दसैंका लागि नयाँ नोट लिने हो ? यसो गर्नुस्-

दसैंका लागि नयाँ नोट लिने हो ? यसो गर्नुस्-


  • विजय दमासे

नेपाल राष्ट्र बैंकले आजदेखि दसैंलाई लक्षित गर्दै सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।

बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म नयाँ नोट साटिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार बैंकिङ समयमा नयाँ नोट साटिनेछ । दसैंका लागि ४० अर्ब रुपैयाँ बराबराका नयाँ नोट वितरण गर्ने योजना रहेको पौडेलको भनाई छ । गत वर्षको दसैंमा ३२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट राष्ट्र बैंकले साटेको थियो ।

कहाँ कहाँ पाइन्छ ?

नयाँ नोट सटहीको व्यवस्था राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभाग थापाथली र अन्य तीन सरकारी स्वामित्वका वाणिज्य बैंकबाट मिलाएको छ ।

नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ शाखा कार्यालयबाट पनि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

नेपाल बैंकका न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर कार्यालय, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार र नक्साल शाखाबाट र कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । उक्त ठाउँबाट नोट साट्दा प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म साट्न सकिनेछ ।

राष्ट्र बैंकको थापाथलीबाट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साटिने जनाएको छ ।

सर्वसााधारण नागरिकले सहज रुपमा नयाँ नोट सटही गर्न सकुन् भन्ने उद्देश्यले राष्ट्र बैंकको थापाथलीबाहेक अन्य तीन बैंकका शाखाबाट पनि साट्ने पाउने व्यवस्था मिलाएको बताए ।

उपत्यकाबाहिरका राष्ट्र बैंकका सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।