउँन दिएको निर्देशन पत्र समेत बुझ्ेनन् । पुडासैनीले भने,‘हामीले तेल उत्पादन र बिक्री गर्न रोक लगाउँन निर्देशन पत्र दियौं, तर उद्योगीले लिन मान्नु भएन, उहाँहरुले लिन नमानेपनि मौखीक रुपमा निर्देशन दिएका छौं, उत्पादन र बिक्री भएमा कारवाही हुने छ ।’

यसैगरी, खानेतेलमा अखाद्य पदार्थ भेटिएपछि सचेत गराउने र मुद्दा दायर गरिए पनि त्यस्तो तेलको बिक्रीमा रोक लागेको छैन । मुलुकमा विपत्ति परेको मौका छोपी अखाद्य बस्तुको बिक्री गर्ने गरेको समेत पाईएको छ ।
विभागले बाराको पिपरा सिमरास्थित गणपति वनस्पति तेल उद्योगले उत्पादन गरेको प्रशोधित भटमासको तेल, परवानीपुरस्थित सौरभ आयल मिलबाट उत्पादित धारा तोरीको तेल, मोरङको हात्तीमुढास्थित स्वस्तिक आयल इन्डस्ट्रिजद्वारा उत्पादित स्वस्तिक ब्रान्डको तोरीको तेल, ललितपुरस्थित ओमकार आयल इन्डस्ट्रिजद्वारा

उत्पादित तोरीको तेल, बाराको शिवशक्ति घ्यु उद्योगले उत्पादन गरेको तोरीको तेल, सोही स्थानको आरती भेजिटेबल प्रोडक्ट्सले उत्पादन गरेको भटमासको तेल न्यून गुणस्तर र दूषित भन्दै खाद्य ऐनअनुसार मुद्दा दायर गरेको भएपनि हालसम्म उनीहरुमाथी कुनै कारबाही गर्न सरकारले सकेको छैन् ।

यसैगरी श्रीकृष्ण आयल रिफाइनरी उद्योग, सुशील वनस्पति उद्योग, रूपन्देहीको गोविन्द आयल इन्डस्ट्रिजद्वारा उत्पादित अंकुर ब्रान्डको तोरीको तेल र बारास्थित श्रीकृष्णा भेजिटेबल उद्योगद्वारा उत्पादित तोरी तेल पनि गुणस्तरहीन र अखाद्य अवस्थामा भेटिएको छ ।